सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलनको असर

पाँच सयभन्दा बढी गाडी जलेको प्रहरीले कसरी दिँदै छ सुरक्षा ?

पुनर्स्थापना भए स्थायी बिट र चौकीहरू
बिहीबार, २३ असोज २०८२, १८ : ०६
बिहीबार, २३ असोज २०८२

सारांश

  • जेनजी प्रदर्शनको क्रममा प्रहरी कार्यालयमा आगजनी हुँदा प्रहरीका भवन र सवारीसाधनमा ठूलो क्षति पुग्यो।
  • प्रहरीले शान्ति सुरक्षाका लागि विभिन्न प्रदेशबाट सवारी साधन झिकाउनुका साथै नयाँ गाडी खरिद गर्ने प्रस्ताव अघि बढाएको छ।
  • स्थानीय र सर्वसाधारणको सहयोगमा आगजनी भएका युनिटहरू पुनर्स्थापना भइरहेका छन्, जसमा करिब १० करोड सहयोग जुटेको छ।

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते काठमाडौँ उपत्यकासहित देशभरका प्रहरी कार्यालयमा आगजनी भयो, प्रहरीका ७४ वटा भवन पूर्ण रूपमा क्षतिगस्त भए । २ सय २२ वटा भवनमा आंशिक क्षति पुगेको प्रहरीको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले प्रहरीको भौतिक संरचनामा भएको क्षति र हराएका हतियारको विवरण संकलन गरेर प्रतिवेदन बुझाइसकेको छ । 

आन्तरिक प्रवेदनअनुसार प्रहरीले शान्ति सुरक्षाका लागि प्रयोग गर्दै आएको ५ सय ५१ वटा गाडी प्रदर्शनकारीले आगजनी गरेका छन् । तत्काल घटनास्थलमा पुग्न प्रयोग गरिने ३१९ वटा मोटरसाइकल जलेका छन् । अर्थात् ४ सय ९४ सवारीसाधनमा पूर्ण क्षति पुगेको छ भने ५७  वटामा आंशिक । 

जेनजी प्रदर्शनकारीले उपत्यकामा मात्रै १०३ वटा हलुका चारपांग्रे सवारीमा आगजनी गरे । उपत्यकामा कतै घटना हुँदा प्रहरी तत्काल पुग्थ्यो, उपत्यकाभर मोटरसाइकलमा क्विक रेस्पोन्स टिम (क्युआरटी) परिचालन हुने गर्थ्यो । तर अब त्यस्ता मोटरसाइकल नै छैनन् ! त्यस्ता २१० वटा क्युआरटी मोटरसाइकल जलेका छन् । सीआरभी र क्युआरटी नहुँदा घटनास्थलमा पुग्न र अपराध नियन्त्रण गर्न अब प्रहरीलाई चुनौती छ । यसबारे उपत्यका प्रहरी कार्यालयका एसएसपी खनाल भन्छन्, ‘केही अप्ठेरो र चुनौतीहरू थपिएका छन् ।’

police-beat (2)

र अहिले उपत्यकाका तीनै जिल्लामा शान्ति सुरक्षा कायम गर्न विभिन्न प्रदेशबाट सवारी साधन झिकाइएको छ । एसएसपी खनाल भन्छन्, ‘प्रहरी प्रधान कार्यालयले प्रदेशहरुका युनिटबाट केही गाडी मगाएर हामीलाई उपलब्ध गराएको छ ।’

काठमाडौँ उपत्यकाका कतिपय युनिटले भने स्थानीय वडा र नगरपालिकासँग गाडी लिएर प्रयोग गर्न थालेका छन् । एसएसपी खनालका अनुसार स्थानीय निकाय र सर्वसाधारणसँगको सहकार्यमा उपत्यकामा आगजनी भएका सबै युनिटबाट सेवा सुचारु गरिएको छ । धेरै गाडी भएका युनिटबाट तानेर सबैतिर गाडी व्यवस्थापन गर्ने प्रयास गरिएको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताए । चारपांग्रे कुल १८४ वटामा क्षति पुगेको छ । ३१९ वटा दुईपांग्रे सवारीमा क्षति पुगेको छ ।

पाँच सय गाडी किन्नुपर्ने प्रहरीको प्रस्ताव

प्रहरी प्रधान कार्यालयले करिब ५ सय चारपांग्रे सवारी साधन किन्नुपर्ने प्रस्ताव अघि बढाएको छ । गाडी खरिदसम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा पठाइएको डीआईजी विनोद घिमिरेले बताए । भने, ‘शान्ति सुरक्षा मिलाउन आवश्यक सवारी साधन किन्न प्रस्ताव गरेका छौँ ।’

प्रहरी प्रधान कार्यालयको प्रस्ताव अनुसार अर्थ मन्त्रालयले ७५ वटा गाडी यसअघि विनियोजित बजेटबाटै किन्न प्रहरीलाई अनुमति दिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा प्रहरीलाई आएको बजेटबाटै ७५ वटा सवारी किन्न अर्थले सहमति दिएको हो । डीआईजी घिमिरेले भने, ‘स्वीकृत मादपण्ड अनुसार नयाँ गाडी खरिद गर्छौँ ।’

फास्ट ट्रयाकबाट गाडी खरिद गर्नेगरी प्रहरी प्रधान कार्यालयले तयारी थालेको छ । प्रहरीले निजी क्षेत्रसँगबाट केही मोटरसाइकल लिएर सुरक्षाको काममा प्रयोग गर्न थालेको छ । डीआईजी घिमिरे भन्छन्, ‘मोटरसाइकल पनि नयाँ किन्ने प्रक्रियामा छौँ ।’

स्थायी बिट र चौकी पुनर्स्थापना

जेनजी प्रदर्शनमा उच्छृङखल समूहले आगजनी गरेपछि विस्थापित भएका प्रहरी युटिनहरूमा क्रमशः प्रहरीहरू फर्किन थालेका छन् । सरकारबाट स्वीकृत स्थायी प्रहरी चौकी र बिटहरू पुनर्स्थापना गरिएको डीआईजी घिमिरेले बताए । भने, ‘स्थानीयले नै प्रहरी चौकी र बिटहरू पुनर्स्थापना गर्न सहयोग गरेका छन् ।’

काठमाडौँ उपत्यकामा आगजनी भएका वृत, प्रभाग र अन्य देशभरका कार्यालय पुनर्स्थापना गर्दा सर्वसाधारणबाट करिब १० करोड बराबरको सहयोग आएको छ ।

काठमाडौँको गौशालास्थित प्रहरी वृत्त सहितका रंगरोगन गरेर बस्न नमिल्ने चौकीहरूलाई निजी क्षेत्रसँगको समन्वयमा पुनर्निर्माण गर्ने काम भइरहेको घिमिरेले बताए । उनले भने, ‘गैरआवासीय नेपाली संघसँगको समन्वयमा केही युनिट पुनर्निर्माणको काम हुँदै छ ।’
((

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप