बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

ट्रम्पको उपस्थितिमा थाइल्यान्ड–कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर

आइतबार, ०९ कात्तिक २०८२, १३ : ०८
आइतबार, ०९ कात्तिक २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा थाइल्यान्ड र कम्बोडियाले युद्धविराम सम्झौतामा हस्ताक्षर गरे।
  • सम्झौता अनुसार थाइल्यान्डले कम्बोडियाका कैदीहरूलाई मुक्त गर्नेछ भने कम्बोडियाले तोपखाना फिर्ता लैजानेछ।
  • ट्रम्पको एसिया भ्रमणको क्रममा चीनसँगको व्यापार सम्बन्ध र विभिन्न देशहरूसँगको सम्झौता मुख्य विषय बने।

क्वालालम्पुर । थाइल्यान्ड र कम्बोडियाले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा विस्तारित युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी आर्थिक दबाबको चेतावनीपछि दुवै मुलुक यस वर्षको सुरुआतमा सीमामा भएको झडप रोक्न बाध्य भएका थिए ।

सम्झौता अनुसार थाइल्यान्डले कम्बोडियाका कैदीहरूलाई मुक्त गर्नेछ भने कम्बोडियाले पहिलो चरणमै आफ्ना भारी तोपखाना फिर्ता लैजान सुरु गर्नेछ । क्षेत्रीय पर्यवेक्षकहरूले स्थायित्वको सुनिश्चितताका लागि सीमा क्षेत्रको निगरानी गर्नेछन् ।

राष्ट्रपति ट्रम्पले कार्यक्रममा सम्बोधन गर्दै भने, ‘हामीले त्यो कार्य सम्पन्न गरेका छौँ, जुन धेरैले गर्न सक्दैनन् ।’  कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले यो सम्झौतालाई ‘ऐतिहासिक दिन’ भन्दै स्वागत गरे भने थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले यसले ‘स्थायी शान्तिका लागि आधार निर्माण गरेको’ प्रतिक्रिया दिए ।

क्वालालम्पुरमा आयोजना गरिएको दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को वार्षिक शिखर सम्मेलनमा आइपुगेपछि राष्ट्रपति ट्रम्पको यो पहिलो औपचारिक कार्यक्रम थियो । 

जापान र दक्षिण कोरियाको भ्रमणका साथै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको सम्भावित भेटसमेत समावेश यस भ्रमणले ट्रम्पलाई ‘अन्तर्राष्ट्रिय सम्झौता निर्माताको छवि’ बलियो पार्ने अवसर दिएको छ ।

ट्रम्पको यो भ्रमण एसियाली बजारसँग पुनः सम्बन्ध विस्तार गर्ने कदमका रूपमा हेरिएको छ ।

ट्रम्प आफ्नो पहिलो कार्यकालमा केवल एक पटक मात्र आसियान शिखर सम्मेलनमा सहभागी भएका थिए । यसपालि कार्यक्रममा उनले विश्व शान्ति स्थापनाका प्रयासमा नयाँ भूमिकाको प्रदर्शन गरेका छन् ।

थाइल्यान्ड र कम्बोडियाबिच यसअघि जुलाई महिनामा पाँच दिनसम्म भीषण लडाइँ भएको थियो, जसमा दर्जनौँ व्यक्तिको मृत्यु भएको र लाखौँ विस्थापित भएका थिए । यो पछिल्ला दशकहरूकै सबैभन्दा ठुलो सशस्त्र झडप थियो । 

त्यसबेला राष्ट्रपति ट्रम्पले आर्थिक प्रतिबन्ध र व्यापार सम्झौता रोक्ने चेतावनी दिएपछि दुवै देश वार्तामा बस्न तयार भएका थिए । त्यसयता अस्थायी युद्धविराम कायम थियो, जुन आइतबारको सम्झौताले औपचारिक रूप प्राप्त गरेको छ ।

सम्झौतापछि राष्ट्रपति ट्रम्पले कम्बोडिया र थाइल्यान्डसँग छुट्टाछुट्टै आर्थिक सहकार्य सम्झौतामा पनि हस्ताक्षर गरे ।

‘ट्रम्पको करको कार्ड निर्णायक साबित भयो । सायद यही मुख्य कारण थियो जसले दुवै देशलाई तुरुन्तै युद्धविराममा सहमत गरायो’, नोम पेन्हस्थित फ्युचर फोरम थिङ्क ट्याङ्कका अध्यक्ष ओउ विराकले भने, ‘यो समारोह ट्रम्पका लागि ठुलो कूटनीतिक क्षण हो—उहाँ अब युद्ध र द्वन्द्व अन्त्य गर्ने शान्तिदूतका रूपमा प्रस्तुत भइरहनुभएको छ, जसले सम्भवतः उहाँलाई नोबेल शान्ति पुरस्कारका दावेदारका रूपमा बलियो बनाउँछ ।’

ट्रम्पले हालै लगातार विभिन्न अन्तर्राष्ट्रिय द्वन्द्वहरूमा मध्यस्थता गर्दै आफूले ‘शान्ति स्थापनामा सहयोग गरेको’ दाबी गर्दै आएका छन् ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आसियान शिखर सम्मेलनमा प्रारम्भिक सम्बोधनका क्रममा थाइल्यान्ड–कम्बोडिया सम्झौताप्रति प्रशंसा व्यक्त गर्दै भने, ‘यो सम्झौताले मेलमिलाप कुनै कमजोरी होइन, यो त साहसको प्रमाण हो भन्ने बारे हामी सबैलाई सम्झाउँछ ।’

थाई विदेश मन्त्रालयका प्रवक्ता निकोन्र्डेज बालानकुराले शनिबार भएको सम्झौतालाई ‘संयुक्त घोषणा’ का रूपमा वर्णन गर्दै भने, ‘यो थाइल्यान्ड र कम्बोडियाले आफ्ना सम्बन्धलाई नयाँ ढङ्गले पुनः निर्माण गर्न प्रतिबद्ध रहेको सङ्केत हो । काम भर्खरै सुरु भएको छ, अन्त्य होइन ।’

यसैबिच, ट्रम्पको यो भ्रमणमा शुल्क नीति र व्यापार विवादहरू पनि केन्द्रमा रहेका छन् । क्वालालम्पुरमा रहँदा उनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग भेटवार्ता गर्ने अपेक्षा छ, तर क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग भेट नहुने जनाइएको छ ।

क्यानाडाले प्रसारण गरेको टेलिभिजन विज्ञापनले आफ्नो कर ट्यारिफ नीतिको विरोध गरेपछि अमेरिकी राष्ट्रपति क्यानडासँग असन्तुष्ट रहेका छन् । ट्रम्पले त्यसकै प्रतिक्रियामा हालै क्यानाडाली सामानमा १० प्रतिशत अतिरिक्त कर बढाउने घोषणा गरेका थिए । 

उनको भ्रमणमा अर्को प्रमुख विषय चीनसँगको व्यापार सम्बन्ध हो । एयर फोर्स वनमा साथ रहेका पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दक्षिण कोरियामा हुने सी जिनपिङसँगको सम्भावित भेट ‘उपलब्धिपूर्ण हुने आशा’ व्यक्त गरेका छन् । उनले फेन्टानिल तस्करी नियन्त्रण र अमेरिकी किसानहरूको हितमा सोयाबिन बिक्री विस्तारलाई प्राथमिकतामा राख्ने बताए ।

उनले भने, ‘हामीसँग ठुलो र समावेशी सम्झौता गर्ने राम्रो अवसर छ । म अमेरिकी किसानहरूको हितको रक्षा गर्न चाहन्छु र सी पनि आफ्नो देशका लागि केही चाहनु हुन्छ ।’

तथापि, वासिङ्टन छोडेपछि ट्रम्पका आर्थिक सम्झौताहरूका विशिष्ट विवरणहरू अझै सार्वजनिक भएका छैनन् । यसले दीर्घकालीन व्यापारिक समस्याहरू वास्तवमै समाधान हुने वा केवल राजनीतिक प्रदर्शनमा सीमित रहने भन्ने प्रश्न खुला छ ।

उनले भ्रमणका क्रममा जापान र दक्षिण कोरियासँग दीर्घकालीन व्यापार सम्झौतामा अन्तिम रूप दिन सकिने आशा व्यक्त गरेका छन् । ‘हामीसँग धेरै देशसँग उत्कृष्ट सम्झौता भएका छन्’, उनले हाँस्दै भने ।

यस वर्षको क्वालालम्पुर शिखर सम्मेलनमा अनुपस्थित प्रमुख नेतामध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि एक हुन् । आफ्नो पहिलो कार्यकालमा ट्रम्पसँग घनिष्ठ सम्बन्ध रहेका मोदी र अमेरिकी नेताबिच हाल सम्बन्ध केही तनावपूर्ण बनेका छन् ।

ट्रम्पले भारत–पाकिस्तानबिचको हालको द्वन्द्व समाधान गरेको दाबी गर्दै रुसी तेल खरिदका कारण भारतमाथि कर बढाएकोमा घमन्ड गरेपछि दुई नेताबिच असहजता देखिएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप