जेनजी प्रदर्शनका क्रममा सुदूरपश्चिममा २३४ भौतिक संरचनामा क्षति
सारांश
- सुदूरपश्चिममा जेनजी प्रदर्शनका क्रममा सरकारी, निजी र पार्टी कार्यालय गरी २३४ भौतिक संरचनामा क्षति पुगेको छ।
- कैलाली र कञ्चनपुरमा सरकारी कार्यालय, निजी घर र सवारी साधनमा क्षति पुगेको छ।
- कञ्चनपुर कारागारबाट भागेका ४७८ जनामध्ये ९८ जना अझै फरार छन्, भने कैलालीबाट लुटिएका हतियार बरामद गरियो।
कञ्चनपुर । जेनजी प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टी कार्यालय गरी २३४ भौतिक संरचनामा क्षति पुगेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदर्शनका क्रममा कैलाली र कञ्चनपुरमा बढी क्षति भएको छ ।
सरकारी कार्यालयतर्फ कैलालीमा दुई, कञ्चनपुरमा एक, बझाङमा एक र दार्चुलामा एक गरी पाँच वटा सरकारी संरचना पूर्ण रूपले क्षतिग्रस्त भएका छन् । प्रदेशभर १५१ वटा सरकारी संरचनामा आंशिक क्षति पुगेको प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए ।
आंशिक क्षति हुने सरकारी भवनमा पनि सबैभन्दा बढी कैलालीमा १०३, कञ्चनपुरमा २४, डडेलधुरामा नौ, डोटीमा आठ, अछाममा चार र दार्चुलामा तीनवटा छन् । यसैगरी व्यापारिक र निजीतर्फ ३८ घरमा क्षति पुगेकामा कञ्चनपुरमा सबैभन्दा बढी २३ र कैलालीमा १५ वटा रहेका छन् ।
प्रदेशमा ५७३ दुई पाङ्ग्रे र १३५ चार पाङग्रे गरी ७०८ सरकारी सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ । निजीतर्फ तीन वटा सवारी साधनमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले क्षतिबारे ठाडो निवेदन आए पनि जाहेरी नआएको बताए । उनले जाहेरी आए सङ्कलन गरिने बताए । यस्तै, कञ्चनपुर कारागारबाट भागेका ४७८ जनामध्ये ९८ जना फरार र खोजी कार्य जारी रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले सम्पत्ति क्षतिका हकमा कैलालीमा पनि जाहेरी नपरेको बताए । उनले प्रदर्शनको मौका पारेर भागेका कैदीहरूमध्ये धेरै जना फर्केको र नफर्केकाहरूको खोजी भइरहेको बताए ।
‘कारागारबाट भागेकामध्ये ४०६ जना फर्केर आएका छन् । अझै २०० भन्दा बढी कैदी फर्केका छैनन् । उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको छ’, प्रवक्ता सिंहले भने, ‘हामीले प्रदर्शनका क्रममा काठमाडौँमा लुटिएका तीन थान हतियार कैलालीबाट बरामद गरी काठमाडौँ पठाएको छ ।’
आन्दोलनका क्रममा सुदूरपश्चिममा प्रदेशसभा भवनदेखि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वगृहमन्त्री रमेश लेखकलगायत प्रदेशसभा सदस्य, पालिकाका प्रमुख तथा उपप्रमुखका निवास तथा व्यापारिक संरचनामा आगजनी र तोडफोड गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनशक्तिको अभाव झेल्दै औषधि व्यवस्था विभाग : गुनासो आउँछन्, कारबाही हुँदैन
-
बसुन्धारामा रहेको गार्मेन्टमा आगलागी, ८ करोड बराबरको क्षति
-
दल त्याग गरेपछि एमालेबाट निर्वाचित ८ वडाध्यक्षको पद रिक्त (सूचीसहित)
-
प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे विपक्षी दलहरू छलफलमा
-
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको रवाफ : परिवर्तित खेलाडीका रूपमा मैदान छिरेका मेस्सीको सनसनीपूर्ण प्रदर्शन
-
फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ जना पुग्यो, १७ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण