'आज पनि मेरो फन्डामेन्टल प्रश्न यो हो – केका लागि एकता गर्ने ?' (भिडियोसहित)
सारांश
- घनश्याम भुसालले आगामी दिनमा सडकमा अराजकता र सत्ता फासिस्ट हुने अवस्था आउने आशंका व्यक्त गरे।
- जनताले राजनीतिक पार्टीलाई किनारा लगाएको र राज्यलाई नै किनारा लगाउँदा विस्फोट भएको विश्लेषण छ।
- नेताहरूले नेतृत्व नछोडे देशले निकास नपाउने र चुनाव बिथोलिने सम्भावना रहेको कुरा भुसालले व्यक्त गरे।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा आगामी दिनमा सडकमा अराजकता बढ्दै जाने, मुलुकमा सत्ता फासिस्ट हुँदै जाने र सडकमा अराजक पपुलिस्ट हुँदै जाने अवस्था आउने आशंका केही महिनाअघि गरेका थिए ।
गत भदौ २३ र २४ गते ठ्याक्कै त्यही भयो कि भएन, विश्लेषण आ–आफ्नै होलान् तर स्थिति झन्डैझन्डै त्यही अवस्थामा पुगेको छ । महासचिव भुसालसँग जेनजी आन्दोलन, यसले दिएको सन्देश, नेपालमा वामपन्थी आन्दोलनको अवस्था, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बिच हुने भनिएको एकता र आगामी नेपाली राजनीतिका दिनलगायत विषयमा रातोपाटीका रोहित दाहालले लामो कुराकानी गरेका छन् ।
भुसालसँग गरिएको कुराकानीको सम्पादित अंशः (पूरा भिडियोमा)
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जे खालका घटना, परिघटना, परिदृश्य जे जे देखिए, भए । यसले हाम्रो राज्य कस्तो अवस्थामा रहेछ भन्ने लाग्यो तपाईंलाई ?
धेरै हिसाबले यसको अध्ययन गर्न सकिन्छ । हाम्रो त सम्प्रभुताले नै घुँडा टेकेको हो भन्छु के मैले । जुन सम्प्रभुताको अभ्यास गर्ने ठाउँ संसद्, सरकार, तिनीहरूले जसरी घुँडा टेके, राज्यले घुँडा टेक्यो, राजनीतिले घुँडा टेक्यो । पार्टीहरूले घुँडा टेके । त्यस हिसाबले हेर्दाखेरि समाजमा अन्तरविरोधहरू हुन्छन् । ती अन्तरविरोधहरूलाई राजनीतिक पार्टीहरूले उठाउँछन् । र, जति धेरै ठूला समस्या हुन्छन्, पार्टीहरूले त्यसैगरी उठाउँछन् र ती समस्यालाई लिएर प्रतिस्पर्धा गर्छन् । तिनी सरकारमा जान्छन् अथवा संसद्मा जान्छन्, संसद्ले नीतिहरू बनाउँछ, कानुनहरू बनाउँछ, सरकारले नीतिहरू बनाउँछ र ती त्यहाँबाट रिलिज हुन्छन् । त्यो प्रेसर जुन तलको अन्तरविरोध छ, उकुसमुकुस, त्यो त्यहाँबाट बाहिर जान्छ, निस्किन्छ भन्ने हाम्रो आजसम्मको, हामीले पढाउने, पढ्ने राजनीतिशास्त्र यो हो । तर हामीकहाँ त्यो बाटो गएन । अहिलेको हिसाबले हेर्दा जुन यो समाजमा गुम्सिएको अन्तरविरोध थियो, त्यो राजनीतिक पार्टीतिरै गएन । राजनीतिक पार्टीले एक हिसाबले त्यो बुझ्दै बुझेनन् । राजनीतिक पार्टीलाई किनारा लगाएर, नेताहरूलाई किनारा लगाएर, सरकारलाई किनारा लगाएर, यस अर्थमा राज्यलाई किनारा लगाएर जुन विस्फोट भयो, योचाहिँ सानोतिनो कुरा होइन हाम्रो सन्दर्भमा ।
लोकतान्त्रिक हिसाबले हाम्रो राजनीति राम्ररी चलेको भए, हाम्रो राजनीतिले जनताको आकांक्षा कता छ, के छ, उकुसमुकुस के छ, उनीहरूले के सोच्दैछन् भन्ने कुराचाहिँ हामीले ख्याल गरेनौँ ।
यत्रा राज्यका संयन्त्रहरू एकैचोटि काम नलाग्ने अवस्थामा पुगेका हुन् ?
नागरिकको तहबाट हेर्दा पार्टीहरू आफ्नो वारेस हुन् । तिनको कुरालाई उठाउँदै तिनले राज्यलाई बढीभन्दा बढी जनताको नजिक ल्याउनुपर्छ, नागरिकको नजिक ल्याउनुपर्छ । तर हामीकहाँ के भइदियो भन्दा यो वारेसहरू उतापट्टि मिलेका बिचौलिया भइदिए, राज्यका बिचौलिया भइदिए, राज्यका दलाल भए, पावरका दलाल भए, शक्तिका दलाल भए । जसले गर्दा नागरिकले हेर्दाखेरि कस्तो देखियो भने त्यो न्यायाधीश हो कि, पुलिस हो कि, नेता हो कि, कार्यकर्ता हो कि, त्यो सांसद हो कि, त्यो पार्टी हो कि केही छुट्टिँदै छुट्टिएन । त्यसले गर्दा नागरिकको तहबाट हेर्दा राजनीति, राजनीति गर्ने मान्छे, पार्टी, सरकार, समग्र राज्य, न्यायाधीश, यो सबै एकै खालको देखियो । अनि मतदाताको प्रतिनिधित्व पार्टीहरूले नगरिदिएपछि यो निराशा उत्पन्न भयो र त्यो कडी जनतासँग टुटेपछि त्यो राजनीति, त्यो राजनीतिले बोकेको राज्य एकैचोटि त्यो जहाँ पनि यस्तै हो । सामान्यतया हामीकहाँ छिटो भयो भन्ने मात्रै हो ।
यो सबै नै त्यस्तो थिए भन्न मिल्ला त ? जस्तै उदाहरणका लागि ठुला–ठुला दल छन् । तिनका लाखौँ कार्यकर्ता छन् । तिनीहरूले आफ्नो पार्टी कार्यालय जलाइरहँदा एकजना कार्यकर्ता उभिएर यो मेरो पार्टी कार्यालय हो नजला भन्न नसक्ने अवस्थामा थियो त ?
हाम्रो जस्तो तेस्रो विश्वको मुलुकको लोकतन्त्र कसरी दलाल पुँजीवादले हाइज्याक गर्दिन्छ र जनताका लागि त्यो डेमोक्रेसी, डेमोक्रेसी रहँदैन । र, त्यो दलाल पुँजीवादले जब पार्टीलाई कब्जा गर्दिन्छ, पार्टीलाई कब्जा गर्ने भनेको एकजना नेतालाई किन्ने होइन नि । त्यो नेतामार्फत त्यहाँभित्र एउटा ठुलो गुट बनाउँछ ।

चाकरहरूको, राज्यदोहन गर्नेहरूको, भ्रष्टहरूको, अनि ठूलठूला कुरा गर्ने, आदर्शका कुरा गर्ने, क्रान्तिका कुरा गर्ने, लोकतन्त्रका कुरा गर्दै रहने तर राज्यदोहन गर्दै रहने । चाकरी गर्ने र चाकरीबाजहरूको पार्टी बनेपछि, चाकरीबाजले कहिल्यै पनि प्रतिरोध गर्दैन । यसले गर्दा अब रह्यो अरू कार्यकर्ता, आम कार्यकर्ताका लागि त्यो पार्टी पार्टी रहेन । हाम्रो अभ्यासमा यी पार्टीहरू कस्ता छन् भन्दाखेरि गुटहरू र नेताहरूका गुट कसरी बनेका छन् भन्दाखेरि जस्तोसुकै अपराध गर्दाखेरि पनि नेता जहिलेसुकै बहुमतमा हुन्छ । यो अभ्यास, यो धेरै सिरियस अभ्यास, समस्या छ एउटा, भयंकर ठुलो नालायकी हुँदाखेरि पनि ।
एक हिसाबले भन्ने हो भने अघि हामीले भन्यौँ नि राज्य, सम्प्रभुताले घुँडा टेकेको बेलामा, लोकतान्त्रिक व्यवस्थामा सम्प्रभुताले घुँडा टेकेको बेलामा, लोकतान्त्रिक व्यवस्थामा लोकतन्त्रका वाहक भनिएका पार्टीहरूले घुँडा टेकेको अवस्थामा समेत सबै पार्टीमा लिडरसिप बहुमतमा छ । जब कि तिनका नालायकीले यो आएको हो । त्यो त धेरै प्रस्ट छ फेरि । अनि नेताको पछाडि रहेको चाकरहरूको टिम थियो, त्यो त उसले त चाकरी गर्न जानेको छ, प्रतिरोध गर्न, तर्क गर्न, बहस गर्न, समाजसँग प्रश्न गर्न त जानेको छैन ।
समग्रमा भन्दा २३ र २४ गतेको घटना भनेको हाम्रो राजनीतिको नालायकीपनले आयो ?
मुख्य त अब यसमा विदेशीहरूले खेले, अरू शक्तिहरूले खेले भन्ने कुरा छ । त्यसमा अलिकति तत्कालीन प्रधानमन्त्रीको कुरा पनि विदेशीले खेले भन्ने छ ।
उहाँले (केपी ओली) जानीजानी खेल्न दिनुभयो । हामी कुन रिस्क जोनमा छौँ भन्ने कुरा नबुझ्नु, बुझ्न नसक्नु, बुझेर बुझपचाउनुभयो । त्यो भनेको उहाँलाई के लाग्यो भने हिजो कार्यकर्तालाई जसरी हेप्नुभयो, नागरिकलाई जसरी हेप्नुभयो, आजको जुन वस्तुगत यथार्थ छ, त्यसलाई पनि हेप्नुभयो ।
उहाँले त राष्ट्रियतासँग, देशभक्तिसँग पो जोड्नुभएको छ त ।
कुनै देशभक्तले जनतालाई हेप्छ ? जसले जनतालाई हेप्छ, त्यो देशभक्तिको मुकुन्डो मात्र हो । नागरिकलाई हेपेर, पार्टीलाई हेपेर, आफू समानका तमाम अरू मानिसहरूलाई हेपेर अनि प्रतिशोध साँधेर कोही राष्ट्रवादी बन्छ ? यो बेकार कुरा हो ।
विदेशीले हाम्रो मुलुकमा खेल्दै खेल्दैनन् त ?
हाम्रो मुलुकमा खेलिरहन्छन् । जुनसुकै मुलुकमा खेल्छन् । अमेरिकामा खेल्यो रसियनले भनेर त्यहाँ त्यत्रो मुद्दा भएको थियो । आजको दुनियाँमा खेल्छन् । अझ अहिलेको प्रविधिले त जहाँसुकै, जोसुकैलाई, जहाँसुकै खेल्नका लागि सजिलो बनाइदिएको छ । अब हाम्रो दायित्व अरूले खेल्न नसक्ने बनाउने हो । खेल्न नसक्ने बनाउने एउटै मात्रै सूत्र हो, तपाईंले जनताको साथ लिनुस् । जनतालाई साथ लिनुभयो, कसैको दैया चल्दैन, कोही खेल्न सक्दैन, प्रतिरोध हुन्छ । जब जनताबाट कट्नुभयो, त्यसपछि तपाईंले आफ्नो देशभक्तिको ग्राउन्ड गुमाउनुभयो । नारामा भनेर हुँदैन । म राष्ट्रवादी छु भनेर अनि त्यो राष्ट्रवाद पनि बेलाबेलामा, आफ्नो कुर्सीमा संकट परेपछि राष्ट्रवादको कुरा, त्यो नक्कली राष्ट्रवाद हो, गलत कुरा हो ।

परिणाम के आयो त यो आन्दोलनको ? रातोपाटीमै लेख लेख्दै भारतीय मार्क्सवादी आनन्द तेल तुम्बडेले परिणाम शून्य भनेका छन् । भू–राजनीतिक विज्ञ ब्रह्म चेलानीले अब सेना हाबी हुन्छ भनेका छन् । तपाईंको भनाइचाहिँ के हो?
आन्दोलनपछि पार्टीभित्र नेतृत्वको हस्तान्तरणका विषयमा छलफल त भयो तर परिणाम त केही नआउने नै देखियो नि । यो चाहिँ धेरै दुर्भाग्यपूर्ण छ । राष्ट्रको जीवनमा हेर्नुहुन्छ भने यो भयंकर ठुलो नालायकी हो, असाधारण नालायकी हो । हामीले त्यो २४ गते त्यो भएपछि २५–२६ गतेसम्मको घटनाक्रमलाई हेरेर दुई हप्ताभित्र त हामीले चाहिँ पार्टीहरूलाई पुनर्गठित गरिसक्नुपर्थ्यो ।
सेना हाबी हुन्छ पनि भनिँदै छ नि ?
सेना त आइसके त । कति आउने भन्ने मात्रै बाँकी राख्नु न । सेना आयो कि आएन भन्ने कुरै नराख्नुस् अब । सेना त एक हिसाबले आयो, ठीक आयो, बेठीक आयो, के आयो, त्यसमाथि प्रश्नहरू पनि छन् । उनीहरूका उत्तरहरू पनि छन् । ठीक–बेठीक फेरि तपाईं कहाँ उभिनुहुन्छ, त्यहाँबाट पनि सेना ठीक थियो, बेठीक थियो भन्ने हुनेछ ।
यसको मतलब आउने खतरा छ ?
मैले त झलझली देख्छु त्यो खतरा । यद्यपि सेनाको फुली लाएर गद्दीमा बस्ला भन्ने कुरा मलाई लाग्दैन । सेना कुन कुर्सीमा बस्छ, ठुलो कुर्सीमा बस्छ कि सानो कुर्सीमा बस्छ भन्ने कुरा त्यो त गौण भयो । तर राज्यको कुर्सीमा त्यसले खटन–पटन गर्न थालेपछि त्यो खतरा हामीकहाँ छ र एउटा अवस्थामा त्यो अनिवार्य बनिदिन्छ । मान्छेको जिउ, धन, बाँच्ने समस्या भएपछि अनि त्यसपछाडि के गर्ने भन्दाखेरि सेना आऊ, देश बचाऊ भन्नुपर्यो ।

आन्दोलनको उपलब्धि यही हो त ?
भ्रष्टाचारका कारणले, जुन कुरा सुनिएको थिएन, नेताहरूका अहंकारका कारणले, मेरो भाषामा भन्ने हो भने दलाल पुँजीवादले त्यो जसरी राज्य चलाइराखेको थियो, त्यसका छलछाम, कपट, बेइमानी यो सब उदाङ्गो भएको छ । यसबाट गम्भीरतापूर्वक शिक्षा लिने हो भने अबका पार्टीहरू धेरै राम्रा बन्नेछन् ।
त्यो शिक्षाचाहिँ लिने भनेको कसले, कसरी ?
जो बाँचेका छौँ, पार्टीमा छौँ भनेर भन्दै छौँ, तलसम्म कार्यकर्ताहरूले । त्यो भनेको एउटा व्यक्तिको कुरा होइन । हाम्रो पार्टीलाई साँच्चै लोकतान्त्रिक बनाउन सकियो भने त्योभित्र छ–सात, लाख पार्टी सदस्यहरूको बुद्धि एक ठाउँमा राख्ने । त्यो भाँडो हो नि पार्टी भनेको त । तर हाम्रो पार्टी कस्तो भयो भन्दा कर्पोरेट बिजनेसको जस्तो । यहाँ एउटा नेता छ, त्यसले खटाएका केही मान्छेहरू छन् । हो यो सम्पूर्ण बुद्धि हामीले लिन्छौँ भनेर तयार हुने र त्यस्तो पार्टी बनाउने हो भने ती पार्टीहरूले जनताबाट बुद्धि लिन्छन् ।
अहिलेका नेताहरू सुध्रिनु भनेको देशमा झन् अनिष्ट हुन्छ भन्ने पनि छन् ।
उनीहरू सुध्रिनु भनेको ठाउँ छोड्नु हो । कुनै बहानाबाजी, तर्क–वितर्क गर्ने होइन । ओलीजीले छोड्नुस् त, एउटा भयंकर रानीमासुमा बिझेको, त्यो एमालेमा मात्र होइन, हाम्रो मुलुकको रानीमासुमा बिझेको काँडो निक्लेजस्तो हुन्छ । धेरैले रिल्याक्स फिल गर्छन् ।
उहाँको कुरा त गर्नुभयो । तर आफ्नै पार्टीभित्र गर्न सक्नुभएन ।
अरू सबैलाई एउटा फर्मुला लागु हुने, मेरो पार्टीलाई फरक त हुँदैन होला । मेरो पार्टीको अध्यक्षलाई अलग फर्मुला लागु हुन्छ र ? हुँदैन ।
तपाईंले लेख्दै आउनुभयो, वामपन्थीहरूबिच एकता गर्नुपर्यो, सबै मिल्नुपर्यो । अब एकता गर्ने बेला आयो, तपाईं विरोधी हुनुभयो । किन दुईथरी कुरा ?
मैले एकताको विरोध गरेको कहीँ छैन र कसैले देखाउन सक्दैन । नभएको कुरा देखाउने कुरो भएन, एक । दुई, आज पनि मेरो फन्डामेन्टल प्रश्न त्यो हो, केका लागि एकता गर्ने हो ? अझ अहिले त जेनजी भन्ने आयो, यसले तर्साएर गर्ने हो कि ? यो कुरा तात्कालिक, क्षणिक, टाउको लुकाउने, हैन र गाल बचाउने मात्रै कुरा हो । र मैले पछिल्लोपटक कुरा गरेको छु, यो वार्तामा लागिरहेका साथीहरूसँग पनि कुरा गरेको छु, दुवैतिरकासँग पनि मैले कुरा गरेको छु ।
एकतामा जाने विषयमा तपाईंको धारणा के हो ?
झन्डा मिल्यो, चुनाव चिह्न मिल्यो, नाम मिल्यो, संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता मिल्यो, अनि यो मार्क्सवाद–लेनिनवाद हाम्रो मार्गदर्शक सिद्धान्त मिल्यो, समाजवादी कार्यदिशा मिल्यो । यी पाँच–छ वटा कुरा एमालेसँग पनि मिल्छ, अक्षरशः मिल्छ । त्यसमा अलिकति नमिल्ने भनेको एमालेको ‘जबज’ भन्ने कुरासँग मात्रै हो । विप्लवजीसँग पनि कम असहमति हुन्छ । यो झन्डा कस्तो हुन्छ, नाम कस्तो हुन्छ, मार्क्सवाद–लेनिनवाद हुन्छ कि हुँदैन भनेर मिलेर हुन्थ्यो भनेदेखि त हिजै थिए नि त यी कुरा । यसले त राजनीतिक संकट रोकेन । कुरा त अर्कै रहेछ नि त ।
मिल्नुपर्ने के रहेछ ?
कुरा त मुलुकमा सम्पूर्ण राजनीतिक समस्या, आर्थिक समस्या, सामाजिक, सांस्कृतिकहरू छन् । यसले निकास नपाइराखेको जुन अवस्था छ । यी अन्तरविरोधहरू छन् । हाम्रा विविधता छन्, भूराजनीति छ । यो बेलामा हामीले आजको राष्ट्रिय राजनीतिलाई कसरी निकास दिन्छौँ ? मूलभूत रूपले त्यो दुइटा कुरा होला । सायद अब १० वर्षमा, पाँच वर्षमा हामीले यो सबै जनतालाई एकताबद्ध राखेर कस्तो मुलुक बनाउने ? ताकि राष्ट्र एक ठाउँमा उभियोस् । दुनियाँले बुझ्ने गरी समाजवाद हुँदै अगाडि बढ्ने कार्यक्रम, योजना नभइकन त्यो एकता भनेको हिजो ओलीजी र प्रचण्डजीले गरेको जस्तो हुन जान्छ ।
त्यो कार्यक्रम पनि आउला, त्यो जहाज पनि तयार होला, तर जहाज उडाउने पाइलटप्रति तपाईंको आशंका होला नि त ?
त्यो त हुनै हुनै पर्यो । तपाईंले आजको समाजको समस्याबारे कुरा गर्दैगर्दा त्यो समाजले सबैभन्दा पहिले तिमीहरूले छोड् भन्दै छ । त्यो पनि हामीले पूरा गर्नुपर्यो । अझै म त के भन्छु भने त्यो नभइकन राम्रो योजना पनि बन्दैन । यो कुरा मैले गम्भीरतासाथ भन्दैछु ।
यही नेतृत्व हुँदा ?
यही नेतृत्व भएर बन्दैन, बन्न दिँदैनन् । यही नेतृत्व भएर न पार्टी बन्न दिन्छन्, न मुलुक बन्न दिन्छन् ।
सजिलो भाषामा भन्दा एकीकृत समाजवादीका अध्यक्ष र माओवादीका अध्यक्ष उनीहरूले नछोडिकन एकताको अर्थ छैन भन्न खोज्नु भएको ?
म व्यक्तिबारे टिप्पणी नगर्ने मान्छे । हिजोको एमाले स्कुलिङ र माओवादी स्कुलिङलाई एकताबद्ध गर्ने कार्यक्रम नभई गरिने एकता छलछाम हुन्छ । त्यही भएर मैले भनेको, यिनी रहँदासम्म यिनले न पार्टी बनाउनेछन्, न मुलुक बनाउन दिनेछन् ।
भन्न खोजेको यो नेतृत्व असान्दर्भिक भयो ?
हो । यिनका सबै प्रयोगहरू असफल भए ।

यो नेतृत्व असान्दर्भिक भयो भने तपाईंहरू कसरी सान्दर्भिक हो भन्ने प्रश्न आउला नि तलबाट, होइन र ?
मलाई अर्को साथीले पनि केही अघि सोध्नुभएको थियो । खासगरी ०६२/६३ पछाडि नेपाली कम्युनिस्ट आन्दोलनको आज जे भाष्य बनेको छ, ००६ सालपछि हामीले एउटा विश्लेषण गरेका थियौँ, त्यो सान्दर्भिक हुन आउँछ । त्यतिबेला हामीले नेपाली समाजको चरित्र अर्धसामन्ती, अर्धऔपनिवेशिक छ, त्यसैले जनवादी क्रान्ति पूरा गर्ने हो र त्यो समाजवादतिर जानेछ भन्यौँ ।
त्यसपछि त्यो क्रान्ति सम्पन्न भयो । जनवादी क्रान्ति सम्पन्न भइसक्यो । नेपाल पुँजीवादी मुलुक हो । यसको ठोस चरित्रबारे भन्ने हो भने यसलाई दलाल पुँजीवाद भन्नु उपयुक्त हुन्छ । अब राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादतिर जाने हो भन्ने प्रस्ताव कम्युनिस्ट आन्दोलनमा मैले ल्याएको हुँ । आजका दिन सबै पार्टीले यही भन्छन् ।
हामी एउटा परिस्थितिबाट अर्को ठाउँमा आइसक्यौँ तर एमालेमा कसैलाई कमरेड ओलीसँग राजदूत चाहिएको छ, कसैलाई मन्त्री, त कसैलाई सुकुमबासी आयोगको अध्यक्ष चाहिएको छ । तर, त्यसमा पनि ओलीजीले एकलौटी गर्न खोज्नुहुन्थ्यो । ओलीजीसँग मेरो केही थिएन । मलाई केही मतलब थिएन । मैले उहाँसँग कम्तीमा १२ पटक लिखित रूपमा मागेको के हो भने हाम्रो समाजवादी कार्यक्रम खोइ ? मेरो उहाँसँगको अन्तरविरोध जम्मा त्यत्ति हो । त्यो समाधान भएन । आजसम्म पनि हामीले त्यो बनाएका छैनौँ ।
अबको हाम्रो एकताले त्यो बनाउने हो भने हामी अगाडि जान सक्छौँ । होइन भने हाम्रै कारणले डेमोक्रेसी खतरामा पर्छ । कम्युनिस्ट पार्टीहरू खतरामा पर्छन् । दलाल पुँजीवादले यसलाई हाइज्याक गर्छ र मुलुक बर्बादीतर्फ जान्छ । मैले यसैका लागि प्रयत्न गर्दै आइरहेको छु ।
पछिल्लो आन्दोलनले नेपालको वाम आन्दोलनलाई रक्षात्मक बनाइदियो भन्ने बुझाइ छ आम मानिसमा, यसमा तपाईंको केही टिप्पणी छ ?
कमजोर हैन, बर्बाद हुने दिशामा छ । वामपन्थी मात्रै होइन, सबै कमजोर भए । को बलियो छ अहिले ? हामी सबै भुइँमा हो अहिले । प्रधानमन्त्री भुइँमा, सामान्य ज्यामी भुइँमा । पार्टीको अध्यक्ष भुइँमा, साधारण सदस्य भुइँमा । राम कार्कीले भन्दै हुनुहुन्थ्यो– सबै राजनीतिक पार्टी विघटन भइसके । वास्तवमा उहाँले भनेको कुरा ठीक हो । अब जति गर्न सकिन्छ, त्यो निर्माण र पुनर्गठनकै दिशामा गर्दै जाने हो ।
फागुन २१ मा वर्तमान सरकारले निर्वाचन गराउन सक्छ वा सक्दैन ?
मसँग धेरै सूचना छैन । तर, सामान्य रूपमा के भन्न सक्छु भने यही तरिकाले, आजकै अवस्थामा चुनाव गाह्रो छ । तर चुनाव नभई भएको छैन । यो आवश्यकताले जितेर, यी राजनीतिक पार्टीहरूलाई जस्ताको त्यस्तै राखेर चुनावमा जाने हो भने पनि त्यसले भयंकर ठुलो दुर्घटनामा लैजाने निश्चित छ । चुनावै गर्ने हो भने पनि आजका पार्टीहरूको रूपान्तरण, पुनर्गठन अनिवार्य सर्त हो ।
नेताहरूले हामी चुनावमा हिँड्यौँ भने पनि दुई–चार मान्छेले भाषण सुने पनि चुनावी भाषणको उत्साह बोकेर जनता घर फर्किने छैनन् । बरु गाली गर्दै फर्किनेछन् । हिजो यसै गरेर देश खायो, अब फेरि देश खाने हिँड्यो भनेर आलोचना मात्रै हुनेछ ।

खासमा त्यतिखेर चुनाव बिथोलियो भन्नु हुँदैन । त्यतिखेर नेताहरूलाई समात्नु पनि हुँदैन । चुनाव गर्नैपर्छ त्यसबाहेक हामीसँग विकल्प छैन । मलाई के लाग्छ भने राजनीतिक पार्टीहरूले, नेताहरूले, देशलाई अघि बढाउन समाधान खोजे भने चुनावचाहिँ हुन्छ ।
तपाईंको कुराको सारमा नेताहरूले नेतृत्व छोड्नुपर्छ नभए देशले निकास पाउँदैन भन्ने कुरा गर्नुभयो, होइन त ?
तपाईंसँगै कुराकानीमा झन्डै साढे दुई महिनाअघि मैले हामीले यो राजनीतिलाई रिफर्म गरेनौँ भने समय हाम्रो हातबाट फुत्किन्छ भन्दै थिएँ । अहिले त्यो समय पनि बितिसकेको सबैलाई महसुस भएको हुनुपर्छ ।
नेतृत्व सुध्रेन भने के हुन्छ भनौँ न त ?
यो चुनाव बिथोलिन्छ । साम्प्रदायिक शक्ति, पुनरुत्थानवादी शक्तिहरू आउनेछन् । पपुलिस्टहरूसँगै विदेशीहरू आउनेछन् र मुलुक क्रमशः असफलतातिर जानेछ । यसका लागि सबैभन्दा धेरै जिम्मेवार हाम्रै राजनीतिक पार्टीका जिम्मेवार भनिएका मान्छेहरूको नालायकीले त्यो हुनेछ ।
भिडियो अन्तर्वार्ता
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण