बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
मौसम

हिमपातले साहसिक पर्यटनमा उत्साह, चुनौती पनि उत्तिकै

मङ्गलबार, ११ कात्तिक २०८२, १९ : १९
मङ्गलबार, ११ कात्तिक २०८२

काठमाडौँ । यस वर्ष कात्तिक दोस्रो सातामै हिमाली क्षेत्रमा हिमपात भएको छ । जसकारण हिमाली जिल्लाका पर्यटन व्यवसायी र किसानमा उत्साह भरिएको छ । हिमपातले साहसिक पर्यटकहरुलाई आकर्षित गर्ने र पर्यटकीय गतिविधिमा वृद्धि हुने अपेक्षा छ । यस्तै उच्च हिमाली क्षेत्रमा हिउँका कारण माटो मुलायम हुने हुँदा उत्पादन बढ्ने किसानहरुको आशा छ । 

मुस्ताङमा लगातार तीन वर्षसम्म राम्ररी हिउँ पर्न सकेको थिएन । यस वर्ष समयमै हिउँ पर्दा कृषि, पर्यटन र जैविक विविधतामा सकारात्मक प्रभाव पार्ने देखिएको छ ।

यद्यपि, हिमपात र वर्षाले कतिपय क्षेत्रमा पदयात्रा र हिमाल आरोहणमा अवरोध पुर्‍याएको छ । मनाङ, म्याग्दीको अन्नपूर्ण बेसक्याम्प, रसुवा र सगरमाथा क्षेत्रमा भारी हिमपात र वर्षा हुँदा पर्यटकहरूका लागि सुरक्षा चुनौती बढाएको छ । हिमपातले हिमालको सौन्दर्य बढाए पनि यात्रालाई जोखिमपूर्ण बनाउन सक्छ ।

हिमपातको खबरले साहसिक पर्यटकहरू, जसमा ट्रेकिङ, माउन्टेनरिङ र हिमाली क्षेत्रको भ्रमण गर्नेहरू पर्छन्, उनीहरु उत्साहित भएका छन् । अन्नपूर्ण आधार शिविरमा ट्रेकिङ गएका पत्रकार पुष्पराज चौलागाईं लेख्छन्, ‘हिमालको काखमा हिँड्ने रहर बोकेर जब हामी अन्नपूर्ण आधार शिविरमा पुग्यौं, प्रकृतिले आफ्नो असली रूप देखाइरहेको थियो । उचाइ बढ्दै जाँदा हावा चिसिँदै गयो र आकाशले अचानक हिउँको सेतो ओढनी ओढायो । बिहान उठ्दा पूरै हिउँले ढाकिसकेको थियो ।’ 

उनी अगाडि लेख्छन्, ‘तल झर्दै गर्दा भारी हिमपातले बाटो ढाक्यो, पदयात्रीका पाइला बिस्तारै हिउँमा हराउँदै गए । शरीर थाक्थ्यो, तर मन हर्षले भरिन्थ्यो । कठिनाइ बढ्दै गयो, तर त्यही कठिनाइभित्र अन्नपूर्णको सौन्दर्यले मन जित्दै थियो ।’ उनले यसलाई यात्राको सौन्दर्यका रूपमा बयान गरेका छन् ।

मुस्ताङमा कात्तिकमै परेको हिउँले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ । मुस्ताङवासीले केही वर्षयता भारी मात्राको हिमपात देख्न पाएका थिएनन्, जसकारण कृषि, पर्यटन र जैविक विविधतामा नकारात्मक असर पुगेको थियो । 

मुक्तिनाथस्थित होटल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङ पर्याप्त हिउँ जमेमा मुक्तिनाथ क्षेत्रमा राष्ट्रिय स्की प्रतियोगिता आयोजना गर्न सकिने बताउँछन् । तीन वर्षदेखि मुस्ताङमा राम्ररी हिउँ नपर्दा यो प्रतियोगिता आयोजना गर्न सकिएको थिएन । यस वर्ष थप दुई-तीन पटक यही हिसाबले हिउँ परेमा मुक्तिनाथ क्षेत्रमा राष्ट्रिय स्की प्रतियोगिता आयोजना गर्न सकिने गुरुङ बताउँछन् । 

जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरी हिमपातले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने र हिउँसँग रमाउन पर्यटकहरू मुस्ताङ आउन सक्ने विश्वास व्यक्त गरेका छन् ।

सगरमाथा क्षेत्रमा पर्यटकको आकर्षण

सगरमाथा क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ भने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा वर्षा भएको छ । हाल यस क्षेत्रमा करिब तीन हजारभन्दा बढी विदेशी पर्यटक रहेको अनुमान छ । 

सोमबार मात्रै करिब ८०० विदेशी पर्यटक काठमाडौँबाट लुक्ला आएका थिए । हिमपातका कारण उनीहरू होटलभित्रै बस्न बाध्य भएपनि हिउँले सिर्जना गरेको सुन्दर दृश्यले पर्यटकहरूलाई लोभ्याउने गरेको छ । खुम्जुङकी शिक्षक कोपिला घतानी हिउँले सुन्दर दृश्य त दिएको तर दैनिकी कठिन बनाएको बताउँछिन् । 

कृषि क्षेत्रमा सकारात्मक प्रभाव

मुस्ताङमा यस वर्ष कात्तिकमै हिमपात हुनु कृषि क्षेत्रका लागि वरदान साबित भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार स्याउ हार्भेस्ट सकेर अर्को महिना स्याउ बगैँचा व्यवस्थापन गर्ने पूर्वसन्ध्यामा परेको हिउँ किसानका लागि निकै राम्रो हो । 

हिमपातले स्याउ, उवा, फापर, जौ, मकैजस्ता अन्नबालीलाई राम्रो फाइदा पुर्‍याउँछ । गुरुङका अनुसार हिमपातले किसानको अन्नबाली उत्पादन गर्ने माटोलाई मुलायम बनाउने र यसले जमिनको भित्री तहसम्म ‘रिचार्ज’ गर्ने भएकाले कृषि उपजका लागि शुभ संकेत मानिएको छ । हिउँले रैथानेबालीमा लाग्ने रोगकीराको संक्रमणलाई समेत न्यूनीकरण गर्ने भएकाले उत्पादन क्षमता वृद्धि हुन्छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रका प्रमुख डा. लालमणि अर्यालका अनुसार यस वर्ष कात्तिकमा नै परेको हिउँले उच्चलेकको चरन क्षेत्रमा पशुपालनका लागि निकै राम्रो हुन्छ । जलवायु परिवर्तनका कारण अनुकूल समयमा हिउँ नपर्दा उच्चलेक चरन क्षेत्रमा घाँस पलाउन छोडेको र अनधिकृत घाँस पलाउने गर्दा पशुपालन व्यवसाय संकटमा पर्दै गइरहेको थियो । यस वर्षको हिमपातले पशुपालकका लागि चरन क्षेत्र सहज हुने अपेक्षा गरिएको छ । पर्याप्त मात्रामा घाँस पलाउन सकेमा वन्यजन्तु, विशेषगरी हिउँ चितुवा, आहाराको खोजीमा बस्ती नजिक आउने गर्दैनन्, जसले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन मद्दत गर्छ ।

हिमपातले पर्यटकलाई जोखिम पनि

जति उत्साहजनक भएपनि हिमपातले साहसिक यात्रामा गम्भीर जोखिम र चुनौती निम्त्याउँछ । नेपालका विभिन्न क्षेत्रमा प्रशासनले सुरक्षाका लागि कडा कदम चालेको छ ।

उपल्लो मुस्ताङको कोरला सडकमा पनि हिउँ पर्दा सवारीसाधन चलाउन सकस भएको छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर र त्यस आसपासका क्षेत्रमा हिमपातले दर्शनार्थीहरूलाई कठिनाइ भएको छ । मुक्तिनाथ पुगेका दर्शनार्थी हिमपातसँगै अत्यधिक चिसो र स्नानकुण्डमा हिउँ जमेका कारण स्नान गर्न र १०८ धारामा नुहाएर मन्दिरको दर्शन गर्नसक्ने अवस्थामा छैनन् । मुक्तिनाथ दर्शन गरी फर्किएका सवारीसाधन तथा यात्रुहरू सडकमा जमेको हिउँका कारण खिङ्गाबाट तल झर्न सक्ने अवस्था नरहेको वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रवेश गुरुङले जानकारी दिएका छन् । प्रहरी प्रशासनले कागबेनीदेखि मुक्तिनाथसम्मको सडकमा यात्रा नगर्न अनुरोध गरेको छ ।

पदयात्रा र हिमाल आरोहणमा रोक

जिल्ला प्रशासन कार्यालय मनाङले कात्तिक १२ गते बिहानसम्मका लागि पदयात्रा र हिमाल आरोहणमा पूर्ण रूपमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिले तल्लो भेगमा निरन्तर वर्षा तथा उपल्लो भेगमा निरन्तर भारी हिमपात भइरहेकाले उत्पन्न हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै यो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जारी गरेको सूचनामा पर्यटकलाई आफू बसेकै स्थानमा सुरक्षित रहन र तत्काल पदयात्रा वा हिमाल आरोहणका लागि बाहिर ननिस्कन आग्रह गरिएको छ ।

जाडोयाम सुरु भएसँगै हिमपातको जोखिम बढेकाले म्याग्दी जिल्ला प्रशासन कार्यालयले पर्यटकीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार बेलुकादेखि कात्तिक १४ गते बेलुकासम्म अन्नपूर्ण बेसक्याम्प जान पूर्ण रूपमा रोक लगाएको जानकारी दिएको छ । प्रशासनले स्थानीय बासिन्दा, पर्यटक, पर्यटन व्यवसायी र पदयात्रीहरूलाई आफू रहेको र यात्रा गर्ने क्षेत्रको मौसमी अवस्था तथा बसोबासको व्यवस्था ख्याल गरेर सुरक्षित रहन अनुरोध गरेको छ ।

रसुवा र सगरमाथा क्षेत्रमा सतर्कता

रसुवा जिल्ला प्रशासन कार्यालयले पनि पदयात्रामा निस्कने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले पदयात्रामा निस्कनुअघि मौसम सम्बन्धी पूर्व सूचना र जानकारी लिन सबै पदयात्रीलाई आग्रह गरेको छ । कुनै विपद्जन्य घटना घटेमा तत्काल सम्बन्धित स्थानीय तह, स्थानीय जनप्रतिनिधि, नजिकको सुरक्षा इकाई र स्थानीय प्रशासनलाई यथाशीघ्र जानकारी गराउन पनि भनिएको छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले दिङ्बोचेभन्दा माथि बाक्लो हिउँ परेको र तल्लो क्षेत्रमा वर्षा भइरहेकाले पर्यटकहरू सबै होटलभित्रै रहेको र बाहिर निस्कन सम्भव नरहेको बताएका छन् । हिमपातका कारण बाटो नदेखिने हुँदा पर्यटकहरू हराउन सक्ने जोखिम भएकाले जिल्ला प्रशासन कार्यालयले पर्यटकहरूलाई यात्रामा ननिस्कन आग्रह गरेको छ । 

प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले मौसम प्रतिकूल भएकाले सबै पर्यटकलाई सुरक्षित रहन र होटल वा बस्तीमै बस्न अनुरोध गरेकी छन् । लगातारको हिमपातले खुम्बुक्षेत्रको जनजीवन प्रभावित भएको छ र पर्यटकको भीडले गुञ्जिने नाम्चेबजार सुनसान भएको छ ।

व्यापक मौसमी चेतावनी

जल तथा मौसम विज्ञान विभागले देशभरका धेरैजसो भू–भागमा भारी वर्षा हुने र यसका कारण नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले कोशी, गण्डकी र बागमती प्रदेशका मुख्य नदी र तिनका सहायक नदीहरूमा जलस्तर बढ्न सक्ने चेतावनी जारी गरेको छ । 

यसैगरी नेपाल पर्वतारोहण संघ (एनएमए) ले पनि देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा अत्यधिक हिमपात भएको भन्दै पर्वतारोहण दल र पदयात्रीहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । संघले आरोहण दल तथा पदयात्रीहरूलाई अनावश्यक रूपमा उच्च हिमाली क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
हिमपातले साहसिक पर्यटकहरूलाई रोमाञ्चक अनुभव प्रदान गर्छ । तर हिमपातका कारण उत्पन्न हुने जोखिमलाई बेवास्ता नगर्न विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले अनुरोध पनि गरेका छन् ।  

मौसम विभागका अनुसार हिमपातको मौसममा साहसिक यात्रा गर्दा पर्यटकहरूले अधिकतम सावधानी अपनाउन, मौसमको पूर्व जानकारी लिन र स्थानीय प्रशासन तथा सम्बन्धित निकायका निर्देशनहरूको पालना गर्नुपर्छ । प्रकृतिले आफ्नो भव्यता देखाउँदा, सुरक्षा र सावधानीलाई सधैं प्राथमिकता दिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप