जेनजी आन्दोलनपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामकाज प्रभावित
सारांश
- भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनका क्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय भवनमा आगजनी हुँदा सेवा प्रभावित भएको छ।
- आगजनीबाट ६ करोडभन्दा बढीको क्षति भएको छ भने स्वास्थ्य सेवा विस्तारका लागि तयारी गरिएका टेण्डर सम्बन्धी फाइल जलेका छन्, जसले गर्दा काम ६ महिना पछाडि धकेलिएको छ।
- आगजनीले भौतिक संरचना, योजना र अभिलेखमा क्षति पुर्याएको छ, जसले प्रतिष्ठानको स्वास्थ्य सेवा विस्तार र शैक्षिक कार्यक्रम सञ्चालनमा चुनौती थपेको छ।
मकवानपुर । भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै देशव्यापी रूपमा भएको ‘जेनजी आन्दोलन’का क्रममा कार्यालय भवन जलेर ध्वस्त भएसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रभावित भएको छ ।
शिक्षा, सेवा र अनुसन्धानको पाटोलाई एकमुष्ट अघि बढाउने प्रयत्न गर्दै आएको प्रतिष्ठानको कार्यालय भवन आन्दोलनका क्रममा जल्दा स्वास्थ्य सेवा प्रवाहको काम प्रभावित भएका हुन् । जेनजी आन्दोलनको क्रममा भदौ २३ र २४ गते भएको तोडफोड र आगजनीबाट बागमती प्रदेशको राजधानी हेटौँडास्थित प्रतिष्ठानको कार्यालयमा समेत क्षति भएको हो ।
आगजनीबाट प्रतिष्ठानको केन्द्रीय कार्यालय भवन र त्यहाँ रहेका जिन्सी तथा कागजात खरानीमा परिणत भएको थियो । जेनजी आन्दोलनका क्रममा प्रतिष्ठानको ४ सवारी साधनसहित प्रशासनिक ब्लकको जिन्सी सामग्री जल्दा ६ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको थियो ।
स्वास्थ्य सेवा विस्तारका लागि तयारी गरिएका विभिन्न विभागको टेण्डर सम्बन्धी फाइल जल्दा प्रतिष्ठानको काम ६ महिना पछाडि धकेलिएको रजिष्ट्रार भीमसागर गुरागाईंको भनाइ छ । टेण्डरको अन्तिम तयारीमा रहेका एनआइसीयू, २०० शय्या विस्तार, मर्चरी चेम्बर, डायलाइसिस लगायतका सेवा विस्तारको काम प्रभावित भएको उनले बताए ।

हेटौँडा अस्पतालमा सेवा गर्ने गरी प्रतिष्ठानले चालु आर्थिक वर्षमा उक्त सेवाका लागि टेण्डर प्रक्रिया थालेको थियो । आन्दोलनमा कागजात जल्दा पुनः सुरुवातबाट सार्वजनिक खरिद ऐन अनुसारको प्रक्रिया गर्नुपर्ने बाध्यता देखिएको गुरागाईंले बताए ।
शैक्षिक कार्यक्रमतर्फ हेटौँडा अस्पतालमा २०० शय्या विस्तार गरेर एमबीबीएस कक्षा सञ्चालनको तयारीमा रहेको प्रतिष्ठानको यो लक्ष्य पनि प्रभावित भएको छ । स्मार्ट बोर्ड, कम्प्युटर, ल्यापटप लगायतका सामग्री जल्दा अध्यापन कार्यमा समेत समस्या भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका रजिष्ट्रार गुरागाईंले आगजनीबाट प्रतिष्ठानको स्वास्थ्य सेवा विस्तारका महत्त्वपूर्ण योजनामा गम्भीर धक्का पुगेको बताए । हेटौँडा अस्पतालको प्रशासनिक कार्य पनि सोही भवनबाट सञ्चालन हुने भएकाले समस्या झनै जटिल बनेको उनको भनाइ छ ।
आगजनीले भौतिक संरचना र योजनामात्र नभएर प्रतिष्ठानको इतिहास र भविष्यको आधार खरानी बनेको रजिष्ट्रार गुरागाईंले बताए । उनका अनुसार अडिटसँग सम्बन्धित पाँचदेखि दश वर्ष पुराना फाइल, स्टोर म्यानेजमेन्टका भौतिक अभिलेख र स्थापनाकालदेखिका महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । प्रतिष्ठानले हेटौँडा अस्पतालमा पीआईसीयू सेवा, डायलाइसिसको १५ बेड, आईसीयूको १५ बेड, मर्चरी चेम्बर थप गर्न डकुमेन्ट तयार पारेर अपलोड गर्ने क्रममा रहेको अवस्थामा क्षति भएको उनले बताए । आन्दोलपछि प्रयोगशाला, मेडिसिनका टेन्डर अघि बढाउन निकै कठिन भइरहेको उनले प्रस्ट पारे ।

‘प्रतिष्ठानको प्रशासनिक अड्डा नै जलेर नष्ट भएको छ । अनलाइन र सफ्टवेयरमा भएका कुरा त जोगिए, तर नियमअनुसार भौतिक रूपमा राख्नुपर्ने सबै अभिलेख गुम्यो,’ गुरागाईंले भने, ‘हामीलाई एक स्टेपको होइन, धेरै ठुलो समस्या आइपरेको छ । हेटौँडा अस्पताल र हाम्रो प्रशासनिक कार्यालय एउटै थियो । त्यो जलेर नष्ट भयो ।’
शैक्षिक कार्यक्रम भने तत्कालका लागि प्रभावित नभएको उनले बताए । यद्यपि, प्रशासनिक केन्द्रविना शैक्षिक कार्यक्रमको दीर्घकालीन सञ्चालन र व्यवस्थापनमा चुनौती रहेको उनको भनाइ छ । विशेषगरी, चिकित्सा शिक्षा आयोगबाट अनुमति पाएको एमबीबीएस कार्यक्रम सञ्चालन गर्न प्रतिष्ठानलाई समस्या परेको उनले बताए ।
‘हाम्रा कलेज र प्रयोगशाला फरक–फरक ठाउँमा भएकाले कक्षा र परीक्षा नियमित रूपमा चलिरहेका छन् । विद्यार्थीहरूको भर्ना, शुल्क र परीक्षासम्बन्धी डाटाहरू अनलाइन सफ्टवेयरमा सुरक्षित रहेकाले शैक्षिक अभिलेखमा क्षति पुगेको छैन,’ रजिष्ट्रार गुरागाईंले भने, ‘एमबीबीएस कक्षा सञ्चालनका लागि हामीलाई निकै गाह्रो भएको छ । हामीले दिनरात खटेर अस्पतालकै नयाँ भवनको दुई तलालाई एकेडेमिक ब्लकको रूपमा प्रयोग गर्ने विकल्प खोजिरहेका छौँ ।’
जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार र बेथितिका मुद्दाहरू जायज भए पनि त्यसको आक्रोशमा एउटा महत्त्वपूर्ण स्वास्थ्य र शैक्षिक संस्थाको भविष्यलाई सङ्कटमा पार्ने प्रयत्न भएको उनले बताए । खरानीको थुप्रोबाट उठेर आफ्नो लयमा फर्किन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप ३÷४ महिना लाग्ने उनको भनाइ छ ।
रजिष्ट्रार गुरागाईंका अनुसार अस्पतालको नयाँ भवनमा पाँच तला भए पनि बजेट अभावले सबै चलाउन सक्ने अवस्था छैन । त्यसैले तीन तलामा बिरामीको सेवा र दुई तलामा कक्षा सञ्चालन गर्ने गरी व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण