शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

‘राजदूत र समानुपातिक सांसदसँग पार्टी साट्न सकिँदैन’

शुक्रबार, १४ कात्तिक २०८२, १७ : ११
शुक्रबार, १४ कात्तिक २०८२

सारांश

  • नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा नेताहरूले अध्यक्षको प्रतिवेदनमाथि धारणा राखे।
  • नेता अर्यालले बाम एकताका लागि बाम पार्टीका नेताहरूले अवकाश लिनुपर्ने बताए, साथै पार्टी शुद्धीकरणको आवश्यकता औंल्याए।
  • अर्यालले जेनजी आन्दोलनको जग लामो समयदेखि बसेको र यसको मागहरूको अपनत्व लिनुपर्ने विचार व्यक्त गरे।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी छ । ३ दिनका लागि तय भएको बैठकमा सदस्यहरुले बोल्ने क्रम जारी रहेको नेताहरूले बताएका छन् । यो समाचार तयार पार्दासम्म झण्डै ७० जना नेताहरूले बोलिसकेको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

उनका अनुसार नेताहरूले खासगरी अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि केन्द्रित रहेर धारणा राखेका छन् ।

त्यस क्रममा नेता अर्यालले नेपालमा क्रियाशील सबै बाम पार्टीका प्रमुख नेताहरूले अवकाश लिएमात्र बृहत बाम एकताको आधार बन्न सक्ने धारणा राखेका छन् । साथै उनले पार्टीहरूको शुद्धीकरण र पुनर्गठन जरुरी रहेको समेत बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘पार्टीहरूको शुद्धीकरण  र पुनर्गठनबिना कुनै एउटा पार्टीसँगमात्र गरिने एकताले बाम जनमतलाई आकर्षित गर्न सकिँदैन,आशा जाग्दैन’, अर्यालको भनाइ छ ।

उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन अचानक नभएको भन्दै यसको जग धेरै पहिला नै राखिएको दाबी गरे ।

‘यसको जग नेपालका प्रमुख राजनीतिक दलहरूले नै राखेका हुन् । जब नेताहरूमा डरलाग्दो सत्ता लिप्सा देखियो, दलहरूको आन्तरिक राजनीतिमा लोकतन्त्र समाप्त भयो, नेताहरूनै भ्रष्टाचारमा सामेल भए र सत्तालिप्साका कारण पार्टीहरू टुटफुट र विभाजन भए’, उनले बैठकमा भनेका छन्, ‘तत्पश्चात् आमजनता निराश हुँदै गए र जेनजी आन्दोलन संगठित हुन पुग्यो ।’

जेनजी आन्दोलनका मागहरू जायज भएपनि आन्दोलन अपहरित भएको बताएका अर्यालले अहिले संविधान मिचिएको अवस्था रहेको स्मरण गराए । ‘संविधान मिचेर बनेको सरकारलाई पूर्ण समर्थन गर्न सकिँदैन । त्यसकारण यो सरकार बन्नमा हामी कोही सामेल भएका छौ भने त्यो गौरवको विषय होइन’, अर्यालको भनाइ छ ।

अर्यालले जेनजी आन्दोलनका माग जायज थिए भनेर मान्ने हो भने ती मागहरूको अपनत्वसमेत लिनुपर्ने र सुरुआत आफ्नै पार्टीबाट गर्नुपर्ने धारणा राखेका छन् ।

अध्यक्ष नेपालले केन्द्रीय कमिटी सदस्य मनोनीत गरेकोमा अर्यालले आपत्ति जनाउँदै कमिटीको बहुमतले समाजको बहुमत सिद्ध गर्न नसक्ने दाबी गरे । ‘समाजमा हामी निरन्तर अल्पमतमा पर्दै गइरहेका छौ’, उनले माओवादी पार्टीसँग एकता गर्न लागेकोप्रति असहमति जनाउँदै भने, ‘राजदूत र समानुपातिक सांसदसँग पार्टी साट्न सकिँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप