ह्वाइट हाउसमा सिरियाली राष्ट्रपति अल–शरालाई भेट्दै ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा सिरियाका अन्तरिम सरकारका राष्ट्रपति अल-शरालाई भेट्ने भएका छन्।
- अल-शराको वासिङ्टन भ्रमणमा आईएसआईएस विरुद्धको गठबन्धनमा सामेल हुने सम्झौता हुनेछ।
- अल-शराले असदको शासनकालमा सिरियासँग सम्बन्ध तोडेका शक्तिहरूसँग सम्बन्ध पुनर्स्थापना गर्न खोजिरहेका छन्।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा सिरियाका अन्तरिम सरकारका राष्ट्रपति अहमद अल–शरालाई भेट्ने भएका छन् । नोभेम्बर १० मा ट्रम्प र अल–शराबिच भेटघाट हुने सिरियाका लागि अमेरिकी दूतले बताएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार छापेका छन् ।
यो सिरियाली राष्ट्रपतिको पहिलो वासिङ्टन भ्रमण हुनेछ । यसक्रममा अल–शराले आईएसआईएल (आईएसआईएस) समूह विरुद्धको अन्तर्राष्ट्रिय अमेरिकी नेतृत्वको गठबन्धनमा सामेल हुन सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको सिरियाका लागि अमेरिकी राजदूत टम ब्यारेकले बताएका छन् ।
यो यात्रा आगामी दुई हप्ताभित्र हुने अपेक्षा गरिएको यस विषयमा जानकार सिरियाली स्रोतलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले एउटा समाचार लेखेको छ । अमेरिकी विदेश मन्त्रालयको विदेशी नेताहरूको भ्रमणको ऐतिहासिक सूची अनुसार कुनै पनि अघिल्ला सिरियाली राष्ट्रपतिले वाशिङ्गटनको आधिकारिक भ्रमण गरेका छैनन् ।
गत डिसेम्बरमा बसर अल–असदलाई पदच्यूत गरेर सत्ता कब्जा गरेका अल–शाराले अल–असदको शासनकालमा सिरियालाई त्यागेका विश्व शक्तिहरूसँग सिरियाको सम्बन्ध पुनः स्थापित गर्न खोजिरहेका छन् ।
उनले मे महिनामा साउदी अरेबियामा ट्रम्पसँग भेटेका थिए, जुन २५ वर्षमा दुई राष्ट्रका नेताहरू बिचको पहिलो भेट थियो । खाडी सहयोग परिषद्का नेताहरूसँग ट्रम्पको भेटघाटको छेकोमा भएको बैठकलाई असद परिवारको पतनपछि सिरियाको लागि प्रमुख मोडको रूपमा हेरिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण