आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
प्रदेश

बागमतीको सभामुख पदमा सत्तापक्षभित्रै हानथाप, संसद् बैठक अन्योल

सोमबार, १७ कात्तिक २०८२, १३ : ००
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • बागमती प्रदेश सभाको बैठक साउनदेखि बस्न सकेको छैन, सभामुखको राजीनामा र भौतिक संरचनाको क्षतिका कारण अन्योल छ।
  • सभामुख पदका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच दाबी चलिरहेको छ, भने माओवादी केन्द्रले पनि सभामुख पदको माग गरेको छ।
  • प्रदेश सभा बैठक आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र बोलाउने तयारी छ, तर माओवादी केन्द्रले तत्काल बैठक नबोलाए संघर्ष गर्ने चेतावनी दिएको छ।

मकवानपुर । बागमती प्रदेश सभा बैठक गत साउनदेखि बस्न सकेको छैन । प्रदेश सभाको पछिल्लो बैठक मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि गत साउन २७ मा बसेको थियो । 

विगत ३ महिनादेखि बन्द प्रदेश सभा कहिले सञ्चालन हुन्छ भन्ने अन्योल छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले राजीनामा दिइसकेका कारण बैठक राखेर सभामुख चयन गर्नुपर्ने अवस्था छ । सत्ता पक्षमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले सभामुखमा दाबी गरिरहेका छन् । 

सरकारको नेतृत्व कांग्रेसले गरेको भन्दै सत्ता साझेदार दल एमालेले शक्ति सन्तुलनका लागि सभामुख आफूहरूले पाउनुपर्ने दाबी गरेको छ । एमालेबाट निर्वाचित उपसभामुख अप्सरा चापागाईलाई राजीनामा गराएर सभामुख लिने र उपसभामुख पद कांग्रेसका सांसदलाई दिने एमालेको प्रस्ताव छ । कांग्रेसले भने उपसभामुख एमालेको भएको अवस्थामा सभामुख पदमा आफ्नो दाबी कायमै राखेको छ । 

सभामुख पाठकको राजीनामा समेत स्वीकृत भएको छैन । असोज १ मै प्रदेश सभा सचिवालयमा लिखित राजीनामा पठाएका पाठकको राजीनामा स्वीकृतिका लागि पनि प्रदेश सभा बैठक बस्नुपर्ने हुन्छ । उक्त बैठकमा उपसभामुखले सभामुखको राजीनामा पत्र बाचन गरेपछि सभामुख पद रिक्त हुने र सोको १५ दिनभित्र सभामुख पदको निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था रहेको प्रदेश सभाका सचिव रामकुमार पौडेलले बताए । 

सत्तारुढ दल नेपाली कांग्रेस बागमती प्रदेश सभाका मुख्य सचेतक पुकार महर्जनले जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवनमा क्षति पुगेकाले बैठक बस्न ढिलाइ भएको र हाल वैकल्पिक व्यवस्थापनको काम भइरहेको जानकारी दिए । उनले सभामुखकै कारणले संसद् रोकिएको नभई भौतिक संरचनाको अभाव मुख्य कारण भएको बताए । 

महर्जनले छिटै नै सबै पक्षसँग छलफल गरी सदनलाई प्रभावकारी रूपमा अगाडि बढाउने बताए । लामो समयदेखि बन्द प्रदेश सभाको बैठक आउँदो कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र बोलाउने तयारी गरिएको उनको भनाइ छ ।

‘जेनजी आन्दोलनपछि प्रदेश सभाको संरचनामा क्षति पुगेको र मन्त्रालयहरू पनि ध्वस्त भएका कारण बैठक बस्न सकेको थिएन,’ महर्जनले भने, ‘तत्कालका लागि हेटौंडा उपमहानगरपालिका पछाडिको मुख्यमन्त्री सभाहलमा अस्थायी रूपमा बैठक बस्ने गरी व्यवस्था मिलाइएको छ । दलहरूबिच छलफल गरेर सदन सुचारु गरिने छ ।’

मुख्य सचेतक महर्जनका अनुसार सभामुख पदका लागि कांग्रेस र एमालेले दाबी गरेका छन् । दुवै दलको दाबीलाई स्वाभाविक रूपमा लिनुपर्ने उनको भनाइ छ । मुख्यमन्त्रीले सबै दलसँग समन्वय गरेर सो विषय टुङ्ग्याउने उनले प्रस्ट पारे ।

सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक एकलाल श्रेष्ठका अनुसार शक्ति सन्तुलनका हिसाबले एमालेले सभामुख र कांग्रेसले उपसभामुख पद लिने गरी छलफल चलेको छ । सो विषयलाई एक साताभित्रै टुङ्ग्याएर प्रदेश सभा बैठक बोलाउने तयारी भइरहेको उनले बताए ।

प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको अवस्थामा सत्ता साझेदारीको भावनाअनुसार सभामुख पद एमालेले पाउनुपर्ने आधारमा छलफल अघि बढेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार उपसभामुखले राजीनामा दिने र त्यसपछि सभामुख र उपसभामुखको नयाँ प्रक्रिया अघि बढाइनेछ ।

‘मुख्यमन्त्री नेपाली कांग्रेसको हुनुहुन्छ । त्यसैले सत्ता सहकार्य र सन्तुलनका लागि सभामुख हामीले लिने कुरा भएको हो,’ श्रेष्ठले भने, ‘यो कुनै विवादको विषय होइन । छलफलकै क्रममा छ र छिटै टुङ्गिन्छ । एमालेले उपसभामुखलाई राजीनामा गराएर सभामुख लिने र रिक्त उपसभामुख पद कांग्रेसलाई दिने प्रस्तावअनुसार नै प्रक्रिया अघि बढ्छ ।’

  • तत्काल प्रदेश सभा बैठक नबोलाए संघर्षमा जान्छौँ : ढकाल

बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रदेश सभा बैठक तत्काल नबोलाए संघर्षमा उत्रिने चेतावनी दिएको छ । दलका प्रमुख बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सत्ता गठबन्धनभित्रकै अविश्वास र आन्तरिक कलहका कारण प्रदेश सभा बैठक बस्न नसकेको आरोप लगाए ।

उनका अनुसार सरकार सभामुख र बजेट कार्यान्वयनजस्ता महत्त्वपूर्ण विषयमा अल्झिएकाले परिणामस्वरुप सदनलाई बन्धक बनाइएको हो । सत्ता गठबन्धनभित्रको यही विश्वासको सङ्कटले गर्दा प्रदेशको काम–कारबाही ठप्प भएको उनको दाबी छ । दसैँअघिदेखि स्थगित भएको बैठक अझैसम्म नबोलाउँदा जनताका आवाजहरू सदनमा राख्न नपाइएको उनको भनाइ छ ।

‘हामीले लिखित र मौखिक रूपमा पटक/पटक बैठक बोलाउन मुख्यमन्त्रीलाई आग्रह गरिसकेका छौँ । हाउस नराख्नुको मुख्य कारण कांग्रेस–एमाले सरकारभित्रको अविश्वास हो । उहाँहरू सभामुख पद आफैँभित्र भागबण्डा गर्न र बजेट कार्यान्वयनमा देखिएको समस्या लुकाउन चाहनुहुन्छ,’ उनले भने, ‘सरकारले यही २०/२२ गतेसम्ममा बैठक बोलाउने आश्वासन दिएको छ । यदि त्यो समयमा पनि बैठक बोलाइएन भने हामी प्रदेश सभा बैठकका लागि अर्को संघर्ष सुरु गर्न बाध्य हुनेछौँ ।’

प्रदेश सभाको सभामुख पद माओवादी केन्द्रले पाउनुपर्ने ढकालको दाबी छ । सत्ता गठबन्धनले सभामुख पद प्रमुख प्रतिपक्षीलाई दिएर राजनीतिक सन्तुलन कायम गर्नुपर्ने उनले बताए । अहिलेको परिवर्तित सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरूबिच एकता आवश्यक रहेकाले पनि सभामुख पद माओवादी केन्द्रले पाउनु पर्ने उनले बताए ।

‘सबैभन्दा ठुलो दल कांग्रेसको मुख्यमन्त्री छ । दोस्रो ठुलो दल एमालेको उपसभामुख छ । अब प्रमुख प्रतिपक्षी दललाई सभामुख दिँदा शक्ति सन्तुलन पनि हुन्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप