सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिज १८ जोडी भेटिए

मङ्गलबार, १८ कात्तिक २०८२, ०७ : ५९
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • कालीगण्डकी आसपासको उच्च पहाडी क्षेत्रमा चिरकालिजको संख्या बढेको अध्ययनले देखाएको छ।
  • नेपाल पन्छीविद् संघको अध्ययन अनुसार, १६ वर्षअघिको तुलनामा चिरकालिजको संख्या वृद्धि भएको पाइएको छ।
  • चिरकालिज संरक्षणका लागि म्याग्दी र ढोरपाटन क्षेत्रमा अध्ययन भइरहेको छ, जसले पर्यटन र रोजगारीमा सघाउ पुर्‍याउनेछ।

म्याग्दी । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ ।  नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन गरेको थियो । 

मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदन तयार पारेको टोली चिरकालिजको अवस्था अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्षमा आएको छ । अध्ययन टोलीमा सहभागी अनुुसन्धानकर्ता विराट रजकले सन् २००९ मा छ जोडी चिरकालिज रहेको उक्त सात ठाउँमा यसपालि १८ जोडी भेटिएका जानकारी दिए । 

“सन् २००४ मा १७ र २००६ मा ११ जोडी कालिज भेटिएका थिए”, उनले भने, “सन् २००९ पछि अध्ययन भएको थिएन । सोह्र वर्षपछि यसपालि भएको अध्ययनका क्रममा कालीगण्डकीको माथिल्लो क्षेत्रमा चिरकालिजको सङ्ख्या बढेको पाइएको छ ।”

समुदायमा संरक्षण शिक्षा, चेतनाको विकास, चोरी सिकारी नियन्त्रण, बासस्थान वरपर मानवीय र घरपालुवा जनावरको गतिविधि बढ्दा चिरकालिजको सङ्ख्या वृद्धिमा सहयोग पुगेको अनुसन्धानकर्ता रजकले बताए । 

खरबारी, पाखोबारीमा मानिसले घाँस काट्ने, पशुुचौपायाको चरन क्षेत्र हुँदा झाडी हटेर आहारा खोज्न सजिलो हुने भएकाले चिरकालिजको बसोबासका लागि अनुकूल वातावरण बनेको उनको भनाइ छ । 

चिरकालिजले फुल कोरल्नेबाहेकका समयमा डढेलो लाग्दा झाडी नष्ट हुुने र प्रशस्त आहारा पाउँदा उसका लागि अनुकूल मानिन्छ । चैत, वैशाख र जेठ चिरकालिजले फुल पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो ।   

समुद्री सतहबाट एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ । सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता रहने अनुसन्धानकर्ता केशव चोखालले जानकारी दिए । 

“चिरकालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ”, उनले भने, “बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो ।”

‘क्याट्रस वालिची’ वैज्ञानिक नाम रहेको यस पन्छीलाई अङ्ग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिममा चेडु चराको नामले चिनिने गरिएको छ । भिरमा नै बासस्थान बनाउने यो पन्छीले एकपटकमा सातदेखि १५ वटासम्म फुल पार्ने जनाइएको छ  । 

चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइन्छ ।  

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मै यसलाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरेको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णु अधिकारीले बताए । कालीगण्डकीका साथै म्याग्दी र रघुगङ्गाको तटीय क्षेत्रमा देखिएकाले अनुसन्धान थालिएको हो । चिरकालिजको अध्ययनका लागि दातृ निकाय टोलेडोजुले सहयोग गरेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ । 

धवलागिरि गाउँपालिकाको म्याग्दी नदी आसपास र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा अध्ययनपछि प्राप्त हुने प्रतिवेदनका आधारमा चिरकालिज संरक्षण कार्यक्रम गरिने जैविक बिविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले बताउनुभयो । दुर्लभ पन्छी हेर्नका लागि विदेशी पर्यटक आउँदा स्थानीयस्तरमा रोजगारी सृजना र आयआर्जन वृद्धिमा सघाउ पुग्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप