बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
कांग्रेस विवाद

निर्वाचन अगाडि महाधिवेशन हुने निश्चित भए विशेष महाधिवेशन पक्षधर पछि हट्ने

मङ्गलबार, १८ कात्तिक २०८२, ११ : ५५
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेसका नेताहरूले आगामी फागुन २१ गतेको निर्वाचन अगाडि नियमित महाधिवेशन भए स्वीकार्ने बताएका छन्।
  • दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले मङ्सिरभित्र महाधिवेशन हुनुपर्ने माग गर्दै हस्ताक्षर बुझाएका थिए।
  • संस्थापन पक्षले वैशाखमा र इतर समूहले मङ्सिरभित्र महाधिवेशन गर्नुपर्ने अडान लिँदा केन्द्रीय समिति बैठक स्थगित भएको छ।

काठमाडौँ । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित महाधिवेशन हुने निश्चित भएमा नेपाली कांग्रेसका विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेकाहरूले स्विकार्ने भएका छन् ।

आगामी मङ्सिर मसान्तभित्र नियमित महाधिवेशन नभएमा विशेष महाधिवेशन हुनुपर्छ भन्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए । खड्काले हस्ताक्षरसहितको पत्र आएको जानकारी केन्द्रीय कार्यसमिति बैठकलाई गराइसकेका छन् ।

हस्ताक्षर सङ्कलनको नेतृत्व गर्ने मध्यमा कांग्रेस युवा नेता मनोजमणि आचार्यले समयको पदचापलाई मनन गर्दै घोषित निर्वाचन अगाडि नियमित महाधिवेशन हुने भएमा आफूहरू सकारात्मक बन्ने जानकारी दिए । ‘हाम्रो माग मङ्सिरभित्र नियमित महाधिवेशन होस् भन्ने हो । तर, अहिलेको समयको पदचापलाई ख्याल गरी घोषित निर्वाचन अघि नियमित महाधिवेशन हुने निश्चित भयो भने सकारात्मक बन्छौँ,’ आचार्यले रातोपाटीसँग भने, ‘हाम्रो चाहना महाधिवेशन होस् भन्ने हो । महाधिवेशन हुने निश्चित भएमा सकारात्मक हुनुपर्छ ।’

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन अगाडि नियमित महाधिवेशन हुने निश्चित भएमा आफूहरूले विशेष महाधिवेशन पक्षधरलाई मनाउने बताए । ‘निर्वाचन अगाडि नियमित महाधिवेशन निश्चित भएमा विशेष महाधिवेशन पक्षधरलाई मनाउन सकिन्छ,’ केन्द्रीय सदस्य पौडेलले रातोपाटीसँग भने, ‘नेतृत्वले महाधिवेशन हुने निश्चिन्तता प्रदान गरोस् हामी उनीहरूलाई मनाउँछौँ ।’

कांग्रेसमा संस्थापन पक्षले आगामी वैशाखमा नियमित गर्ने बताइरहेका छन् । इतर समूहले मङ्सिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेको छ । यही विषयमा कुरा नमिल्दा जारी केन्द्रीय समिति प्रभावित बन्दै आएको छ । शुक्रबार र आइतबारका लागि बोलाइएको केन्द्रीय समिति सूचना टाँस गरेर स्थगित गरिएको छ । मंगलबार दिउँसो एक बजेका लागि केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप