आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

४० वर्ष जेलमा बिताएका निर्दोष भारतीय मूलका नागरिकलाई डिपोर्ट गर्ने प्रयास अदालतले रोक्यो

बुधबार, १९ कात्तिक २०८२, १४ : ०७
बुधबार, १९ कात्तिक २०८२

वासिङ्टन डीसी। हत्याको आरोपमा ४० वर्षभन्दा बढी समय जेलमा बिताएका एक भारतीय मूलका पुरुषको डिपोर्टेसन (देश निकाला) लाई अमेरिकाका दुई फरक अदालतले रोकेका छन्।

६४ वर्षीय सुब्रमण्यम ‘सुबु’ वेदम् लाई सन् १९८३ मा आफ्ना पूर्वसहकर्मीको हत्या गरेको आरोपमा दोषी ठहर गरिएको थियो। तर, मुद्दामा नयाँ प्रमाणहरू फेला परेपछि उनी गत अक्टोबरमा निर्दोष साबित भई जेलबाट रिहा भएका थिए। तर, जेलबाट छुट्नेबित्तिकै उनलाई अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले भारत डिपोर्ट गर्न हिरासतमा लियो।

वेदम्को परिवारका अनुसार उनको जन्म भारतमा भए पनि उनी नौ महिनाको हुँदा नै अमेरिका सरेका थिए र उनी यहाँको कानूनी स्थायी बासिन्दा हुन्। उनलाई पक्राउ पर्नुअघि नै उनको नागरिकता आवेदन पनि स्वीकार भएको थियो। उनी हाल लुइजियानाको अलेक्जान्ड्रियास्थित अल्पकालीन हिरासत केन्द्रमा राखिएका छन्।

गत बिहीबार एक न्यायाधीशले उनको डिपोर्टेसनमा रोक लगाइदिए। यो रोक उनको पुरानो लागूऔषध मुद्दामा बोर्ड अफ इमिग्रेसन अपिल्स (बीआईए) ले पुनरावलोकन गर्ने निर्णय नगरेसम्म कायम रहनेछ। सोही दिन पेन्सिलभेनियाको एक अमेरिकी जिल्ला अदालतले पनि उनको डिपोर्टेसन रोक्न आदेश दिएको थियो।

एपीका अनुसार वेदम्लाई लागुऔषधको आरोपमा पनि हिरासतमा लिइएको थियो, जब प्रहरीले हत्याको अनुसन्धान गरिरहेको थियो। हत्याको आरोपमा दोषी ठहर हुनुअघि नै उनले लागूऔषध मुद्दामा ‘नो कन्टेस्ट’ (दोष स्वीकार नगर्ने तर सजाय मान्ने) भन्ने निवेदन दिएका थिए।

आईसईले गत महिना वेदम्लाई पक्राउ गर्दा सन् १९८८ को डिपोर्टेसन आदेश र लागुऔषध मुद्दामा उनको सजायलाई आधार बनाएको थियो। अध्यागमन एजेन्सीले हत्याको आरोपबाट उनी मुक्त भए पनि उनको लागुऔषधसम्बन्धी दोषसिद्धि कायमै रहेको र आफूहरूले कानुनी आदेशअनुसार काम गरेको दाबी गरेको छ।

अब वेदम्का वकिलहरूले अध्यागमन अदालतलाई उनले गलत रूपमा जेलमा बिताएका वर्षहरूलाई उनको लागूऔषध दोषसिद्धिभन्दा बढी महत्त्व दिनुपर्ने कुरामा सहमत गराउनुपर्नेछ। उनका अध्यागमन वकिल आवा बेनाकले यो घटनालाई ‘वास्तवमै असाधारण’ भनेकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप