मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

२८ वर्षपछि इङ्ग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा

शनिबार, २३ असार २०७५, २१ : ३९
शनिबार, २३ असार २०७५

एजेन्सी । स्वीडेनलाई पराजित गर्दै इङ्ग्ल्याण्ड रुसमा जारी विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

सन् १९९० पछि इङ्ग्ल्याण्ड विश्वकपको सेमिफाइनल पुगेको यो पहिलो अवसर हो । त्यतिबेला इङ्ग्ल्याण्ड चौँथो बनेको थियो ।

तेस्रो सेमिफाइनल खेलमा इङ्ग्ल्याण्डले स्वीडेनलाई २–० गोलअन्तरले हरायो ।

खेलको ३० औँ मिनेटमा ह्यारी मकग्वायरले कर्नरमा हेडमार्फत गोल गर्दै इङ्ग्ल्याण्डलाई अग्रता दिलाएका थिए । 

दोस्रो हाफमा जेसे लिन्डगार्डको पासमा डेली अलीले गोल गर्दै इङ्ग्ल्याण्डको अग्रता दोब्बर बनाए ।

त्यसअघि इङ्ग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले मार्कस बर्गको प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए ।

त्यस्तै ६४ औँ मिनेटमा उनले भिक्टर क्लाएसनको प्रहारलाई रोक्दै इङ्ग्ल्याण्डको अग्रता जोगाए ।

त्यसपछि कुनै गोल हुन सकेन र इङ्ग्ल्याण्डले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो ।

इङ्ग्ल्याण्डले अब सेमिफाइनलमा आयोजक रुस र क्रोएसिया बीचको खेलको विजेतासँग भिड्नेछ ।

इङ्ग्ल्याण्डले सन् १९६६ मा पछिल्लो पटक विश्वकपको उपाधि जितेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप