बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

एकाउन्न वर्षपछि लाप्राकका युवाद्वारा लमजुङ हिमाल आरोहण

शनिबार, २२ कात्तिक २०८२, २२ : ३३
शनिबार, २२ कात्तिक २०८२

सारांश

  • गोरखाका युवाहरूले ५१ वर्षपछि लमजुङ हिमालको सफल आरोहण गरेका छन्।
  • सन्दीप गुरुङ, सुजल गुरुङ र बुद्धबहादुर गुरुङको टोलीले हिमाल चढेको हो।
  • यसअघि सन् १९७४ मा बेलायती सेनाले आरोहण गरेको थियो, तर यो पटक लाप्राकका युवाले सफल भए।

गोरखा । पहिलोपटक आरोहण भएर रोकिएको ५१ वर्षपछि गोरखाका युवाहरूले लमजुङ हिमालको सफल आरोहण गरेका छन् । धार्चे गाउँपालिका–४ लाप्राकका सन्दीप गुरुङ, सुजल गुरुङ र बुद्धबहादुर गुरुङले छ हजार ९८३ मिटर अग्लो लमजुङ हिमाल आरोहण गरेका हुन् ।

मनाङ र कास्कीको सिमानामा रहेको सो हिमाल यसअघि सन् १९७४ मा पहिलोपटक बेलायती सेनाका डेरिक च्याम्बरलेन र फिलिप नियमिले आरोहण गरेका थिए । त्यसयता थुप्रै आरोहीहरूले पटकपटक आरोहणको प्रयास गरे पनि सफल हुन सकेका थिएनन् । 

एकाउन्न वर्षपछि पहिलोपटक लाप्राकका तीनसहित चार जनाको टोलीले लमजुङ हिमाल आरोहण गरेको आरोही सन्दीपले जानकारी दिए । गुरुङको टोलीले यही अक्टोबर २७ तारिख दिउँसो ३ः०० बजे हिमाल आरोहण गरेका थिए । 

सो टोलीमा रहेका सोलुखुम्बुका पुरतेन्जी शेर्पाले पनि लमजुङ हिमाल सफलतापूर्वक आरोहण गरेका सन्दीपले जानकारी दिए । “यो पर्वतारोहण क्षेत्रकै ऐतिहासिक आरोहण हो”, उनले भने, “५१ वर्षमा थुप्रै आरोहीहरूले लमजुङ हिमाल आरोहणको प्रयास गरेका थिए । तर, सफल भने हुन सकेका थिएनन् । हाम्रो टोली भने पहिलो प्रयासमा नै सफल भएको छ ।”

सन्दीपले आफ्नो टोलीले हिमालयन समिट क्लबबाट हिमाल आरोहण गरेको बताए । उनले भने, “हाम्रो टोलीमा थप दुई जना विदेशी र एक जना नेपाली पनि हुनुहुन्थ्यो । मौसम खराब भएपछि उहाँहरू फर्किनु भयो । हामी चार जनाले आरोहण गरेर फर्केका हौँ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप