बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

गगन–विश्वप्रकाशहरू कांग्रेस नेतृत्वमा प्रवेश गर्न असफल भए के हुन्छ ?

बुधबार, १० मङ्सिर २०८२, ०० : ३०
बुधबार, १० मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेसमा पुस्तान्तरणको अभावले पार्टीको भविष्य र देशको राजनीतिमा गम्भीर असर पर्ने सम्भावना देखिएको छ।
  • गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवा नेताहरूले नेतृत्व पाउन नसकेमा, युवा मतदाता पार्टीबाट टाढिने र नयाँ राजनीतिक शक्तिहरूको उदय हुने जोखिम छ।
  • कांग्रेसले समयमै नेतृत्व हस्तान्तरण नगरेमा, लोकतन्त्र, मध्यमार्गी राजनीति र समग्र नीति-निर्माण प्रक्रियामा नकारात्मक असर पर्न सक्ने चेतावनी दिइएको छ।

नेपालको राजनीति आज एक अप्ठेरो मोडमा आइपुगेको छ । यो मोड सतहमा देखिने सत्ता र शक्ति–गणितको परिवर्तन मात्र हैन, एउटा पुस्ता, एक युग र एउटा पार्टीको भविष्य तय गर्ने निर्णायक मोड हो । खासगरी, नेपाली कांग्रेस जस्तो ऐतिहासिक, विचारधरिका रूपमा उदारवादी र लोकतान्त्रिक मूल्यहरूको संरक्षक मानिने पार्टीले यो मोडमा आफ्नो नेतृत्व संरचना नयाँ पुस्तातर्फ सर्न सक्दैन भने त्यसले ल्याउने राजनीतिक–सामाजिक परिणाम गम्भीर हुने स्पष्ट संकेतहरू देखिएका छन् । भदौको जेनजी बिद्रोहपछिको रापतापमा यदि गगन थापा र विश्वप्रकाश शर्माहरू काँग्रेसको नेतृत्वमा स्थापित हुन सकेनन् भने नेपालको भविष्य के हुन्छ ? काँग्रेसको यात्रा कहाँ पुग्छ ? र देश कुन बाटोतर्फ मोडिन्छ ?

नेपाली काँग्रेसले आफ्नो जीवनमा धेरै पटक सबैभन्दा कठिन संक्रमणहरू व्यहोरेको छ । राजतन्त्रको नियन्त्रण, पञ्चायती दमन, भूमिगत संघर्ष, ०४६ को जनआन्दोलन, २०६२र६३ को क्रान्ति, यी सबैले काँग्रेसलाई ऐतिहासिक गहिराई र वैचारिक उचाइ दिएको छ । तर विडम्बना के हो भने, यति धेरै परिवर्तनसहित इतिहासको धारो मोडे पनि काँग्रेसले पार्टीको आन्तरिक संरचना भने परिवर्तन हुन चाहँदैन जस्तो देखिन्छ । नेतृत्व अझै पनि पुरानै पुस्ताको कब्जामा छ, जसले आफूहरू चाहिँ निरन्तर ‘संरक्षक’ र ‘अनुभवी’ भनेर व्याख्या गर्छ अनि नयाँ पुस्तालाई निर्णय–निर्माण तहमा ल्याउन निरन्तर अनिच्छुक देखिन्छ ।

काँग्रेसको वर्तमान संरचना ‘संघर्षको स्मृति’ मा मात्र अडिएको छ, ‘भविष्यको सम्भावना’ मा यो संरचना कुनै काम गरिरहेको देखिँदैन । काँग्रेसभित्र पहिलोपटक भविष्यको सम्भावना भनेर उदाएका पुस्ता नै गगन थापा र विश्वप्रकाश शर्माको हो । नेपालमा राजतन्त्रको पतनसँगै  उनीहरू केवल नयाँ पुस्ताका नेताहरू मात्र होइनन्, एक प्रकारले ‘वैकल्पिक कांग्रेस’ का प्रतिनिधि बने, जसलाई युवा मतदाता र शिक्षित मध्यमवर्गले आशा र विश्वासका साथ हेरे । उनीहरूले पटक पटक पार्टीलाई पुरानो गुटगत संस्कृतिबाट मुक्त गरेर नीतिमा आधारित, पारदर्शी र परिणाममुखी राजनीतितर्फ लैजाने सपना प्रस्तुत गरेका छन् । उनीहरूको यावत् प्रयत्न एवम् प्रस्तुतिलाई काँग्रेसभित्रको पुराना पुस्ता जो पुरानो फलाममा खिया जसरी बसेको उसले बुझ्ने, मनन गर्ने वा आत्मसात् गर्ने प्रयत्न गरेको देखिँदैन । 

गगन(विश्वप्रकाश पुस्ताका लागि काँग्रेसको मूल ढोका खुला छैन, यो खोल्न सकिन्छ कि भन्ने अवस्थामा मात्र छ । पार्टीभित्रका पुराना शक्ति–केन्द्रहरूले उनीहरूको वृद्धि स्विकार्न कठिन महसुस गरिरहेका छन् । आन्तरिक चुनावमा खेलेका गुटगत खेल, पुरानो नेतृत्वले समातेको संरचनागत नियन्त्रण, संस्थागत सुधारप्रति देखिने उदासीनता—यी सबैले स्पष्ट देखाउँछ कि ‘गगन–विश्वप्रकाश पुस्ता’ ले काँग्रेसको शीर्ष तहमा पुग्न अझै  कडा संघर्ष पार गर्नुपर्नेछ ।

यही स्थानमा प्रश्न गम्भीर बन्छ, यदि यो पुस्ता काँग्रेसको नेतृत्वसम्म पुग्न असफल भयो भने के हुन्छ ?  यसका प्रभाव केवल पार्टीभित्र सीमित रहने छैनन् । नेपालको लोकतन्त्र, मध्यमार्गी राजनीति, र समग्र नीति–निर्माण संस्कृति नै यसको प्रभावमा पर्न सक्छ । कांग्रेसमा पुस्तान्तरण नहुने हो भने पहिलो र सबैभन्दा तत्काल परिणाम जतिसुकै ठुलो देखिए पनि सरल छ युवा मतदाता काँग्रेसबाट अलगिने छन्।

पछिल्ला तीन निर्वाचन चक्रले प्रस्ट देखाइसकेको छ कि नेपाली युवाहरू पुरानो शैली, खाली आश्वासन र गुटगत खेलबाट आजित छन् । उनीहरू चाहन्छन्—परिणाम, कार्ययोजना, पारदर्शिता र राजनीतिक शुद्धता । गगन वा विश्वप्रकाश जस्ता पात्रहरूमा उनीहरूले यो सम्भावना देख्छन्, त्यसैले उनीहरूलाई संस्थागत रूपमा हेर्नेहरूलाई काँग्रेसको भविष्यसँग जोडेर हेरिरहेका छन् । यदि काँग्रेसले यिनलाई ठाउँ नदिएर पुरानै ढर्रालाई निरन्तरता दियो भने, युवा मतदाता केवल निराश मात्र हुने छैन—उनीहरू वैकल्पिक राजनीतिक बाटोतर्फ गम्भीर रूपमा उन्मुख हुन्छन् ।

काँग्रेसमा पुस्तान्तरण रोकिनु भनेको पार्टीले आफ्ना सबैभन्दा ऊर्जा–युक्त संरचनाहरू गुमाउनु हो—नेविसंघ, तरुण दल, शहरी स्वेच्छिक अभियानकर्ताहरू र नयाँ पुस्ताका नीति–विश्लेषकहरू । यिनै संरचनाहरू १९८० देखि २०१० सम्म काँग्रेसलाई जिताउने र जिताउने मुख्य आधार थिए । तर आज ती संरचनाहरू नै गुटगत जालोमा थुनिएका छन्, जसको सबैभन्दा ठुलो मूल्य भविष्यमा काँग्रेसले नै चुकाउनुपर्नेछ ।

युवा मतदाता अन्यत्र जानु भनेको मात्र संख्यात्मक हार होइन, वैचारिक अधिकार गुमाउनु पनि हो । जब युवा राजनीतिक रूपमा काँध फर्काउँछन्, तब पार्टी नयाँ विचार, आधुनिक दृष्टि र परिवर्तनको ऊर्जा सबैभन्दा पहिले गुमाउँछ । काँग्रेसको भविष्यका लागि यो एक प्रकारको सम्भावित ‘आन्तरिक पतन’ को बीउ हो ।

दोस्रो सम्भावित परिणाम काँग्रेसभित्र नभएर कांग्रेस बाहिर देखिन सक्छ—नयाँ राजनीतिक संरचनाको उदय । यदि गगन थापा–विश्वप्रकाश शर्मा जस्ता आधुनिक, लोकप्रिय र नीति–केन्द्रित नेताहरूले काँग्रेसभित्रै ठोस भूमिकामा उभिन नसके भने तिनीहरूले दीर्घकालीन रूपमा दुई विकल्पमध्ये एक छान्न सक्छन् पहिलो, काँग्रेसमै संघर्ष जारी राख्ने  र दोस्रो, नयाँ राजनीतिक शक्ति–समूह निर्माण गर्ने ।

पछिल्ला दशकमा विश्वमै देखिएको एउटा प्रवृत्ति नेपालमा पनि लागु हुन्छ—पुराना पार्टीहरू पुस्तान्तरणमा असफल हुँदा, नयाँ पार्टी वा स्वतन्त्र मोर्चाहरू अत्यन्त तीव्र रूपमा उठ्ने गर्छन् । भारत, फ्रान्स, चिली वा ताइवानका नयाँ पुस्ताका समूह । यो विषयमा नेपाल पनि अपवाद हुने कुनै आधार छैन । गगन–विश्वप्रकाश पुस्ताले काँग्रेसमा बाटो नपाएमा यो प्रवृत्ति नेपालमै आउन सक्छ । उनीहरू व्यक्तिगत रूपमा लोकप्रिय छन्, संगठन बनाउन सक्ने क्षमता छ, शहरी–मध्यम वर्गबाट ठुलो समर्थन छ, विदेशमा बस्ने नेपाली युवाहरूबिच ठुलो प्रभाव छ । यिनले बनाएको नयाँ राजनीतिक मोर्चा केही वर्षमै काँग्रेसको वैकल्पिक मध्यमपन्थी विकल्प बन्न सक्छ ।

यसले काँग्रेसलाई मात्र नभइ समग्र नेपाली राजनीतिलाई नयाँ विभाजनमा लैजान सक्छ—एकातिर पुरानो कांग्रेस, अर्कोतिर नयाँ आधुनिक उदारवादी समूह । यो विभाजन तत्काल लाभदायी देखिन सक्छ, तर दीर्घकालमा समान वैचारिक स्पेसमा भएको विभाजनले मध्यमार्गी राजनीति कमजोर पनि पार्न सक्छ।

यस परिदृश्यको तेस्रो र सबैभन्दा ध्रुवीकृत परिणाम भनेको नेपालको राजनीतिमा मध्यमपन्थी उदारवादी शक्ति कमजोर हुनसक्छ, जसले देशलाई जनवाद, उग्र राष्ट्रवाद, वा अत्यधिक वैचारिक ध्रुवीकरणतिर धकेल्छ । कांग्रेस कमजोर हुँदा मुलुकमा शक्ति–सन्तुलन गडबडिन्छ, र समग्र राज्य–संस्था केही व्यक्तिहरूमा मात्र केन्द्रित हुने सम्भावना बढ्छ ।

गगन–विश्वप्रकाश पुस्ता काँग्रेसमा स्थापित हुन नसक्नु भनेको केवल पार्टीको अन्तर कलह होइन, नेपालका उदारवादी मूल्यहरूको सुरक्षा–जाल नै कमजोर हुनु हो । यस पुस्ताले उठाउँदै आएका मुद्दाहरू—सुशासन, स्वास्थ्य नीति, शिक्षा सुधार, राष्ट्र नीति, पारदर्शिता, डिजिटल शासन, संस्थागत अखण्डता—यी सबै यदि काँग्रेसको नेतृत्व तहबाट ओझेल परे भने नेपाल फेरि पनि अस्थिर गठबन्धन, पुरानो प्रकारको सत्ता–व्यवहार र दीर्घकालीन नतिजा नदिने राजनीतिक चक्रमै अड्किन्छ । फागुनमा हुने भनिएको १६५ सिटका लागि प्रतिनिधि सभाको निर्वाचनमा  ४२ प्रतिशत युवा मत निर्णायक हुनेवाला छ । यदि काँग्रेसले देउवा वा देउवा निकट अनुहार अघि सारेर हिँड्यो  भने २०६४ को चुनावमा जस्तै २५–३० सिट वा सोभन्दा कमजोर सिटहरूमा सीमित हुनेछ । रास्वपा र नयाँ शक्तिहरूले काँग्रेसको परम्परागत क्षेत्र कब्जा गर्नेछन् । कांग्रेस इतिहासकै सबैभन्दा कमजोर दल बन्नेछ ।

यति हुँदाहुँदै पनि, एक सकारात्मक सम्भावना अझै बाँकी छ, काँग्रेसले आफ्नै इतिहासबाट पाठ सिक्दै नेतृत्व हस्तान्तरणको निर्णय  अझै पनि गर्न सक्छ । संसारभरका पुराना पार्टीहरूले गरेको अनुभवले यही देखाउँछ कि नयाँ पुस्तालाई नेतृत्वमा ल्याएपछि संगठन आधुनिक बन्ने, मतदाता वर्ग फैलिने र पार्टी पुनर्जीवित हुने सम्भावना धेरै हुन्छ । काँग्रेसले यही बाटो तत्परता र साहसका साथ लिन सकेमा, गगन–विश्वप्रकाश पुस्ताले पार्टीलाई २१औँ शताब्दीको दृष्टिकोणले पुनर्संयोजन गर्न सक्छ । नेपालले पनि आधुनिक सुशासन, सेवा–उन्मुख राजनीति र संस्थागत सुधारतर्फ वास्तविक छलाङ मार्न सक्छ ।

तर यदि काँग्रेसले निर्णयमा ढिलाइ गर्‍यो भने, देशको राजनीतिक भविष्य अनिश्चित मोडमा प्रवेश गर्छ । गगन–विश्वप्रकाश पुस्ता काँग्रेसमा नउठ्नु केवल आन्तरिक शक्ति संघर्ष होइन, नेपालका युवाहरूको राजनीतिक विश्वास, मध्यमार्गी मूल्यहरूको भविष्य र लोकतान्त्रिक स्थायित्वलाई नै प्रभावित पार्ने कुरा हो ।

अन्त्यमा, प्रश्न अति सरल छ, तर उत्तर अत्यन्त गम्भीर पनि छ, यदि गगन–विश्वप्रकाश पुस्ता काँग्रेसमा आएन भने, नेपाल एउटा नयाँ राजनीतिक मोडमा प्रवेश गर्छ । जहाँ काँग्रेसले आफ्नो ऐतिहासिक उचाइ गुमाउनेछ, र देशले मध्यमार्गी स्थिर राजनीतिक शक्ति गुमाउने गहिरो जोखिम व्यहोर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केशव पाठक
केशव पाठक
लेखकबाट थप