ईश्वरलाई ‘धम्की’ र ओलीको ‘ब्रान्डिङ’मा एमाले संस्थापन
सारांश
- एमालेको भावी अध्यक्षमा ईश्वर पोखरेलले उम्मेदवारी दिने घोषणा गरेपछि ओली पक्षका नेताहरूले पोखरेललाई धम्की दिएका छन्।
- धरानमा महाधिवेशन प्रतिनिधि छनोटका क्रममा पोखरेल पक्षीय नेतामाथि कुटपिट भएको र ओलीको ब्रान्डिङ सुरु भएको छ।
- महेश बस्नेतले पोखरेललाई उम्मेदवारी फिर्ता लिन चेतावनी दिँदै पार्टीलाई अस्थिर बनाउने प्रयास नगर्न आग्रह गरे।
काठमाडौँ । नेकपा एमालेको भावी अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दिने घोषणा गरेसँगै अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरूले पोखरेललाई धम्की दिन र ओलीको ब्रान्डिङ गर्न थालेका छन् ।
मंसिर २७ गते उदघाटन हुने एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र वरिष्ठ नेता पोखरेलबिच प्रतिस्पर्धा हुने भएपछि संस्थापन पक्षधर नेताहरू पोखरेललाई पछि हट्न दबाब दिँदै ओलीको ‘ब्रान्डिङ’मा जुटेका हुन् ।
एमालेमा महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया जारी छ । मंसिर १३ गतेसम्म सबै महाधिवेशन प्रतिनिधि छनोट भइसक्ने एमालेले जनाएको छ ।
सके सर्वसम्मत्, नसके निर्वाचनमार्फत प्रतिनिधि छनोट गर्न एमालेले आन्तरिक सर्कुलर नै गरेको छ, तर कतिपय स्थानमा एमालेको संस्थापन पक्षले आफू पक्षीय प्रतिनिधि निर्वाचित गर्न आफ्नो शक्ति प्रयोग गरेको गुनासो बढ्न थालेको छ ।
सुनसरीको धरानमा महाधिवेशन प्रतिनिधि छनोटका क्रममा पोखरेल पक्षीय नेतामाथि भएको कुटपिटले नै एमालेमा इतर पक्षलाई महाधिवेशन प्रतिनिधि छनोट हुनबाटै रोक्ने प्रपञ्च भइरहेको कतिपय नेताहरूको भनाइ छ ।
बिहीबार सुनसरीको धरानमा महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद बढ्दै एमाले जिल्ला सदस्यमाथि कुटपिट नै भएको थियो ।
धरानमा युवा प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अनिल राजधामीमाथि कुटपिट भएको हो । अनिल पूर्वमन्त्री भीम आचार्यको स्वकीय हुन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहनिकट मानिन्छन् ।
उम्मेदवारी फिर्ता गर्न दिएको निर्देशन नमानेपछि संस्थापन पक्षले राजधामीलाई कुटपिट गरेको इतर पक्षको भनाइ छ ।
यता, ओली निकट मानिएका एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले बिहीबार पोखरेललाई उम्मेदवारी दिने घोषणा फिर्ता लिन चेतावनी दिएका छन् ।
‘एमाले अहिले आन्तरिक र बाह्य दुवै मोर्चाबाट कठोर दबाब झेलिरहेको संवेदनशील घडीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिले पार्टीभित्र अनावश्यक तरंग, प्रतिस्पर्धा र द्वन्द्वको वातावरण सिर्जना गरेको छ’, बस्नेतले भनेका छन्, ‘पार्टी चुनावतिर अघि बढ्दैछ, राष्ट्रिय राजनीति निर्णायक मोडमा छ, विदेशी–स्वदेशी शक्तिहरू एमाले र अध्यक्ष ओलीमाथि निरन्तर प्रहार गरिरहेका छन् । यस्तो अवस्थामा प्रतिस्पर्धा होइन, नेतृत्वको स्थिरता पार्टीलाई मजबुत बनाउने बाटो हो । अनेक प्रोपोगाण्डा गरेर कमजोर बनाउने अर्को चक्र नबनोस् ?’ बस्नेतले भनेका छन् ।
बस्नेतले आजको प्रश्न ‘कसले नेतृत्व दाबी गर्छ ?’ होइन, ‘कसले पार्टी बचाउन सक्छ ?’ रहेको भन्दै वर्तमान राष्ट्रिय परिस्थिति, भू–राजनीतिक उतारचढाव र एमालेमाथिको योजनाबद्ध प्रहार भइरहेको चर्चा गरेका छन् । उनले अहिले मजबुत संगठन, सही कार्यदिशा र जुझारु सशक्त क्रान्तिकारी पंक्ति चाहिने प्रस्ट पार्दै त्यो सबैकुरा केपी ओलीकै दृढ नेतृत्वमा सम्भव छ भन्ने देखाएको दाबी गरेका छन् ।
एमालेभित्र भइरहेको बाहिरी आक्रमण रोक्न एकता, अनुशासन र संगठनको दृढताबाट मात्र सम्भव हुने बस्नेतको भनाइ छ । उनले पोखरेलजस्ता नेता एमालेका सम्पत्ति भएको पनि बताएका छन् । ‘तर संवेदनशील घडीमा नेतृत्व बदल्ने होइन, नेतृत्वलाई कसिलो बनाउने समय हो । पार्टी, देश र कार्यकर्ताको चाहना स्पष्ट छ– स्थिर एमाले, एकजुट एमाले, ओली नेतृत्वमा संगठित एमाले’, बस्नेतले भनेका छन् ।
बस्नेतले चुनौतीको भाषामा पोखरेललाई भनेका छन्, ‘यदि योगदान गर्न सकिन्छ भने निःसर्त एकता । यदि सकिँदैन भने सहर्ष बिदाइ नै ईश्वर पोखरेलको निमित्त सही विकल्प हो ।’
ईश्वर पोखरेल समूहका एक नेताले बस्नेतको भाषा शैली अराजक र गुण्डागर्दी शैली भएको भन्दै त्यसले एमाले र अध्यक्ष ओलीलाई फाइदा नपुग्ने बताए ।
‘महेश बस्नेतका पछि लागिरहन जरुरी छैन’, ती नेताले रातोपाटीसँग भने, ‘महेश बस्नेत अराजक मानिस हुन् । अध्यक्ष ओलीले यस्तै अराजक मानिसहरूलाई संरक्षण दिनुभएको छ, जसले ओलीलाई नै हानि हुनसक्छ ।’
बस्नेतले प्रयोग गरेको भाषा कम्युनिस्ट शैली, कम्युनिस्ट विचार नभएको भन्दै गुण्डागर्दी शैलीमात्र भएको ती नेताको भनाइ छ ।
‘लोकतन्त्र या प्रजातन्त्र मान्नेहरूले स्वस्थ प्रतिस्पर्धा गर्न इच्छा जाहेर गर्न पाउँछ, भन्न पाउँछ’, उनले भने । लोकतन्त्रमा जो कसैले आफ्नो विचार राख्न, प्रतिस्पर्धा गर्ने र मर्यादित ढंगले प्रस्तुत हुन पाउने उनको भनाइ छ ।
यतिमात्र होइन, एमाले संस्थापन पक्षका नेता कार्यकर्ताहरूले महाधिवेशनलाई लक्षित गर्दै ओलीको ब्रान्डिङ गर्न सुरु गरिसकेका छन् । उनीहरूले ओलीको तस्बिरमा ‘जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व’, लेखेका पोष्टर सार्वजनिक गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण