शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नक्सा पास गराई निर्माण भएको घरमा डोजर चलाइएको गुनासो

सोमबार, १५ मङ्सिर २०८२, १८ : ०१
सोमबार, १५ मङ्सिर २०८२

काठमाडौँ । रौतहटको चन्द्रपुर नगरपालिका–८ मा निर्माण भएको आफ्नो घर भत्काइएपछि घरधनी इन्दल यादव (सुधिर) ले न्याय र क्षतिपूर्तिको माग गरेका छन्। 

नगरपालिकाबाट विधिवत् रूपमा नक्सा पास गराई निर्माण गरिएको घर जिल्ला अदालतका प्रतिनिधिहरु आएर भत्काएको जिकिर गर्दै उनले आज काठमाडौँमा पत्रकार सम्मेलनमार्फत आफ्नो गुनासो पोखेका हुन्।

यादवका अनुसार १ कठ्ठा १० धुर जग्गामा निर्मित २० कोठे पक्की घर उनको अनुपस्थितिमै डोजर लगाएर भत्काइएको छ।

यादवले नापी कार्यालय र जिल्ला अदालतको सरजमिन मुचुल्काका आधारमा आफूले घर बनाएको दाबी गरेका छन्। सुरुमा जिल्ला अदालत गौरका न्यायाधीश मनिराम न्यौपानेको इजलासले नापी र नक्सा बमोजिम नै घर रहेको ठहर गरेको थियो। तर, सोही मुद्दामा उच्च अदालत वीरगञ्जले जिल्ला अदालतको निर्णय उल्ट्याउँदै उक्त संरचना सार्वजनिक जग्गामा परेको फैसला सुनाएको थियो।
उच्च अदालतको सोही फैसला कार्यान्वयनको क्रममा घर भत्काइएको भए पनि पीडित यादवले भने तथ्य र प्रमाणको सही विश्लेषण नभएको गुनासो गरेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै यादवले भने, ‘लम्बाई, चौडाइ र नापी कार्यालयको नक्सा अनि नगरपालिकाले स्वीकृत गरेको नक्सा अनुसार नै मैले घर बनाएको हुँ। जिल्ला अदालतको सरजमिन मुचुल्का र सरकारी नक्सा एउटै छ। तर, उच्च अदालतको फैसलाले नक्साको स्वरूप नै परिवर्तन हुने गरी निर्णय गर्दा म मर्कामा परेँ।’

उनले आफ्नो अनुपस्थितिमा घर भत्काइएको र सुनुवाइको मौकासमेत नपाएको दुखेसो पोखे। घर भत्काउँदा हार्डवेयरका सामान र संरचना गरी करिब डेढ करोडभन्दा बढीको क्षति भएको उनको भनाइ छ।

घरधनी बबिता कुमारी यादव र इन्दल यादवले घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन हुनुपर्ने माग राखेका छन्। उनीहरूले प्राविधिक टोली खटाएर पुनः नापजाँच गरी नक्सा अनुसार जग्गा कायम गरिनुपर्ने र विधिसम्मत घर बनाउँदा पनि भत्काइएकोले उचित क्षतिपूर्ति पाउनुपर्ने माग अघि सारेका छन्।
पीडित परिवारले  न्याय दिलाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप