परशुराम नगरपालिकाको स्थापना दिवस : महाकाली किनारमै कार्यपालिका बैठक
धनगढी । डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकाले आफ्नो १२ औँ स्थापना दिवस फरक शैलीमा मनाएको छ । नगरपालिकाले प्रसिद्ध धार्मिकस्थल परशुरामधामको महाकाली नदी किनारमा कार्यपालिका बैठक राख्यो भने तीर्थस्थलको सरसफाइ र प्रतिभा सम्मान गरेर स्थापना दिवस मनायो ।
परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले यसपटक स्थापना दिवस विगतको जस्तो भाषण र औपचारिक तामझाममा मात्र सीमित नरहेको बताए । स्थापना दिवसकै अवसर पारेर नगरपालिकाले स्कन्ध पुराणमा वर्णित महाकाली नदी किनारस्थित ऐतिहासिक एवं धार्मिक ‘परशुरामधाम’ क्षेत्रमा बृहत सरसफाइ तथा रङरोगन गरेको छ । सरसफाइ अभियानमा नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय (सेना, प्रहरी, सशस्त्र), सञ्चारकर्मी र स्थानीयको उत्साहजनक सहभागिता थियो ।
उक्त अवसरमा नगरपालिकाले आफ्नो कार्यपालिका बैठक समेत महाकाली किनारमै आयोजना गर्यो । धामको पवित्रता र पर्यटकीय महत्त्वलाई उजागर गर्ने उद्देश्यले खुला आकाशमुनि नदी किनारमै बैठक राखिएको मेयर जोशीले बताए । नदी किनारमा बसेको कार्यपालिका बैठकको निर्णय अनुसार नगरले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई नगद राशीसहित सम्मान गरेको छ ।

नेपाल सरकारका उपसचिवद्वय वीरबहादुर धामी र इन्जिनियर दीपक नेगीलाई ‘परशुराम आइकन अवार्ड–२०८२’ बाट सम्मान गरियो । समाजमा विशिष्ट योगदान पुर्याउने स्थानीय राजेश जोशी र ८८ आकृति पाण्डेयलाई जनही ५० हजार रुपैयाँ राशीसहित ‘परशुराम अचिभर्स अवार्ड’ प्रदान गरिएको छ ।
यस्तै नगरपालिकाले खेलकुदतर्फ बक्सिङका सुरेश चुनारा र योगाकी पुष्पा नाथ सम्मान गरेको छ भने कृषितर्फ नरेन्द्र नेगी र पशुपालनमा उत्कृष्ट काम गर्ने मिलन घिमिरे सम्मानित भए । उनीहरुलाई जनही ५१ हजार नगद प्रदान गरियो ।
शैक्षिक गुणस्तर सुधारमा प्रोत्साहन स्वरूप नगरपालिकाले उत्कृष्ट विद्यार्थीहरूलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरेको छ । सम्मानित हुने विद्यार्थीहरूमा कक्षा ८ बाट मोहन थापा मगर, आयुष भट्ट र प्रतिभा भट्ट, कक्षा १० बाट किशोर गिरी र ऋतिका पनेरु र कक्षा १२ बाट दीपेन्द्र बोहरा र खगन्ति बोहरा छन् ।
यसैगरी, विकास निर्माणमा गुणस्तरीय काम गरेको भन्दै ‘सिगास निर्माण सेवा’लाई उत्कृष्ट निर्माण व्यवसायीको सम्मान प्रदान गरिएको छ भने कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका कर्मचारीहरूलाई समेत सो अवसरमा पुरस्कृत गरियो ।

धार्मिक पर्यटनको प्रवर्द्धन, वातावरण संरक्षण र स्थानीय प्रतिभाको कदर गर्दै मनाइएको यस वर्षको स्थापना दिवसले सकारात्मक सन्देश प्रवाह गरेको मेयर जोशीले बताए ।
१२ वर्षअघि तत्कालीन जोगबुढा र शीर्ष गाविस गाभिएर मंसिर १६ गते घोषणा भएको परशुराम नगरपालिका भूगोल र जनसंख्या दुवै हिसाबले डडेल्धुराको सबैभन्दा ठुलो स्थानीय तह हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण