बर्दिया-१ बाट सञ्जय गौतमसहित ४ जनाको नाम सिफारिस
सारांश
- नेपाली कांग्रेस बर्दिया क्षेत्र नं. १ ले आगामी निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।
- सञ्जय गौतमको नाम प्रत्यक्षतर्फ प्राथमिकताका साथ सिफारिस गरिएको छ, जसले २०७४ मा वामदेव गौतमलाई पराजित गरेका थिए।
- क्षेत्रीय समितिले प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यका लागि समेत नाम सिफारिस गरेको छ।
बर्दिया । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस बर्दिया क्षेत्र नं. १ ले उम्मेदवारको टुंगो लगाउन केन्द्रमा नाम सिफारिस गरेको छ । मंसिर २३ गते बसेको क्षेत्रीय कार्यसमितिको बैठकले केन्द्रीय परिपत्र अनुसार प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको हो ।
नेपाली कांग्रेस बर्दिया क्षेत्र नं. १ का सभापति मुक्तिनाथ यादवका अनुसार प्रत्यक्षतर्फको उम्मेदवारका लागि केन्द्रीय सदस्य तथा पूर्व सांसद सञ्जय गौतमको नाम प्राथमिकताका साथ सिफारिस गरिएको छ । गौतमसँगै अन्य सिफारिस हुनेहरूमा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य महेन्द्र कुमार शर्मा, महासमिति सदस्यहरू रत्ना थारु र गंगाधर पौडेल रहेका छन् ।
सिफारिसमा परेका नेता सञ्जय गौतमले २०७४ सालको निर्वाचनमा तत्कालीन एमालेका प्रभावशाली नेता वामदेव गौतमलाई पराजित गरेपछि उनको चर्चा राष्ट्रिय राजनीतिमा चुलिएको थियो ।
क्षेत्रीय समितिले प्रत्यक्षतर्फ मात्र नभई प्रतिनिधि सभा समानुपातिक र राष्ट्रिय सभा सदस्यका लागि पनि नाम सिफारिस गरेको छ ।
प्रतिनिधि सभा समानुपातिकतर्फ मिश्रीलाल यादव, तिलक बहादुर बुढाक्षेत्री, लक्ष्मी ढकाल, रहिस अहमद सिद्धिकी, गोविन्दप्रसाद थारु, कालुराम बिक र पुष्पलाल श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि कांग्रेस बर्दियाका जिल्ला सभापति अरुण प्रकाश सिंह राठोर, महेन्द्र राज तिवारी र जावेदा खातुनको नाम सिफारिस गरिएको छ ।
सिफारिस गरिएका नामहरूमाथि अब नेपाली कांग्रेसको केन्द्रले छलफल गरी अन्तिम उम्मेदवारको टुंगो लगाउनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण