१५ वर्षदेखि कतारको मरुभूमिलाई हरियाली बनाइरहेका नेपाली
कतार । वरिपरि हेर्दा लाग्छ, यो कुनै सुक्खा मरुभूमि नभएर नेपालकै तराईको कुनै हरियाली फाँट हो । तर, दृश्य नेपालको नभएर खाडी मुलुक कतारको मदिनत अल काबानको हो । जहाँ बालुवामथि लहलह झुलेको अनेक घाँस र तरकारीका फाँटहरू देखिन्छन् ।
त्यही हरियालीको एक छेउमा भेटिन्छन् अन्दाजी ५० वर्षीय नेपाली । उनको दाह्री फुलेर सेतो हुन थालिसकेको छ, तर पाखुरामा अझै जोस बाँकी छ । उनी हुन्– सर्लाहीको लक्ष्मीपुर पतारी–५ का नजरुल नदाफ ।

धेरैलाई लाग्छ– कतारका गगनचुम्बी महलहरूका साथै प्रविधियुक्त सम्पन्नताले मात्रै यहाँको विकासको कथा भन्छ । तर, नजरुल जस्ता हजारौँ नेपाली श्रमिकहरू छन्, जसले ४५ डिग्रीको रापिलो घाममा आफ्नो पसिना सिञ्चित गरेर कतारको उराठ मरुभूमिलाई हरियालीमा परिणत गरिरहेका छन् ।
- १५ वर्षको मरुभूमि यात्रा
नजरुल कतार आएको १५ वर्ष भइसक्यो । जब उनी पहिलो पटक कतार टेकेका थिए, उनको तलब मात्र ५०० रियाल थियो । समय बदलियो, कतारको रूप बदलियो, तर नजरुलको दिनचर्या उही छ– माटो, पानी र बोटबिरुवासँगको सहकार्य ।
‘सुरुमा आउँदा ५०० रियाल तलब थियो, अहिले बढेर १३५० पुगेको छ,’ नजरुलले रातोपाटीसँग भने, ‘खर्च कटाएर महिनाको १ हजार रियाल जति बच्छ । त्यही पैसाले घरको चुलो बल्छ ।’ उनका अनुसार यो तलब खानासहितको हो । त्यसैले खाना र आवश्यक खर्चपछि उनको यो तलब बच्ने हो ।

कतारको चर्को गर्मीमा काम गर्नु चानचुने कुरा होइन । भलै यो सिजन भने केही शान्त छ कतारको मौसम । तर, यो लामो समय रहिरहँदैन । यहाँको तापक्रम गर्मीयाममा ४५ देखि ५० डिग्री सेल्सियससम्म पुग्छ । तर, नजरुलको अनुहारमा गुनासो छैन, बरु एउटा सन्तोषको मुस्कान छ । उनी भन्छन्, ‘गर्मी त धेरै लाग्छ हजुर, तर साहुजी राम्रो हुनुहुन्छ । माया गर्नुहुन्छ । त्यसैले अर्को कम्पनीमा जाने सोचिनँ, यहीँ टिकिरहेँ ।’
- छोरीको बिहेको ऋण
१५ वर्ष एउटा लामो समय हो । यतिका वर्ष परदेशमा बिताउँदा पनि उनले अझै पसिना बगाइरहेका छन् । आर्थिक अभाव, पारिवारिक बाध्यता आदिले नै उनलाई परदेशमा नंग्रा खियाउन अभिसप्त बनाइरह्यो ।

नजरुलका तीन सन्तान छन्, दुई छोरी र एक छोरा । दुवै छोरीको बिहे भइसक्यो । तराई मधेशको समाजमा अझै पनि छोरीको बिहे गर्नु भनेको बुबाको काँधमा ऋणको भारी थपिनुजस्तै हो । किनकि तराई मधेसको समाजमा दाइजोको विकराज समस्या अझै छ । ‘दुईटा छोरीको बिहे गर्दा दाइजो दिनुपर्यो, त्यसले गर्दा ऋण छ’ नजरुल भन्छन्, ‘त्यो ऋण तिर्नुछ ।’
हुन त अहिले उनको छोरा पनि रोजगारीका लागि दुबई पुगेका छन् । बाबु कतारमा र छोरा दुबईमा । दुवैको कमाइले बिस्तारै ऋणको भारी हलुका हुँदैछ भन्ने आशा नजरुलमा पलाएको छ । ऋण तिरेपछि स्वदेश फर्किने सोचमा छन् उनी । सो त काम गर्ने ठाउँका साहुले पनि उनलाई ‘घर नजाऊ, काम गर’ भन्ने गरेका छन् ।

- कतारको भिजन र नेपाली पाखुरा
नजरुल त एक प्रतिनिधि पात्र मात्र हुन् । उनले नै हरियाली बनाइरहेकै ठाउँमा पनि अन्य तीन जना नेपालीले काम गर्छन् । यस्तै हरियाली बनाउने काममा नेपालीहरु पनि कैयन् कार्यरत छन् । उक्त देशले ‘कतार नेसनल भिजन २०३०’ अन्तर्गत वातावरणीय दिगोपनलाई उच्च प्राथमिकतामा राखेको छ । प्राकृतिक रूपमा पानीको चरम अभाव र सुक्खा मरुभूमि भए पनि कतारले आधुनिक सिँचाइ प्रणाली र प्रशोधित पानीको प्रयोग गरेर देशलाई हराभरा बनाउने नीति लिएको छ ।

दोहाको एस्पायर पार्क होस् वा अल बिद्दा पार्क, अथवा लुसेल सिटीका सडक पेटीहरू नै किन नहोस् हरियाली विस्तारमा अर्बौँ खर्चेको छ । गत विश्वकप को समयमा रोपिएका लाखौँ बोटबिरुवा र निर्माण गरिएका पार्कहरूलाई जोगाइराख्न पनि नजरुल जस्ता विदेशी श्रमिकहरूको भूमिका अतुलनीय छ ।
यहाँका फार्म हाउसहरूमा कम पानीमा बाँच्न सक्ने खजुर, बर्सिम घाँस र विभिन्न प्रजातिका बोटबिरुवा रोपिन्छन् । नजरुल भन्छन्, ‘हामी यहाँ बर्सिम लगाउँछौँ, किसानी गर्छौँ । यो मरुभूमिमा हरियाली देख्दा मन शान्त हुन्छ ।’
कतार सरकारले मरुभूमिलाई हराभरा बनाउने सपना देख्छ, तर त्यो सपनालाई यथार्थमा बदल्ने काम भने नजरुल जस्ता नेपाली श्रमिकहरूको पसिनाले गरिरहेको छ ।

- घर फर्किने सपना
लामो समय परदेश बस्दा घरको यादले कसलाई सताउँदैन ? भन्ने हाम्रो प्रश्नमा नजरुललाई पनि अब घर गएर नातिनातिना खेलाउने रहर छ । चार वर्षअघि बिदामा घर गएका उनी अब भने सदाका लागि फर्किने योजना बुन्दै छन् ।
‘अब कति बस्नुहुन्छ त ?’ भन्ने प्रश्नमा उनी मुसुक्क हाँस्दै भन्छन्, ‘अब अलि–अलि काम गर्छु । छोराले पनि कमाउन थालेको छ । जब छोरीको बिहे गर्दा लागेको ऋण चुक्ता हुन्छ, तब म घर फर्किन्छु । जिन्दगीको उत्तरार्ध अब आफ्नै गाउँमा बिताउने मन छ ।’ ठ्याक्कै तथ्याङ्क नभए पनि हाल कतारमा करिब ४ लाख नेपाली कामदार कार्यरत रहेको आँकलन गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण