आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गोडैतामा आगलागीको कहर: १५० किसान परिवारको सपना खरानी, राहतको पर्खाइमा स्थानीय

मङ्गलबार, ०१ पुस २०८२, २३ : ०१
मङ्गलबार, ०१ पुस २०८२

सारांश

  • सर्लाहीको गोडैता नगरपालिकामा आगलागी हुँदा सयौँ किसानको उखु बाली नष्ट भयो, जसले उनीहरूको जीविकोपार्जनमा ठूलो असर पार्‍यो।
  • विद्युतीय तार सर्ट भएर सुरु भएको आगोले १५० परिवारको खेतमा क्षति पुर्‍यायो, जसले गर्दा करिब ३ करोड रुपैयाँ बराबरको बाली नष्ट भयो।
  • पीडित किसानहरू राहतको प्रतीक्षामा छन् र उनीहरूले जलेको उखु बेच्न नसक्ने अवस्थाले थप समस्या निम्त्याएको छ।

काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिकामा सोमबार दिउँसो भएको भीषण आगलागीले सयौँ किसानको वर्षभरको मेहनत र लगानीलाई केही घण्टामै खरानीमा परिणत गरिदिएको छ । विद्युतीय तार सर्ट भएर सुरु भएको आगोले उखु खेतमा ताण्डव मच्चाउँदा करिब १५० किसान परिवारको जीविकोपार्जनको मुख्य आधार ध्वस्त भएको छ, जसले सिङ्गो गाउँलाई शोकमा डुबाएको छ । पीडित किसानहरू अहिले जलेको भविष्य नियाल्दै सरकार र सम्बन्धित निकायबाट राहतको प्रतीक्षामा छन् ।

आगलागी गोडैता नगरपालिकाको वडा नम्बर ४, रोहुवास्थित मुना चौधरीको उखु खेतमाथि रहेको हाइटेन्सन प्रसारण लाइनको तार एक–आपसमा जुधेपछि सुरु भएको थियो । तारबाट निस्किएको झिल्कोले सुकेको उखुको पातमा आगो लागेपछि तीव्र गतिमा फैलिएको थियो । काट्ने बेला भएको उखुमा चिनीको मात्रा अत्यधिक हुने भएकाले आगोले भयावह रूप लिएको गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवले बताए । उनले भने, ‘चिनीको मात्रा धेरै भएका कारण आगो दन्किएर फैलियो, जसलाई नियन्त्रणमा लिन निकै हम्मेहम्मे पर्‍यो।’ आगोले वडा नम्बर २ र ४ को सीमाक्षेत्रमा रहेको ठुलो भूभागलाई आफ्नो चपेटामा पारेको थियो ।

आगलागीको सूचना पाउनासाथ करिब दुई हजार स्थानीय गाउँलेहरू आगो निभाउन स्वस्फूर्त रूपमा जुटेका थिए । उनीहरूको प्रयासलाई सहयोग गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा एउटा दमकलको टोली पनि घटनास्थलमा पुगेको थियो। तर आगोको भीषणता र तीव्र हावाका कारण नियन्त्रणको प्रयास निकै चुनौतीपूर्ण बनेको थियो । करिब पाँच घण्टाको अथक र संयुक्त प्रयासपछि मात्र आगोलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलनको काम जारी रहे पनि प्रारम्भिक अनुमानले ठुलो आर्थिक नोक्सानी भएको संकेत गरेको छ । मेयर यादवका अनुसार प्रारम्भिक जानकारीअनुसार ५० देखि ६० बिघा क्षेत्रफलमा लगाइएको करिब तीन करोड रुपैयाँ बराबरको उखु बाली पूर्ण रूपमा नष्ट भएको छ ।

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले भने ८० देखि ९० बिघा क्षेत्रफलमा करिब डेढ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेका छन् । यसैबिच, ‘जेन जेनरेसन जेड’ नामक संस्थाले कृषि मन्त्रालयलाई पठाएको पत्रमा करिब दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता तथा डिएसपी सरोज राईले क्षतिको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिए ।

पीडित किसानहरूको पीडा यतिमै सीमित छैन। एकातिर वर्षभरको कमाइ आगोले नष्ट गरेको छ भने अर्कोतिर जलेको उखु बिक्रीसमेत नहुने चिन्ताले उनीहरूलाई थप पिरोलेको छ । मेयर यादवका अनुसार चिनी मिलसँग यस विषयमा छलफल गर्दा मिल व्यवस्थापनले तत्काल जलेको उखु किन्न नसकिने जवाफ दिएको छ । मिलले किसानलाई जलेको उखुमा पानी पटाउन र डेढ महिनापछि पुनः हरियो अवस्थामा आएमा मात्र किन्ने सर्त राखेको छ, जुन पीडित किसानहरूका लागि लगभग असम्भव छ । यस अवस्थाले उनीहरूको पीडामा नुनचुक छर्किएको छ ।

यस विपत्तिपछि पीडित किसानहरूलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न चौतर्फी माग उठ्न थालेको छ । ‘जेन जेनरेसन जेड’ संस्थाका तर्फबाट नितेश राउतले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्र लेख्दै पीडित किसानहरूको दयनीय अवस्थाप्रति ध्यानाकर्षण गराएका छन् । पत्रमा पीडितलाई तत्काल आर्थिक राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, बीउ, मल र कृषि उपकरणको आपत्कालीन प्याकेज प्रदान गर्न, जोखिम न्यूनीकरणका लागि प्राविधिक टोली पठाउन, क्षतिको औपचारिक मूल्यांकन गरी प्रतिवेदन तयार गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन कृषि बीमा र संरक्षण नीति लागू गर्न माग गरिएको छ ।

आफ्नै आँखाअगाडि वर्षभरको परिश्रम जलेर नष्ट भएको दृश्य हेर्न बाध्य किसानहरू अहिले गहिरो निराशा र अनिश्चिततामा छन् । उनीहरूले आफ्नो जीविकोपार्जन पुनः सुरु गर्न राज्यबाट ठोस सहयोग र प्रभावकारी कदमको अपेक्षा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप