शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

२० करोड नतिरेको मणिपाललाई सर्वोत्कृष्ट करदाता सम्मान

बुधबार, ०२ पुस २०८२, १५ : ५७
बुधबार, ०२ पुस २०८२

पोखरा । पोखरा महानगरपालिकाले उत्कृष्ट करदाताका रूपमा मणिपाल शिक्षण अस्पताललाई सम्मान गरेको छ । 

महानगरको ६७औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट करदाताका रूपमा मणिपाललाई सम्मान गरिएको हो । मणिपालले ३६ लाख १४ हजार १५ रुपैयाँ कर तिरेर सर्वाधिक कर तिर्ने व्यवसाय बनेको हो ।

मणिपालले महानगरलाई तिर्नुपर्ने नक्सापास बापतको करिब २० करोड तिर्न बाँकी छ । महानगरले नियमविपरित अस्पताललाई कर छुट दिने निर्णय गरेको थियो ।

गलत नियतका साथ राजस्व छुट दिइएको उजुरी परेपछि अख्तियारले महानगरमा छापा हानेर कागजात नियन्त्रणमा लिएको थियो ।

२०५३ मा बनेको मणिपाल अस्पताललाई महानगरको २०७९ चैत १० गते भएको बैठकले कर छुट दिने निर्णय गरेको थियो । बैठकले २० करोड कर छुट दिएर एक करोड ७५ लाख लिई मणिपाललाई भवन सम्पन्न प्रमाणपत्र दिने निर्णय लिएको थियो ।

उक्त निर्णयको आलोचना भएपछि १५ औँ नगरसभाले निर्णय नै बदर गर्ने निर्णय गरेको थियो । उक्त सभाले कर निर्धारण समिति गठन गरेकोमा समितिले कुनै पनि अध्ययन हालसम्म गरेको छैन । 

महानगरले तत्कालीन समयमा तिर्नुपर्ने नक्सापास बापतको रकम अहिले तिरिरहेको कर फरक भएकोले सम्मान गरिएको दाबी गरेको छ । राजस्व छुट गरेको विषय अहिले पनि अख्तियारमै विचाराधीन छ ।

दोस्रोमा पोखरा ग्राण्ड प्रालि बनेको छ । ग्राण्डले २१ लाख ८४ हजार १ सय ८६ रुपैयाँ तिरेको हो । मालपोत, सम्पत्ति र व्यवसाय कर तिरेर दोस्रो भएको महानगरले जनाएको छ । महेश बहादुर भट्टराईले ११ लाख १४ हजार १ सय ३६ रुपैयाँ मालपोत र सम्पत्ति कर तिरेर तेस्रो भएका छन् ।

सोही समारोहमा नियमित कर तिर्ने धिरज अर्याल, रामबाबु घिमिरे र राधा तिमिल्सिनालाई सम्मान गरिएको थियो । 

उनीहरुले मालपोत र सम्पत्ति कर समयमै तिरेका महानगरले जनाएको छ । धिरजले ४ हजार ७१, रामबाबुले १ हजार २ सय १४ रुपैयाँ र तिमिल्सिनाले १ हजार ४ सय ७४ रुपैयाँ कर तिरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप