बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी सैनिकलाई ट्रम्पको उपहार : क्रिसमसअघि नै विशेष भत्ता दिने घोषणा

बिहीबार, ०३ पुस २०८२, ११ : ५२
बिहीबार, ०३ पुस २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले १४ लाख सैनिकलाई जनही १७७६ डलरको भत्ता घोषणा गरे।
  • ट्रम्पले यो रकम क्रिसमसअघि नै सैनिकको हातमा पुग्ने बताएका छन्, वैदेशिक आयात करबाट रकम जम्मा हुनेछ।
  • उनले सरकारको अर्थतन्त्र र नीतिको प्रशंसा गरे, तर सर्वेक्षणले अमेरिकीहरूमा सन्तुष्टि नभएको देखाएको छ।

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साढे १४ लाख अमेरिकी सैनिकहरूलाई जनही १ हजार ७७६ डलरका दरले ‘वारियर डिभिडेन्ड’ नामक विशेष भत्ता उपलब्ध गराउने घोषणा गरेका छन्। बुधबार राति राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै ट्रम्पले यो रकम क्रिसमसभन्दा अगाडि नै सैनिकहरूको हातमा पुग्ने बताएका हुन्। 

यस विशेष भुक्तानीका लागि आवश्यक रकमको एउटा हिस्सा आफूले लगाएको वैदेशिक आयात कर (ट्यारिफ) बाट सङ्कलन गरिने जानकारी समेत उनले दिएका छन्। ट्रम्पले यो कदमलाई अमेरिकी सेनाको सम्मान र प्रोत्साहनको रूपमा अर्थ्याएका छन्।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो सरकारको अर्थतन्त्र र अध्यागमन नीतिको प्रशंसा गर्दै विपक्षी डेमोक्र्याटहरूमाथि तिखो व्यङ्ग्य समेत गरे। उनले अमेरिका अहिले सही दिशामा अघि बढिरहेको र आगामी दिनमा अवस्था अझ सुध्रिने दाबी गरे। देशमा महँगी घटिरहेको दाबी गर्दै उनले जनतालाई ढुक्क हुन आग्रह गरेका छन्। ट्रम्पले आफ्नो कार्यकालमा भएका आर्थिक सुधारहरूले गर्दा नै यस्तो बोनस दिन सम्भव भएको तर्क अघि सारेका छन्।

यद्यपि, ट्रम्पको यो दाबी र घोषणाका बिच विभिन्न सर्वेक्षणहरूले भने अमेरिकी नागरिकहरूमा सन्तुष्टि नरहेको देखाएका छन्। धेरैजसो अमेरिकीहरू आवास, बालबालिकाको हेरचाह र स्वास्थ्य सेवामा भइरहेको निरन्तर मूल्यवृद्धिका कारण चिन्तित र असन्तुष्ट रहेका छन्। 

एकातिर ट्रम्पले अर्थतन्त्र बलियो भएको दाबी गरिरहेका छन् भने अर्कोतिर सर्वसाधारणले दैनिक जीवनयापनमा बढ्दो लागतको दबाब महसुस गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप