शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

पोखरामा दोस्रो भारत-नेपाल पर्यटन सम्मेलन सम्पन्न

बिहीबार, ०३ पुस २०८२, २२ : १८
बिहीबार, ०३ पुस २०८२

कास्की । काठमाडौँस्थित भारतीय राजदूतावास, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा बिहीबार पोखरामा दोस्रो ‘इन्डिया–नेपाल टुरिजम मिट’ आयोजना गरिएको छ।

गण्डकी प्रदेश र भारतको उत्तर प्रदेशबीचको पर्यटकीय सम्बन्ध विस्तारमा केन्द्रित यस कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी वर्ष समेत मनाइएको छ। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा र मुक्तिनाथ क्षेत्रमा भारतसँग बढ्दै गएको पर्यटकीय सहकार्यको स्वागत गरे।

भारतीय दूतावासका नियोग उप-प्रमुख डा. राकेश पाण्डेले कनेक्टिभिटीमा आएको सुधारले अन्तरदेशीय पर्यटनलाई नयाँ उचाइ दिएको बताए। उनले नेपाल र भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक सर्किटहरूको प्रवर्द्धन गरी दुवै देशको पर्यटकीय सम्भावनालाई पूर्ण रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए।

उत्तर प्रदेश पर्यटनका सहनिर्देशक दिनेश कुमारले आगामी माघ मेला र उत्तर प्रदेशका पर्यटकीय सर्किटहरूबारे जानकारी दिँदै पर्यटन नीति कार्यान्वयनका सफल अनुभवहरू साटेका थिए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकमध्ये भारत सबैभन्दा ठूलो स्रोत रहेको उल्लेख गर्दै बोर्डले भारतीय पर्यटक आकर्षण गर्न गरिरहेका पहलहरूबारे प्रकाश पारे।

सम्मेलनको बीटुबी सत्रमा भारतका १० र नेपालका ६० प्रतिनिधिहरूबीच विशेष गरी स्थलमार्गबाट हुने पर्यटन, बौद्ध परिपथ, वन्यजन्तु र साहसिक पर्यटनमा सहकार्य गर्ने विषयमा छलफल भयो। यसअघि मंसिर २९ देखि पुस २ गतेसम्म उत्तर प्रदेशको प्रतिनिधिमण्डलका लागि पोखरा क्षेत्रको परिचयात्मक भ्रमण समेत गराइएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप