बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

ओलीको ह्याट्रिक ! एमालेलाई घाटा कि नाफा ?

शुक्रबार, ०४ पुस २०८२, १० : ०२
शुक्रबार, ०४ पुस २०८२

सारांश

  • केपी शर्मा ओलीको राजनीतिक 'ह्याट्रिक' ले एमालेलाई तत्काल फाइदा पुगे पनि दीर्घकालीन रूपमा पार्टी कमजोर हुने जोखिम रहेको विश्लेषण छ।
  • ओलीको ह्याट्रिक व्यक्तिगत सफलता मात्र नभई पार्टीको संगठनात्मक स्वरूप, वैचारिक दिशा र नेतृत्व संरचनासँग जोडिएको छ।
  • लेखमा ओलीको विजयले पार्टीलाई एकताबद्ध देखाए पनि, वैचारिक बहस र नयाँ नेतृत्वको विकासमा चुनौती रहेको औंल्याइएको छ।

केपी शर्मा ओलीको राजनीतिमा ‘ह्याट्रिक’ शब्द प्रयोग हुनु संयोग होइन । पार्टीभित्रको निर्णायक पकड, सत्ता समीकरणमा बारम्बार पुनरागमन र आन्तरिक–बाह्य चुनौतीलाई परास्त गर्दै फेरि केन्द्रमा फर्किने क्षमता, यी सबैले ओलीलाई नेपाली राजनीतिमा अद्वितीय बनाएको छ । तर यही ह्याट्रिक विजयसँगै एउटा गम्भीर प्रश्न पनि उभिन्छ: ओलीको यतिखेरको बेजोडको विजय अन्ततः नेकपा (एमाले) का लागि नाफा हो कि दीर्घकालीन घाटा ?

जेनजी आन्दोलनलाई 'प्रतिक्रान्ति' भनेर भाष्य सिर्जना गरिरहेका केपी ओलीको ह्याट्रिक विजयलाई व्यक्तिगत सफलताको कथा मात्र मान्नु सतही विश्लेषण हुन्छ । उनलाई एमाले पङ्क्तिले लगाएको लालमोहरभित्र महाधिवेशन प्रतिनिधिमा डीएनए चेक गरेर ल्याइएका व्यक्तिहरूको कथा छ । महाधिवेशन प्रतिनिधि चयनमै ओली विजयको कथा लेखिएको मात्र थिएन जेनजी आन्दोलनलाई 'लुटेरा' भनाउने भाष्य पनि लेखिएको थियो ।

सोही स्क्रिप्टमा भएको यो विजय एमालेको संगठनात्मक स्वरूप, वैचारिक दिशा र भविष्यको नेतृत्व संरचनासँग गहिरो रूपमा गाँसिएको छ । एमाले पङ्क्तिभित्र प्रत्येक पटक ओली बलियो बन्दा पार्टी एकीकृत देखिन्छ, निर्णय छिटो हुन्छ, कार्यकर्ता तहमा ‘कडा र निर्णायक नेतृत्व’को अनुभूति हुन्छ भन्ने भाष्य छ ।  यस अर्थमा ओलीको विजय तत्कालीन रूपमा एमालेलाई नाफा नै हो भन्न सकिन्छ । जसले अन्योल हट्छ, शक्ति केन्द्र स्पष्ट हुन्छ र पार्टी ‘डिसिप्लिन्ड’ देखिन्छ । अझ हाल सरकारले समयमा चुनाव गराउन सकेन वा संसद पुनर्स्थापन भयो भने त यसको नाफा ओलीलाई ज्यादा नै हुन्छ । 

तर राजनीति केवल तत्कालीन स्थिरताको खेल होइन; यो समयसँगै बदलिने जनअपेक्षा, संस्थागत विश्वास र नेतृत्व विकासको दीर्घ प्रक्रिया हो । यही बिन्दुमा आएर ओलीको ह्याट्रिक विजय जटिल बन्छ । ओलीको शैली मूलतः व्यक्ति केन्द्रित छ—निर्णय, संवाद र सङ्घर्ष सबै उनको वरिपरि घुम्छ र अहङ्कारमा परिणत हुने गर्छ । यसले पार्टीलाई छोटो अवधिमा वा रूपमा मजबुत देखाए पनि, दीर्घकालमा तथा सारमा संस्थालाई कमजोर बनाउने जोखिम बोकेको हुन्छ ।

एमाले एक समय सामूहिक नेतृत्व, वैचारिक बहस र संगठनात्मक सन्तुलनका लागि चिनिन्थ्यो । मदन भण्डारीपछि विकसित भएको एमाले संस्कृति बहस–केन्द्रित थियो—फरक मत पार्टीभित्रै समेटिन्थ्यो । तर ओलीको ह्याट्रिकसँगै त्यो संस्कृति क्रमशः सङ्कुचित हुँदै गएको देखिन्छ । असहमति आज वैचारिक मतभेदभन्दा ‘निष्ठा परीक्षण’को विषय बन्दै गएको छ । फरक आवाज या त मौन हुन्छ, या किनारामा धकेलिन्छ । यसले पार्टीभित्र वैचारिक नवीकरणको ढोका साँघुरो बनाएको छ ।

ओलीको ह्याट्रिक विजयले सबैभन्दा ठुलो प्रश्न उत्तराधिकारको क्षेत्रमा खडा गरेको छ । एमालेभित्र दोस्रो पुस्ताको नेतृत्व स्पष्ट रूपमा स्थापित हुन सकेको छैन । सम्भावनायुक्त नेताहरू या त ओलीको छायामा सीमित छन्, या त राजनीतिक रूपमा निष्क्रिय बन्न बाध्य छन् । यसले पार्टीलाई वर्तमानमा बलियो देखाए पनि भविष्यमा अनिश्चित बनाएको छ । ओलीपछि एमाले कसको नेतृत्वमा जाने भन्ने प्रश्न अझै अनुत्तरित छ—र यो अनुत्तरित प्रश्न दीर्घकालीन घाटाको संकेत हुन सक्छ ।

सत्ताको राजनीतिमा ओलीको ह्याट्रिक झन् विरोधाभासी देखिन्छ । राष्ट्रियता, स्थिरता र बलियो राज्यको भाष्यले उनले आफ्ना पार्टीभित्रको समर्थक आधारलाई मजबुत बनाएका छन् । तर शासनकालमा संसद, न्यायालय, संवैधानिक निकाय र सञ्चारमाध्यमसँगको टकरावले संस्थागत विश्वासमा दरार पारेको अनुभव पनि छ । यसले एमालेको कट्टर आधारलाई थप संगठित गरे पनि, मध्यमवर्गीय र तटस्थ मतदातालाई दूरी बनाउने जोखिम बढाएको छ । निरन्तर ध्रुवीकरणले चुनाव जित्न सहयोग गर्न सक्छ, तर पार्टीको दीर्घकालीन विस्तार क्षमतामा प्रश्न खडा गर्छ ।

नेपालको गठबन्धन राजनीतिमा पनि ओलीको ह्याट्रिकको प्रभाव स्पष्ट देखिन्छ । उनको तीखो बोली र कठोर रणनीतिले एमाले ‘एक्लै सक्षम’ देखिए पनि, सम्भावित सहयात्रीहरू सधैँ सशङ्कित देखिन्छन् । बहुदलीय व्यवस्थामा दीर्घकालीन सत्ता केवल सङ्ख्याले होइन, सहकार्य र विश्वासले पनि तय हुन्छ । यही सन्दर्भमा ओलीको विजय एमालेका लागि शक्ति प्रदर्शन त हो, तर लचिलोपन गुमाउने जोखिम पनि हो ।

यद्यपि, यो पनि सत्य हो—आजको एमाले ओली बिना कल्पना गर्न कठिन नै छ । उनी पार्टीको सबैभन्दा पहिचानयोग्य अनुहार हुन्, सबैभन्दा प्रभावशाली वक्ता हुन् र संगठनात्मक नियन्त्रणको केन्द्र पनि । उनका समर्थकका लागि ओलीको ह्याट्रिक विजय भनेको पार्टीको अस्तित्व रक्षा हो । यही द्वन्द्व नै एमालेको वर्तमान यथार्थ हो—ओली बलियो हुँदा पार्टी सुरक्षित देखिन्छ, ओली कमजोर हुँदा पार्टी दिशाहीन हुने डर पैदा हुन्छ ।

 यसर्थ, प्रश्न “ओलीको ह्याट्रिक नाफा कि घाटा?” भन्ने होइन; प्रश्न “कति समयसम्म र कस्तो सर्तमा?” भन्ने हो। छोटो अवधिमा ओलीको ह्याट्रिक एमालेलाई नाफा हो  शक्ति सन्तुलनका अर्थमा । तर यदि यही ह्याट्रिकले पार्टीलाई निरन्तर व्यक्तिमा निर्भर बनाइरह्यो, बहस र नेतृत्व विकासलाई रोकिरह्यो भने, त्यो नाफा क्रमशः दीर्घकालीन घाटामा रूपान्तरण हुन सक्छ।

एमाले आज निर्णायक मोडमा उभिएको छ । ओलीको ह्याट्रिकलाई पार्टीले संस्थागत विजयमा रूपान्तरण गर्छ कि व्यक्तिगत सफलतामै सीमित राख्छ—त्यही निर्णयले एमालेको भोलि तय गर्नेछ । यदि ओलीको शक्ति संगठन बलियो बनाउने, नयाँ नेतृत्व तयार गर्ने र वैचारिक बहस पुनर्जीवित गर्ने दिशामा प्रयोग गरियो भने, यो ह्याट्रिक एमालेका लागि ऐतिहासिक नाफा बन्न सक्छ । तर यदि विजय केवल नियन्त्रण, टकराव र व्यक्ति केन्द्रित राजनीतिमै सीमित रह्यो भने, एमाले बलियो देखिए पनि भित्रबाट कमजोर बन्दै जाने खतरा टार्न सकिँदैन ।

राजनीतिमा सबैभन्दा खतरनाक विजय त्यो हो, जसले प्रश्न सोध्नै दिँदैन । एमालेका लागि आजको खुसी ओलीलाई जिताउनु होइन; ओलीको ह्याट्रिकलाई पार्टीको दीर्घकालीन हितमा कसरी रूपान्तरण गर्ने भन्ने हो । ओली 'अहङ्कार' लाई कसरी निस्तेज गरेर देशहितमा लगाउने हो ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केशव पाठक
केशव पाठक
लेखकबाट थप