आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
गण्डकी प्रदेश

फेवा सिमसार पुरेको घटनामा गण्डकीका मन्त्री केसीमाथि कारबाहीको माग

शुक्रबार, ११ पुस २०८२, १७ : ३९
शुक्रबार, ११ पुस २०८२

पोखरा । फेवातालको सिमसार क्षेत्र पुर्न लगाएको आरोप लागेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर केसीलाई कारबाही गर्न सरोकारवालाले माग गरेका छन् । सिमसार क्षेत्र पुरिरहेको अवस्थामा प्रहरीले स्थानीय युवराज खतिवडालाई प्रहरीले पक्राउ गरेको थियो । 

उक्त जग्गा मन्त्री केसीको भएको र उनैको निर्देशनमा पुरिएको आरोप छ । तालको सिमसार  पुर्ने जोसुकै भएपनि कारबाही गर्नुपर्ने फेवाताल संरक्षणसम्बन्धी सरोकारवालाहरुको समन्वयात्मक बैठकले निर्णय गरेको छ । 

‘फेवाताल र सिमसार जोगाउनु हामी सबैको दायित्व हो । कारबाही त सबलाई गर्नुपर्‍यो नि । मन्त्रीलाई पनि त कारबाही गर्नुपर्‍यो नि,’ जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले भने, ‘हाम्रो त्यहाँ बैठकमा गम्भीर हिसाबले कुरा उठ्यो । ताल पुर्न संलग्न जोसुकै भएपनि कारबाही गर्ने हो ।’ 

बैठकमा सहभागी सबैले तालको संरक्षणका लागि राजनीतिक पहुँचबाट कसैलाई उन्मुक्ति दिन नहुने धारणा राखेका थिए । ‘सबैको धारणा कारबाही गर्नुपर्छ भन्ने आयो । सकेसम्म वन ऐन अन्तर्गत कारबाही गर्ने । वनले गरेको छानबिनले त्यो कुरा पुष्टि हुन सकेन भने स्थानीय सरकारबाट राजस्व छली या ठगी सम्बन्धमा मुद्दा दायर गर्ने निर्णय गरिएको छ,’ उनले भने ।

डिभिजन वन कार्यालय कास्कीले सिमसार पुरेको विषयमा आफ्नै हिसाबले अध्ययन गरिरहेको छ । कार्यालयलाई एक साताभित्र रिपोर्ट दिन भनिएको छ । प्राप्त रिपोर्टपछि थप प्रक्रिया अघि बढाइने पौडेलले बताए । प्रहरी र महानगरले सिमसार पुर्ने डोजर पटक-पटक नियन्त्रणमा लिने र जरिवाना लगाएर छोड्ने गरेको छ । कानुनी प्रक्रियाका कारण कारबाहीको प्रष्ट आधार नपाएको मेयर धनराज आचार्यले बताए । यद्यपि, जोसुकै भएपनि कारबाही गर्नुपर्ने उनको अडान छ । 

‘राजनीतिक संरक्षण कसैलाई हुँदैन । मन्त्रीज्यूकै जग्गा रहेछ भने पनि उहाँलाई कारबाही हुनुपर्छ । पुर्नेलाई मात्र होइन, पुर्न दिनेलाई पनि मुद्दा हाल्नुपर्छ,’ उनले भने ।

मन्त्री केसीले उक्त जग्गा आफूले बेचिसकेको दाबी गरेका छन् । ‘त्यो जग्गा मेरो होइन । मैले बेचिसकेको हो । ताल पुर्ने नियतको मान्छे म हुँदा पनि होइन,’ उनले भने । सरोकारवालाहरु केसीले दाबी गरेअनुसार जग्गा नामसारी भइनसकेको बताए । 

नागरिक अभियन्ता रामबहादुर पौडेलले ताल पुर्ने गतिविधिको साक्षी बस्नुपरेको भन्दै कारबाहीको प्रक्रिया सुरु गर्न दबाब दिए । ‘हामी कतिञ्जेलसम्म यो रमिताको साक्षी बस्ने ? फेवातालमाथि अपराध गर्ने जोसुकै होस्, मन्त्री नै किन नहोस्, छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ,’ उनले अगाडि भने, ‘दोषीमाथि कारबाही होस् । कारबाहीको सुरुवात गर्नुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप