शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

समानुपातिक सांसद बन्ने लोहनीको सपना दोस्रो पटक चकनाचुर

सोमबार, १४ पुस २०८२, १६ : ४३
सोमबार, १४ पुस २०८२

सारांश

  • राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी समानुपातिक सांसद बन्ने सपनामा दोस्रो पटक असफल भए।
  • पार्टीको आन्तरिक मतदानमा लोहनीले १४ मत मात्रै प्राप्त गरे, जबकि विपक्षमा १८ मत खसेको थियो।
  • २०६४ यता समानुपातिक सांसद भइसकेका नेतालाई दोहोर्याउने नीति विपरीत लोहनीले बन्दसूचीमा नाम राख्न खोजेका थिए।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको समानुपातिक सांसद बन्ने सपना फेरि एकपटक अधुरो बनेको छ।  समानुपातिक बन्दसूचीमा आफ्नो नाम समावेश गर्नुपर्ने अडान राखेका लोहनी सोमबार भएको पार्टीको आन्तरिक मतदानमा पराजित भएसँगै उनको सपना दोस्रो पटक चकनाचुर भएको हो।

सोमबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठकमा लोहनीलाई सूचीमा राख्ने कि नराख्ने भन्ने विषयमा मतदान भएको थियो। प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार लोहनीको पक्षमा १४ मत मात्र खस्यो भने विपक्षमा १८ मत परेको थियो। बहुमत सदस्यले विपक्षमा मत दिएपछि उनी बन्दसूचीमा नपर्ने निश्चित भएको छ।

राप्रपाले यसपटक ‘जेनजी आन्दोलन’ को मर्मलाई आत्मसात् गर्दै २०६४ सालयता समानुपातिक सांसद भइसकेका नेताहरूलाई नदोहोर्‍याउने र नयाँलाई अवसर दिने  मापदण्ड बनाएको थियो। तर, लोहनीले आफू विगतमा राप्रपाबाट नभई ‘राष्ट्रिय जनशक्ति’ पार्टीबाट सांसद बनेको हुनाले अहिलेको राप्रपाको मापदण्ड आफूमा लागू नहुने जिकिर गरेका थिए। मापदण्ड विपरीत उनी बन्दसूचीमा बस्न खोजेको भन्दै विवाद भएपछि लोकतान्त्रिक विधिबाट टुंगो लगाउन मतदान गरिएको थियो।

डा.लोहनी यसअघि २०७९ असोज १० मा पनि समानुपातिक सूचीको विषयलाई लिएर भएको मतदानमा उनी पराजित भएका थिए। त्यसबेला खस आर्यतर्फको समानुपातिक सूचीको पहिलो नम्बरमा को बस्ने भन्ने विषयमा अर्का पूर्वअध्यक्ष पशुपति शमशेर राणासँग उनको विवाद परेको थियो।

त्यसबेला पनि सहमति नजुटेपछि कार्यसम्पादन समितिमा मतदान हुँदा राणाले बाजी मारेका थिए भने लोहनी दोस्रो नम्बरमा चित्त बुझाउन बाध्य भएका थिए। दोस्रो नम्बरमा भएकै कारण उनी सांसद बन्न सकेका थिएनन् ।  यसपटक भने उनी सूचीबाटै बाहिरिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप