शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनीबाट राष्ट्रिय पुनर्जागरण अभियानको सुरुवात

मङ्गलबार, १५ पुस २०८२, २० : ५०
मङ्गलबार, १५ पुस २०८२

काठमाडौँ । देशलाई राजनीतिक अस्थिरता, निराशा र हिंसाको चपेटाबाट मुक्त गराउने उद्देश्यका साथ युवाहरूले ‘राष्ट्रिय पुनर्जागरण अभियान’ सुरु गरेका छन् ।

शान्तिपूर्ण परिवर्तनको सन्देश लिएर देशका कुना–काप्चामा पुग्ने लक्ष्यसहित अभियानको औपचारिक सुरुवात मंगलबार बुद्धको जन्मभूमि लुम्बिनीबाट गरिएको हो ।

जेनजी आन्दोलनपछिको परिस्थितिमा युवापुस्तालाई हिंसामुक्त, विवेकपूर्ण र शान्तिपूर्ण राजनीतितर्फ आकर्षित गर्न युवाहरूले गठन गरेको ‘द फ्युचर्स लिडरसिप नेटवर्क नेपाल’ को पहलमा अभियान थालनी गरिएको हो।

नकारात्मक र हिंसा उन्मुख राजनीतिक संस्कृतिलाई बदल्दै आशा, सहकार्य र सहअस्तित्वको मार्गतर्फ समाजलाई डोर्‍याउने अभियानको मूल लक्ष्य रहेको आयोजकहरूले बताएका छन् ।

अभियन्ता निगम हुमगाईं, लेखक तथा पत्रकार घनश्याम खड्का, जेनजी अभियन्ता सञ्जीव सापकोटा, युवा नेतृहरू प्रकृति ढकाल र मिनाकुमारी ठाकुर, अभियन्ता इन्द्रजित साफी, जलस्रोतविद् देवेश बेलबासे, अधिवक्ता आयुषा कँडेल, स्थानीय युवा रतन आचार्यलगायत जेनजी तथा जेनवाई पुस्ताका युवाहरूको समूह मंगलबार बिहान लुम्बिनी पुगेर बुद्धको दर्शन गर्दै पुनर्जागरण अभियानमा जुटेको थियो ।

लुम्बिनीपछि टोली बुटवलको मणिग्रामस्थित विश्राम बाटिकामा पुगेर आमसभा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा बोल्दै फ्युचर्स लिडरसिप नेटवर्क नेपालका अध्यक्ष निगम हुमगाईंले देश गम्भीर राजनीतिक सङ्कटमा फसेको अवस्थामा युवाको आक्रोश र निराशालाई दुरुपयोग गरेर पुनः हिंसा भड्काउने खतरा बढ्दै गएको बताए। त्यसैले समाजलाई सचेत गराउँदै पुनर्जागरणको लहर गाउँ–बस्तीमा पुर्‍याउने अभियान सुरु गरिएको उनले स्पष्ट पारे ।

‘हामी देशका हरेक बस्तीमा पुगेर युवालाई निराशाबाट आशातिर र आक्रोशबाट सुझबुझतर्फ डोर्‍याउनेछौँ,’ हुमगाईंले भने, ‘तीन करोड नेपालीले देश बनाउने साझा सङ्कल्प गरेर आपसी तिक्तता मेट्नु आजको आवश्यकता हो ।’

उनले राज्यले युवालाई उद्यमशीलता र रोजगारीको अवसर दिनु पर्नेमा जोड दिँदै विदेशमा रहेका नेपालीको योगदान र बाध्यतालाई बेवास्ता गर्न नहुने बताए। ‘रेमिट्यान्सले अर्थतन्त्र धानेका नेपाली विभिन्न कारणले देश छाड्न बाध्य छन्,’ उनले भने, ‘त्यसैले उनीहरूलाई मतदानको अधिकार दिनुका साथै राज्यले उनीहरूको पीडा सम्बोधन गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै माइण्डफुल लिभिङ अभियानका प्रवर्तक तथा लेखक–पत्रकार घनश्याम खड्काले हिंसाले सत्ता परिवर्तन गर्न सक्ला, तर संस्कार परिवर्तन गर्न नसक्ने धारणा राखे। शान्ति र विकासका लागि पुनर्जागरण नै एक मात्र विकल्प भएको उनले बताए ।

‘हामीले व्यवस्था बदल्यौँ, तर भ्रष्टाचार र कुशासन बदल्न सकेनौँ,’ खड्काले भने, ‘व्यक्ति बदलिए पनि प्रवृत्ति उस्तै रहँदा अवस्था सुध्रिँदैन। त्यसैले व्यवस्था बदल्नुभन्दा पहिले मनको अवस्था बदल्न जरुरी छ।’

राष्ट्रिय स्तरमै नकारात्मक टिप्पणी र निराशाको प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उनले चेतावनी दिए, ‘तीन करोड नेपालीले निराशाको कोरस गाइरहे देश फेरि जल्छ। त्यसो हुन नदिन जीवनका उज्याला पक्ष र समाजका सकारात्मक सम्भावनालाई हेर्नु आवश्यक छ ।’

भदौ २४ को घटनामा दाहिने हात गुमाएका जेनजी अभियन्ता सञ्जीव सापकोटाले देश परिवर्तनको यात्रामा आफू राष्ट्रिय पुनर्जागरण अभियानमा जोडिएको बताए। ‘देश बदल्ने क्रममा मैले एउटा हात गुमाएँ,’ उनले भावुक हुँदै भने, ‘अब मलाई तपाईँहरूको अर्को हात चाहिएको छ, त्यो भनेको सहकार्य र सहअस्तित्व हो ।’

त्यस्तै, जेनजी नेतृ प्रकृति ढकालले देशलाई सङ्कटबाट जोगाउन हिंसामुक्त र विवेकपूर्ण सहकार्य अपरिहार्य रहेको बताइन्। ‘आन्दोलन सकियो भन्ने भ्रम हुन सक्छ,’ उनले भनिन्, ‘तर आन्दोलन जारी छ। चुनाव पनि आन्दोलनकै एउटा रूप हो, जसमा सही पात्र छान्नुपर्छ, र यो आन्दोलन शान्तिपूर्ण नै हुनुपर्छ ।’

जलस्रोतविद् इन्जिनियर देवेश बेलबासेले राजनीति गर्नेहरू मात्र होइन, आफ्नो क्षेत्रमा सृजनशील र कर्मशील सबै व्यक्ति नेता भएको धारणा राखे। ‘हामी केही गर्न सक्दैनौँ भन्ने हारको मानसिकता तोड्नै पर्छ,’ उनले भने, ‘यही पुनर्जागरणको आत्मा हो ।’

अभियन्ता इन्द्रजित साफीले हिमाल, पहाड र तराईका बासिन्दालाई भावना र विचारको एउटै मालामा गाँसिन आग्रह गर्दै समान अस्तित्व र सहकार्यमा जोड दिए। ‘शीर बिना पेट बाँच्दैन र पेट बिना शीर,’ उनले भने, ‘त्यसैले सबै भूगोल र समुदायको बराबरी सम्मान आवश्यक छ ।’

जेनजी नेतृ मिनाकुमारी ठाकुरले महिला सशक्तीकरण र लैङ्गिक समानतालाई पुनर्जागरण अभियानको अभिन्न अङ्गका रूपमा अघि सारिन्। ‘हामी पुरुषको इज्जतको ठेकेदार होइनौँ, आफ्नै अधिकारका हकदार हौँ,’ उनले भनिन्, ‘हिमाल, पहाड र तराई सबै ठाउँमा महिला–पुरुष बराबरी स्थापित गर्नु नै पुनर्जागरणको लक्ष्य हो ।’

कार्यक्रममा स्थानीय युवा सुरज पोखरेल, शंकर भुसाललगायतले पनि अभियानको महत्वबारे धारणा राखेका थिए । ‘नेपाल– गौरवपूर्ण इतिहास, वर्तमान र भविष्य’ विषयमा केन्द्रित यो अभियान प्रारम्भमा तराई र त्यसपछि पहाड तथा हिमाली जिल्लाहरूमा विस्तार हुँदै जाने फ्युचर्स लिडरसिप नेटवर्क नेपालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप