शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
राजनीति

पुस्तान्तरणको बहस : जेनजी आन्दोलनको मर्म कि पुरानै राजनीतिक अभ्यास ?

सोमबार, २१ पुस २०८२, २० : १०
सोमबार, २१ पुस २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर २ बाट सहसंयोजक माधवकुमार नेपालसहित चार जनाको नाम सिफारिस गरेसँगै यो क्षेत्रको राजनीति पुनः चर्चामा आएको छ ।

जिल्ला कार्यदलले सिफारिस गरेका उम्मेदवारहरूमा माधवकुमार नेपाल, देव चौलागाईं, मधु केसी र नितेश पौडेल रहेका छन्।

काठमाडौँ–२ अघिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित भएको क्षेत्र हो, जसलाई अहिले जेनजी आन्दोलनको केन्द्रबिन्दु मानिन्छ। यही आन्दोलनको दबाबबाट गठन भएको नागरिक सरकारले निर्वाचन गराइरहेको सन्दर्भमा यहाँको उम्मेदवार चयनलाई सामान्य राजनीतिक प्रक्रियाभन्दा फरक दृष्टिले हेरिएको छ।

जेनजी आन्दोलनको मूल मर्म पुस्तान्तरण, सुशासन र नातावाद–कृपावादको अन्त्य हो। यही मर्मलाई आत्मसात् नगर्ने हो भने आन्दोलनको नैतिक वैधता कमजोर हुने खतरा देखिन्छ। यस्तो अवस्थामा काठमाडौँ–२ बाट कसलाई उम्मेदवार बनाइन्छ भन्ने प्रश्न केवल पार्टीको आन्तरिक विषय नभई सार्वजनिक सरोकारको विषय बनेको छ ।

यो क्षेत्रमा ‘हेभिवेट’ का रूपमा माधवकुमार नेपाल र देव चौलागाईं देखिएका छन्। तर माधव नेपाल आफ्नै पुरानो निर्वाचन क्षेत्र रौतहटतर्फ जान सक्ने सम्भावना पनि उत्तिकै चर्चामा छ। अर्कोतर्फ, २०७९ को निर्वाचनमा पनि काठमाडौँ–२ बाट सिफारिस भएका देव चौलागाईं अन्तिम समयमा पूर्वसभामुख ओनसरी घर्तीको प्रवेशपछि पछि हट्न बाध्य भएका थिए ।

देव चौलागाईं यो क्षेत्रमा सामाजिक सेवा, युवामुखी गतिविधि र प्रत्यक्ष जनसम्पर्कका कारण लोकप्रिय नेता का रूपमा चिनिन्छन्। विशेषगरी युवाहरू, स्वतन्त्र सोच भएका मतदाता र जेनजी आन्दोलनबाट प्रभावित नागरिकहरूबिच उनको पकड बलियो देखिन्छ। उनी कुनै शक्तिकेन्द्रको छायाँ होइन, आफ्नै सामाजिक काम र जनविश्वासको बलमा उभिएको पात्रका रूपमा हेरिन्छन् ।

यसैबिच, सिफारिस सूचीमा परेका नितेश पौडेल माधवकुमार नेपालका पूर्व स्वकीय सचिव तथा भान्जा हुन्। जेनजी आन्दोलन नातावाद र कृपावादको विरुद्ध उठेको आन्दोलन भएको हुँदा, पुस्तान्तरणको नाममा पुरानै राजनीतिक परिवारवाद दोहोर्‍याउने प्रयास भयो भने त्यसलाई जनताले स्वीकार गर्ने सम्भावना न्यून देखिन्छ ।

विशेष गरी काठमाडौँ–२ जस्तो सचेत, प्रश्न गर्ने र परिवर्तन खोज्ने निर्वाचन क्षेत्रमा पुस्तान्तरण बिना नेतृत्व थोपरियो भने त्यसको प्रतिघात राजनीतिक दलले नै व्यहोर्नुपर्ने सङ्केत देखिन्छ। जेनजी आन्दोलनको भावनालाई सम्मान गर्ने हो भने, उम्मेदवार चयनमा पनि नयाँ पुस्ताको विश्वास जित्न सक्ने, स्वतन्त्र छवि भएका र नातावादमुक्त पात्रलाई अघि सार्नुपर्ने आवाज बलियो हुँदै गएको छ ।

त्यस अर्थमा, काठमाडौँ–२ मा देव चौलागाईंको उम्मेदवारी जेनजी आन्दोलनको मर्मसँग बढी मेल खाने विकल्प का रूपमा हेरिन थालेको छ। अब प्रश्न पार्टी नेतृत्वतर्फ सोझिएको छ ।

के जेनजी आन्दोलनको भावना केवल नारामा सीमित रहनेछ, कि उम्मेदवार चयनमै प्रतिबिम्बित हुनेछ ? काठमाडौँ–२ को चुनावले यही प्रश्नको जवाफ दिने सङ्केत गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप