हेटौँडाको सडक विस्तार क्षेत्रका जोखिमपूर्ण घरमा व्यापार गर्न रोक
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तार गरिएका जोखिम पूर्ण घरहरूमा व्यापार व्यवसाय गर्न रोक लगाएको छ ।
प्रशासन कार्यालयले हेटौँडा उपमहानगरपालिका अन्तर्गत सडक विस्तारका क्रममा भत्काइएका र जोखिमपूर्ण अवस्थामा रहेका घर टहराहरूमा व्यापार व्यवसाय सञ्चालन नगर्न निर्देशन दिएको हो ।
मंगलबार एक जरुरी सूचना जारी गर्दै प्रशासनले सडक सीमाभित्र परेर भत्काइएका संरचनाहरूमा अझै पनि व्यापार व्यवसाय सञ्चालन भइरहेको पाइएकोले तत्काल रोक्न निर्देशन दिएको हो । हाल सर्वोच्च अदालतको आदेशका कारण सडक विस्तारको कार्य स्थगित भए पनि भत्काइएका संरचनाहरू व्यवस्थापन गर्ने क्रममा कतिपय व्यवसायीले जोखिमपूर्ण घरमै व्यापार गरिरहेको देखिएकाले प्रशासनले सो कार्य रोक्न निर्देशन गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनामा भनिएको छ, ‘भत्किएका तथा जोखिमपूर्ण संरचनाभित्र कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन नगर्न र नगराउनु हुन अनुरोध छ ।’
यदि कसैले चेतावनीको बेवास्ता गरी व्यवसाय सञ्चालन गरेमा र त्यसबाट कुनै पनि किसिमको विपद्जन्य घटना वा दुर्घटना घटेमा त्यसको पूर्ण जिम्मेवार घरधनी र सम्बन्धित व्यवसायी स्वयं हुने प्रशासनको सूचनामा उल्लेख छ । साथै, संरचना व्यवस्थापनका क्रममा कामदारहरूको सुरक्षालाई उच्च प्राथमिकता दिन समेत सम्बन्धित सबैमा आग्रह गरिएको छ ।
सडक डिभिजन हेटौँडाको सूचना बमोजिम रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडक विस्तारका क्रममा गत मंसिर २० गते घर टहराहरू भत्काइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण