भोजपुर । नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर पछिल्लो समय रुद्राक्ष खेतीको प्रमुख केन्द्रका रूपमा उदाएको छ। सुन्तला र अलैँचीका लागि चिनिने यो जिल्ला अहिले रुद्राक्षको व्यावसायिक विस्तारसँगै आर्थिक समृद्धिको नयाँ मार्गमा अघि बढेको हो।

धार्मिक र सांस्कृतिक महत्त्व बोकेको रुद्राक्ष यहाँका किसानहरूको आम्दानीको मुख्य स्रोत बनेको छ। विशेष गरी षडानन्द नगरपालिका रुद्राक्ष उत्पादनको हिसाबले ‘नेपालको राजधानी’ नै मानिन्छ।

नगर प्रमुख सुरेन्द्र कुमार उदासका अनुसार यस नगरपालिकामा मात्रै करिब एक लाख रुद्राक्षका बिरुवा छन्। यहाँबाट वार्षिक करिब एक अर्ब रुपैयाँ बराबरको रुद्राक्षको कारोबार हुने गरेको छ। भोजपुरमा एक मुखेदेखि २९ मुखेसम्मका रुद्राक्ष उत्पादन हुने गरेका छन्, जसको मूल्य मुखका आधारमा निर्धारण हुन्छ। यहाँका एक किसानले २१ मुखे रुद्राक्ष ७४ लाख रुपैयाँसम्ममा व्यापारीलाई बिक्री गरेर रेकर्ड समेत बनाएका छन्।

प्राकृतिक रूपमा रुद्राक्षका लागि उपयुक्त हावापानी र माटो रहेको भोजपुरका साल्पासिलिछो, षडानन्द, रामप्रसाद राई र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न वडाहरूमा अहिले व्यावसायिक बगैँचाहरू विस्तार भइरहेका छन्। पहिले जङ्गलमा प्राकृतिक रूपमा मात्र पाइने रुद्राक्षलाई अहिले किसानहरूले वर्षौंदेखि व्यावसायिक खेतीको रूपमा अपनाएका हुन्।

रुद्राक्ष खेती दीर्घकालीन हुने र एकपटक उत्पादन सुरु भएपछि वर्षौँसम्म आम्दानी दिने भएकाले पनि यसतर्फ आकर्षण बढेको स्थानीय किसानहरू बताउँछन्।

भोजपुरमा उत्पादित रुद्राक्ष धार्मिक प्रयोजनका साथै सजावट र शृङ्गारका लागि समेत प्रयोग हुने गरेको छ। यहाँको रुद्राक्षबाट माला, ब्रासलेट, कन्ठी, झुम्का, औँठी र पूजा सामग्रीहरू तयार पारिन्छन्।

यहाँ उत्पादित सामग्रीहरू नेपालका प्रमुख सहरहरू काठमाडौँ, धरान र विराटनगर मात्र नभई छिमेकी राष्ट्र भारत र चीनमा समेत ठुलो परिमाणमा निर्यात हुने गरेका छन्।













तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया