मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

सबै युवाले राजनीतिमा हस्तक्षेप बढाऔँ

आइतबार, २७ पुस २०८२, ११ : ५६
आइतबार, २७ पुस २०८२

सारांश

  • नेपालको राजनीतिक परिदृश्यमा युवा पुस्ताको सक्रियता बढेको छ, जसले निर्वाचनमा प्रभाव पारेको छ।
  • युवाहरूले स्थानीय निर्वाचनमा उत्साहजनक सहभागिता जनाएका छन्, तर संसदीय निर्वाचनमा अझै चुनौती देखिएको छ।
  • लेखमा युवा सहभागिताको महत्व र यसले लोकतन्त्रलाई कसरी बलियो बनाउँछ भन्ने बारे चर्चा गरिएको छ।

नेपालको राजनीतिक परिदृश्यमा नवयुवा (जेनजी) पुस्ताको विद्रोह पश्चात् मुलुक अहिले निर्वाचनमा होमिएको छ । नेपाली जनताको पटक–पटकको आन्दोलन र बलिदानी खेर जान नदिन नेपाली राजनीतिको पुस्तान्तरण र रूपान्तरण जरुरी छ । विगतका आन्दोलनको अग्रमोर्चामा रहेका युवा राजनीतिक लाभबाट भने सधैँ वञ्चित भए । यसपटकको जेनजी आन्दोलनमार्फत युवाहरू आफै ‘किङ मेकर’ बनेका छन् ।

आफ्नो अधिकारका लागि आन्दोलन गरी २४ घण्टामै सत्ता पलट गरिदिए । त्यति मात्र होइन, विभिन्न सिरामा विभक्त वैकल्पिक राजनीतिक दल र शक्तिलाई एक ठाउँमा ल्याउन समेत मुख्य भूमिका खेले । देशको आवश्यकता र जनचाहनालाई पूरा गर्न कुनै कसर बाँकी नराखेर लागि परेका छन् उनीहरू । यसैसन्दर्भमा नेपाली राजनीतिमा युवाले खेलेको भूमिका र युवा सहभागिताको विषयलाई यस आलेखमा चर्चा गर्न खोजिएको छ ।

स्थानीय निर्वाचनमा बहुसङ्ख्यक युवा उम्मेदवारका रूपमा सामेल भए । २१ देखि ४० वर्षसम्मको उमेर समूहलाई आधार मान्दा झण्डै ४१ प्रतिशत युवा निर्वाचित भए । त्यसमध्ये तीन सय ८७ जना स्वतन्त्र युवाले जित हासिल गरे ।

काठमाडौँ महानगरपालिका, धरान उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकाको नेतृत्व स्वतन्त्र व्यक्तिले गरिरहेका छन् । काठमाडौँमा बालेन र धरानमा हर्कको शानदार जितले नेपाली युवालाई राजनीतिमा उत्साहित गराएको छ । परम्परागत राजनीतिक दल र नेतृत्वप्रति आम नागरिकको निराशालाई आशामा बदल्न युवाको उपस्थिति आवश्यक छ ।

राजनीतिमा युवाहरूको हस्तक्षेपले लोकतन्त्रलाई विश्वव्यापी रूपमै बलियो बनाउन मद्दत पुर्‍याउँछ ।

दलीय सिन्डिकेटलाई तोड्न स्वतन्त्र युवा र दलमा रहेका सचेत युवाले हस्तक्षेप गर्ने अहिले उपयुक्त समय हो । युवा, राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तन तथा रूपान्तरणका अग्रदूत वा परिवर्तनका सम्वाहक शक्ति हुन् ।

राजनीतिमा युवाहरूको हस्तक्षेपले लोकतन्त्रलाई विश्वव्यापी रूपमै बलियो बनाउन मद्दत पुर्‍याउँछ । २० देखि ४४ वर्ष उमेरका युवा मतदाताको तथ्याङ्क ५७ प्रतिशत छ । तर, संसद्मा युवा सहभागिता भने निकै कम छ । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा ४० वर्षमुनिका २८ युवा र ६० वर्ष माथिका ८८ ज्येष्ठ नागरिक छन् ।

प्रत्यक्षमा भन्दा समानुपातिक प्रणालीबाट युवा संसद्मा पुग्न सफल भए । रोचक के छ भने ७१.४२ प्रतिशत युवा समानुपातिकबाट आएका हुन् भने ७१.५९ प्रतिशत ज्येष्ठ नागरिक प्रत्यक्ष निर्वाचन जितेर संसद् पुगेका हुन् । यस तथ्याङ्कले अझै पनि संसदीय निर्वाचनमा नवयुवाहरूलाई निर्वाचन जितेर आउन गाह्रो देखिन्छ । निर्वाचनमा हुने अस्वस्थ प्रतिस्पर्धा एवं पैसा र पावरको चलखेलले नवयुवाहरूलाई निराश बनाएको छ ।

तर अहिले केही आशाको सञ्चार भएको छ । जेनजी आन्दोलनको जगमा बनेको नागरिक सरकारले तोकिएको फागुन २१ मा निर्वाचन सम्पन्न गराउन सकेमा बहुसङ्ख्यक युवा पुस्ता संसद्मा हुनेछन् । पुराना राजनीतिक दलहरूको असफलता र निराशाले गर्दा नयाँ राजनीतिक शक्तिप्रतिको आशाले युवापुस्तामा राजनीतिप्रतिको जागरण फैलाएको छ ।

संसारको सबभन्दा उदाहरणीय नमुना इक्वेडर, फिनल्यान्ड, नर्वे र स्विडेनमा ३० वर्ष मुनिका १० प्रतिशत युवाले संसद्मा प्रतिनिधित्व गर्छन् । विकासका विभिन्न मुद्दाहरूमा युवाहरूको विशेष प्रभाव र भूमिका हुन्छ ।

युवाहरूलाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशीलता र सहभागिताले राजनीतिलाई नयाँ आयाम दिन सक्छ । युवाहरूको सक्रियतामा सामाजिक आन्दोलनले गति लिन सक्छ । नेपालमा सामाजिक मुद्दाहरूमा स्वतन्त्र रूपमा युवाहरूले सडक सङ्घर्ष गर्दै आएका छन् । ‘इनफ इज इनफ’ देखि ‘अकुपाई बालुवाटार’ सम्म थुप्रै अभियानहरूले सडकमार्फत सरकारलाई दबाब दिए तर जेनजी आन्दोलनले सरकार नै ढालिदियो ।

राजनीतिमा युवा सहभागिताको बहसहरू परम्परागत छ । त्यसैले लैङ्गिक समानता, युवाहरूको जनसङ्ख्या अनुसारको उपस्थितिले मात्र सबै नागरिकको हित गर्छ । युवाहरूलाई राजनीतिमा संलग्न गर्दा सङ्ख्यात्मक तथा गुणात्मक दुवै हिसाबले विश्वलाई नै लाभ पुग्छ । जब युवा राजनीतिमा आउँदैनन् तबसम्म युवा नेतृत्व स्थापित हुँदैन । चुनाव लडेर संसद्मा नपुगेसम्म युवाको मुद्दा कसैले सुन्दैनन् ।

एक थुकी सुकी सय थुकी नदी भने जस्तो सबैको सामूहिक प्रयत्न भयो भने बिग्रेको राजनीतिलाई सही ठाउँमा ल्याउन सकिन्छ ।

त्यसैले जसको सवाल उसैको नेतृत्व हुनुपर्छ । संविधान र कानुनमा त धेरै कुरा लेखिएका छन् । व्यवहारमा हेर्ने हो भने कार्यान्वयन फितलो छ । युवा, महिला, तेस्रो लिङ्गी, आदिवासी जनजाति, मधेसी, दलित, अल्पसङ्ख्यक नागरिकहरूको हक अधिकार सुनिश्चितताका लागि सामूहिक आवाज बुलन्द गर्नु जरुरी छ ।

एक थुकी सुकी सय थुकी नदी भने जस्तो सबैको सामूहिक प्रयत्न भयो भने बिग्रेको राजनीतिलाई सही ठाउँमा ल्याउन सकिन्छ । राजनीतिक दलहरूलाई जनताप्रति उत्तरदायी बनाउन दुईवटा विधि उपयुक्त हुन सक्छ । एक दलहरूभित्र रहेका युवा नेताले पार्टीभित्र हस्तक्षेप गर्ने अर्को क्षमता र योग्यता भएका युवाले उम्मेदवारी दिई बाहिरबाट हस्तक्षेप गर्ने ।

युवाहरूको हस्तक्षेपले मात्र पुरानो पुस्ता राजनीतिबाट अवकाश लिन सक्छन् । मुलुकको नीति निर्माण हुने संसद्मा युवा उपस्थितिले राजनीतिलाई शुद्धीकरण गर्न योगदान गर्छ । राजनीतिक दलले पनि युवालाई अवसर दिन कन्जुस्याइँ गर्नुहुँदैन । युवालाई राजनीतिमार्फत देश विकासमा सहभागी गराउन सके मात्र विकास र समृद्धि सम्भव छ । र, यही सुवर्ण अवसर हो ।

युवा नेतृत्वको विषय राजनीतिक पार्टीहरूमा उनीहरूको सहभागिता र नेतृत्व कस्तो छ, त्यसमा निर्भर गर्छ । विश्व इतिहासलाई हेर्ने हो भने युगान्डाकी सांसद प्रोस्कोभिया ओरोमाइट सन् २०१३ मा सांसद निर्वाचित हुँदा जम्मा १९ वर्षकी थिइन् । उनी अफ्रिका मात्र नभई संसारकै कान्छी सांसद बनिन् । त्यसैगरी ब्रिटिस स्कटमूलकी म्हाहारी ब्ल्याक सन् २०१५ मा सांसद बन्दा २० वर्षकी थिइन् । न्युजिल्यान्डमा लेबर पार्टीबाट सन् २००८ मा २८ वर्षीया ज्यासिन्डा आर्डन ३७ वर्षको उमेरमा पार्टी प्रमुख हुँदै सन् २०१७ अगस्टमा न्युजिल्यान्डको तेस्रो महिला तथा न्युजिल्यान्डको इतिहासमा सबभन्दा कम उमेरकी युवा महिला प्रधानमन्त्री भइन् ।

त्यस्तै फ्रान्समा ३९ वर्षका युवा नेता इम्यानुएल म्याक्रोन पहिलो पटक चुनाव जितेर राष्ट्रपति भए । क्यानडाका जस्टिन ट्रुडो ४४ वर्षको उमेरमा प्रधानमन्त्री बने । फिनल्यान्डमा सनाना मरिन ३४ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित भइन् भने आफ्नो क्याबिनेटमा ३५ वर्षमुनिका पाँच जना मन्त्री पनि नियुक्त गरिन् । बेल्जियममा पनि ४२ वर्षे चार्ल्स मिचेल प्रधानमन्त्री भई देशको नेतृत्व गरे । विश्वको सबैभन्दा कान्छा राष्ट्रप्रमुख भनेर चिनिने अस्ट्रियाका चान्सलर ३१ वर्षका हुन् । विश्व राजनीतिमा रकस्टार युवानेता जस्टिन, चार्ली, इमानुअल, ज्यासिन्डा र सनाना जस्ता युवा नेताको खाँचो छ ।

नेपालको राजनीतिक इतिहासलाई नियाल्दा जङ्गबहादुर राणाले ३१ वर्षको उमेरमा मुलुकको प्रधानमन्त्री भई शासनको बागडोर सम्हालेका थिए भने कांग्रेसका संस्थापक नेता बीपी कोइराला ४५ वर्षको उमेरमै प्रधानमन्त्री भएका थिए ।

विकास र समृद्धिमा युवा जनसङ्ख्या महत्त्वपूर्ण मानिन्छ । अहिले नेपालमा युवा जनसङ्ख्या लाभांशको चरणमा छ । यो देशका लागि निकै राम्रो अवसर हो तर विडम्बना नेपाली युवा विदेशी भूमिमा श्रम र पसिना खर्चिरहेका छन् । जुन देशले युवालाई आफ्नो मुलुकको विकासमा उपयोग गर्छ त्यस देशले आर्थिक र सामाजिक विकासमा फड्को मार्छ । अमेरिका, क्यानडा, नर्वे, फिनल्यान्ड, डेनमार्क, न्युजिल्यान्ड लगायत देशले युवाहरूलाई विकासका गतिविधिमा सहभागी गराई समृद्धिमा पुगेका हुन् ।

नेपालको राजनीतिक इतिहासलाई नियाल्दा जङ्गबहादुर राणाले ३१ वर्षको उमेरमा मुलुकको प्रधानमन्त्री भई शासनको बागडोर सम्हालेका थिए भने कांग्रेसका संस्थापक नेता बीपी कोइराला ४५ वर्षको उमेरमै प्रधानमन्त्री भएका थिए । वर्तमान पार्टी सभापति शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा ४८ वर्षका थिए । उनी पाँचौँ पटक देशको प्रधानमन्त्री भएर पनि पार्टी नेतृत्व छोड्ने मनस्थितिमा छैनन् ।

आजीवन नेतृत्वमै रहने हो भने युवाले कहिले अवसर पाउलान् ? कांग्रेस पार्टीमा दोस्रो पुस्ताका नेता समेत ४५ वर्ष माथिका छन् । तरुण दल र नेपाल विद्यार्थी सङ्घको नेतृत्वको हालत पनि त्यस्तै छ । नेकपा एमालेका मदन भण्डारी ३८ वर्षको उमेरमै पार्टी महासचिव बनेका थिए भने माधवकुमार नेपाल ४० वर्षमा पार्टी महासचिव भइसकेका थिए । एमाले अध्यक्ष के.पी. शर्मा ओली युवा उमेरमै पार्टीको महत्त्वपूर्ण पदमा पुगिसकेका थिए । दश बर्से जनयुद्धको नेतृत्व गरी राष्ट्रिय राजनीतिको मूलधारमा आएका प्रचण्ड ३५ वर्षमा पार्टीको सर्वोच्च नेता भइसकेका थिए ।

इतिहासदेखि वर्तमान कालखण्डमा नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ । युवा अवस्थामा पार्टी र सरकारको नेतृत्व गरी सत्ता र शक्तिमा पुगेपछि बाँचुन्जेल पदमा रहिरहन खोज्छन् उनीहरू । यसले नयाँ पुस्ताका लागि बाटो जाम गराइराखेको छ । बादलमा चाँदीको घेरा भनेजस्तै केही आशाका सङ्केत पनि छन् । स्थानीय तह, संसदीय निर्वाचनमार्फत युवाहरू राजनीतिमा सक्रिय रूपमा देखापरेका छन् ।

राजनीतिमा युवा सहभागिता र नेतृत्व फरक कुरा हो । अहिले नेपालको राजनीतिमा आलोचनात्मक चेत भएका युवा जमात निकै कम छ । देशमा नायक होइन कार्यकर्ता मात्र जन्मिए । राजनीतिक पार्टीहरूमा हस्तक्षेपकारी भूमिका खेल्ने युवा पङ्क्ति छैन । युवा नेताहरू पनि बुढा भएपछि आफ्नो पालो कहिले आउला भनेर कुरेर बसेका छन् । राजनीतिमा रचनात्मक बहस शून्यप्रायः छ । राजनीतिमा एक किसिमको सिन्डिकेट हाबी छ ।

क्षमता भन्दा उमेर र पार्टीमा गरिएको योगदानलाई आधार मानेर पदको बाँडफाँट गरिएको छ । झन् पछिल्लो चरणमा त राजनीति व्यापारीहरूको हातमा पुगेको छ । नेपालमा मौलाउँदै गरेको राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणले स्वच्छ छवि भएको व्यक्ति भेट्न गाह्रो छ ।

हामी कहाँ तीन किसिमको युवा जमात छ । पहिलो, दैनिक गुजारा र परिवारको भरणपोषणमै व्यस्त हुने । दोस्रो, अवसरको खोजीमा हिँडेको मध्यमार्गी युवा । तेस्रो, विभिन्न पेसा व्यवसायमा भएका उच्च वर्गीय युवा । नेपाल बनाउने नेपालीले नै हो । त्यो पनि युवाले नै । हाम्रो सोचाइ र व्यवहारमा परिवर्तन नआएसम्म राजनीतिक परिवर्तन कोरा कल्पनामै सीमित हुन सक्छ । राजनीतिक दलमा सहभागी युवाहरू पनि वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्न सकेका छैनन् । युवाहरूले विकल्प प्रस्तुत गर्न नसक्दा हजुरबुवा उमेरका नेताबाट शासित हुनु परेको छ ।

त्यसैले लोकतन्त्रलाई संस्थागत गर्न राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन जरुरी छ । सहभागितामूलक निर्णय प्रक्रिया, आर्थिक पारदर्शिता, जवाफदेहिता, नागरिकप्रति उत्तरदायी शासन व्यवस्था लोकतन्त्रका आधारस्तम्भ हुन् । विधिको शासन, लोककल्याणकारी राज्य व्यवस्था, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकताहरूमा जिम्मेवार युवाहरूले नै राज्यलाई दबाब दिने हो ।

राजनीतिलाई सही दिशानिर्देश गर्न दूरदृष्टि, सक्षम नेतृत्व, कुशल व्यवस्थापकको आवश्यकता पर्दछ । नेपालमा नीतिको भन्दा नेतृत्वको समस्या छ, नेतृत्वको अकर्मण्यता, दूरदृष्टि र स्पष्ट भिजन नहुँदा देश विकास हुन सकेन ।

समाजका सबै वर्ग, क्षेत्रका नागरिकहरूलाई राज्यका हरेक तहमा समान सहभागिता सुनिश्चित गर्दै स्रोत साधनको समुचित वितरण गर्न सके न्यायपूर्ण समाजको निर्माण हुन्छ । मुलुकको समृद्धिका लागि राज्यको नीति निर्माण र नेतृत्व तहमा युवाको समान र सार्थक सहभागिता आजको आवश्यकता हो ।

युवाहरूको सहभागिताले राजनीतिलाई सही दिशानिर्देश गर्न टेवा पुर्‍याउँछ । युवा भविष्यका कर्णधार मात्र होइनन्, वर्तमानका साझेदार पनि हुन् भन्ने हेक्का राख्नुपर्छ । राजनीतिक दलले युवाहरूलाई परिचालन मात्र होइन उनीहरूलाई उचित अवसर र जिम्मेवारी समेत दिनुपर्छ ।

जनसङ्ख्याको आधारमा राज्यका प्रत्येक तहमा युवाहरूको प्रतिनिधित्व र पहुँच सुनिश्चितका लागि खबरदारी आवश्यक छ । ‘हाम्रो मान्छे’ भन्दा ‘राम्रो मान्छे’ ले अवसर पाउने व्यवस्था मिलाउनुपर्छ । नेतृत्व राम्रो भए मात्र नीति राम्रो बन्छ र कार्यान्वयन पनि सहज हुन्छ ।

राजनीतिलाई सही दिशानिर्देश गर्न दूरदृष्टि, सक्षम नेतृत्व, कुशल व्यवस्थापकको आवश्यकता पर्दछ । नेपालमा नीतिको भन्दा नेतृत्वको समस्या छ, नेतृत्वको अकर्मण्यता, दूरदृष्टि र स्पष्ट भिजन नहुँदा देश विकास हुन सकेन ।

युवालाई विभिन्न वाद र विचारमा विभक्त गरी नेताहरूले आफ्नो राजनीतिक फाइदाका लागि उपयोग गरिरहे । हामी युवा पनि परिचालित भइरह्यौँ । आन्दोलन गर्‍यौँ र त्यसको प्रतिफल कहिल्यै पाएनौँ ।

देशमा गणतन्त्र आयो, शासन परिवर्तन त भयो तर आम नागरिकको अवस्था परिवर्तन भएन । नेताहरूको जीवनशैलीमा परिवर्तन आयो आलिसान घर बङ्गला भए तर युवाहरू जीवन धान्नैका लागि विदेशिनुपर्‍यो । आम सर्वसाधारण नागरिकले राज्यको र न्यायपूर्ण शासन व्यवस्थाको अनुभूत गर्न पाएनन् । त्यसैले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न युवाले नेतृत्व गर्नुपर्छ ।

(बराल नेपाल युवा संस्था सञ्जाल (आयोन) की अध्यक्ष हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजाता बराल
सुजाता बराल
लेखकबाट थप