शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

झापा–५ मा बालेन आए ओलीको मतान्तर बढ्छ : अध्यक्ष गिरी

मङ्गलबार, २९ पुस २०८२, १० : ५२
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • एमाले झापाका अध्यक्ष प्रेम गिरीले बालेन शाह झापाबाट चुनाव लडे पनि केपी ओलीले जित्ने दाबी गरे।
  • गिरीले बालेनलाई रास्वपासँग अदृश्य शक्तिले मिलाएको र रास्वपाले बालेनको राजनीति सिध्याउने रणनीति बनाएको आरोप लगाए।
  • अघिल्लो निर्वाचनमा ओलीले कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गरेका थिए।

झापा । नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले झापा निर्वाचन क्षेत्र नम्बर–५ मा चुनाव लड्न बालेन शाह आए  केपी शर्मा ओली अझ धेरै मत ल्याएर चुनाव जित्ने दाबी गरेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह झापाबाट निर्वाचन लड्ने चर्चा भइरहेका बेला अध्यक्ष गिरीले यस्तो धारणा व्यक्त गरेका हुन् । 

एमाले पार्टी अध्यक्ष ओलीको नाम झापा– ५ बाट एकल सिफारिस गरेको छ । मंगलबार स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले झापा– ५ मा बालेन आएपनि एमालेलाई केही फरक नपर्ने पनि बताए । ‘पपुलिष्टकै आधारमा भूगोलमा आएर निर्वाचन जित्न सजिलो छैन । हामीले जनताको काम गरेका छौँ’, जनताको काम गर्नेलाई मतदाताले मत दिन्छन् । 

गिरीले बालेन झापाबाट उम्मेदवार बन्नेमा आफूलाई विश्वास नलागेको भन्दै आइहाले पनि फरक नपर्ने बताएका हुन् ।  अध्यक्ष गिरीले कुलमान घिसिङ र बालेनलाई रास्वपासँग अदृश्य शक्तिले जबरजस्त मिलाएको दाबी पनि गरेका छन् । ‘कुलमानजी बाहिरिनु भइसक्यो, बालेनजीलाई पनि रास्वपाले मनदेखि स्विकार्न सक्दैन । रास्वपाले बालेनको राजनीति झापाबाटै सिद्ध्याउने रणनीति बनायो । क्षेत्रमा पनि रास्वपाका कार्यकर्ताले बालेनलाई स्वीकार गर्न सक्दैनन्’, अध्यक्ष गिरीको भनाइ छ ।  

अघिल्लो निर्वाचनमा अध्यक्ष ओली २८ हजार ५७६ मतान्तरले निर्वाचित भएका थिए । गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गर्दै दोब्बरभन्दा बढी मतान्तर निर्वाचित बनेका थिए । 

एक लाख २ हजार १५० खसेको मतमध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका थिए । अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप