बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

गगन थापा नेतृत्वको समिति आयोग गएपछि देउवा पक्षले थाल्यो कानुनी परामर्श

बिहीबार, ०१ माघ २०८२, १६ : २५
बिहीबार, ०१ माघ २०८२

सारांश

  • भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिले वैधानिकता दाबी गरेपछि देउवा समूहले कानुनी परामर्श थालेको छ।
  • देउवा समूहले पार्टीभित्रको विवाद समाधान, विशेष महाधिवेशनको वैधानिकता र १४औँ महाधिवेशनबाट निर्वाचित समितिलाई कायमै राख्ने विषयमा अधिवक्ताहरूसँग राय लिएको छ।
  • कांग्रेस केन्द्रीय कार्यसमितिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षका लागि साधारण सदस्यबाट निष्कासन गरेपछि विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ।

काठमाडौँ । भृकुटीमण्डपमा पुस २७ गतेदेखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्मत निर्वाचित गगन थापा नेतृत्वको समिति वैधानिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेपछि सभापति शेरबहादुर देउवा समूहले कानुनी परामर्श थालेको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवास हात्तिगौडामा पूर्वमहान्यायाधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, डेमोक्रयाटिक लयर्श एसोसिएसनका निवर्तमान अध्यक्ष योगेन्द्र अधिकारी वर्तमान महासचिव ज्ञानेन्द्र अधिकारीसहितका अधिवक्ताहरूसँग नेताहरूले परामर्श गरेका हुन् ।

परामर्शमा पार्टीभित्र देखिएको विवाद समाधान कसरी गर्न सकिन्छ ? केन्द्रीय कार्यसमितिको निर्णय र स्वामित्वबिना भएको विशेष महाधिवेशनका आधारमा निर्वाचित समितिलाई आयोगले वैधता दिन मिल्छ कि मिल्दैन ? र अब २०७८ सालमा १४ औँ महाधिवेशनबाट निर्वाचित समितिलाई कायमै राखेर अगाडि बढ्न के गर्नुपर्छ भन्ने विषयमा नेताहरूले अधिवक्ताहरूसँग राय लिएका हुन् ।

अधिवक्ताहरूले महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन आह्वानका लागि माग गर्न सक्ने व्यवस्था भएपनि केन्द्रीय समितिले स्वीकार नगरी महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेर अगाडि बढ्न नसक्ने बताएका थिए । आयोगले अर्को समूह आएकाले के भएको हो भन्ने पत्र पठाएपछि त्यसको जवाफ दिने र अहिले विशेष महाधिवेशन आधिकारिक नभएको जानकारी गराउन सुझाएको बताएका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । कारबाहीपछि विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिसकेको छ । र केन्द्रीय कार्यसमितिले गरेको निर्णय खारेज गरेको घोषणा गरेको छ ।

त्यसपछि उत्पन्न विवाद समाधानका लागि देउवा पक्ष कानुनी परामर्शमा जुटेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप