बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

माओवादीबाट नयाँ शक्ति हुँदै कांग्रेस गएका तामाङलाई एमालेको टिकट

आइतबार, ०४ माघ २०८२, १२ : २९
आइतबार, ०४ माघ २०८२

सारांश

  • नेकपा एमालेले रसुवाबाट प्रेमबहादुर तामाङलाई प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार बनाएको छ।
  • तामाङ यसअघि माओवादी केन्द्र, नयाँ शक्ति र जसपामा आवद्ध थिए, र कांग्रेसको पनि क्रियाशील सदस्य थिए।
  • २०७९ मा अवसर नपाएपछि तामाङ कांग्रेस छाडेर एमाले प्रवेश गरेका थिए, र अहिले एमालेबाट टिकट पाएका छन्।

रसुवा । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनमा रसुवाबाट प्रेमबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । एक क्षेत्र रहेको रसुवामा तामाङले टिकट पाएका हुन् । तामाङ गत मङ्सिरमा सम्पन्न महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य समेत निर्वाचित भएका थिए ।

तत्कालीन माओवादी केन्द्रमा आवद्ध तामाङ २०७४ मा नयाँ शक्ति नेपालबाट बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । तामाङ बाबुराम भट्टराई टिममा रहेका थिए । नयाँ शक्ति र उपेन्द्र यादवको जसपा बिच भएको एकतापछि उनी जसपामा आवद्ध थिए । प्रदेशसभा सदस्य बहाल रहेका बखत उनी जसपाबाट कांग्रेसको क्रियाशील सदस्य भएका थिए ।

तत्कालीन समयमा जसपामा रहेर भित्रभित्रै कांग्रेस राजनीतिमा सक्रिय तामाङले सांसद पद जोगाउनकै लागि महाधिवेशन प्रतिनिधि चुनिएको प्रमाणपत्र गुपचुप बुझेका थिए । तामाङ रसुवाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भई मतदानमा सहभागी समेत भएका थिए ।

२०७८ मङ्सिर ४ मा कांग्रेसमा उनको क्रियाशील सदस्यता नम्बर ३३१०१२०३०२१८४१४ रहेको थियो । २०७८ मा भएको कांग्रेस बागमती प्रदेश समितिको निर्वाचनमा समेत उनी सहभागी भएका थिए ।

सो निर्वाचनमा उनले प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँलाई चुनाव जिताउन भूमिका खेलेका थिए । तत्कालीन समयमा प्रदेशको राज्यमन्त्री पाउने गरी कांग्रेसमा लागेका तामाङलाई सो अवसर भने प्राप्त भएन ।

२०७९ मा कार्यकाल सकिएपछि उनले टिकट पनि पाएनन् । उनी समानुपातिकमा परे । अवसर नपाएपछि तामाङ कांग्रेस छाडेर एमाले छिरेका थिए ।

एमाले लागेको केही समयमा नै उनी अध्यक्ष केपी शर्मा ओली क्याम्पबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । आगामी निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा उनलाई अध्यक्ष ओलीले उम्मेदवार बनाएका हुन् ।

प्रतिनिधिसभा निर्वाचन फागुन २१ का लागि तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप