आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

१९ वर्षअघि किशोरीको हत्या गरी फरार अभियुक्त पक्राउ

प्रेम प्रस्ताव अस्वीकार गर्दा ज्यान लिएको खुलासा
मङ्गलबार, ०६ माघ २०८२, ११ : १७
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • सिरहा प्रहरीले १९ वर्षअघि एक किशोरीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ।
  • २०६३ सालमा प्रेम प्रस्ताव अस्वीकार गरेपछि ती व्यक्तिले किशोरीको घाँटी थिची हत्या गरेको स्वीकारेका छन्।
  • फरार रहेका अभियुक्तलाई माघ ३ गते घरबाट पक्राउ गरिएको हो, र उनीमाथि थप अनुसन्धान भइरहेको छ।

सिरहा । सिरहा प्रहरीले १९ वर्षअघि एक १६ वर्षीया किशोरीको घाँटी थिची हत्या गरेर फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । वि.सं. २०६३ सालमा भएको उक्त जघन्य अपराधमा संलग्न रहेको आरोपमा कल्याणपुर नगरपालिका–१२ का ४९ वर्षीय उतिम मुखिया पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार २०६३ साल मङ्सिर १३ गते तत्कालीन बेलहा गाउँ विकास समिति–७ की किशोरी मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरी अनुसन्धानबाट मुखियाले ती किशोरीलाई प्रेम प्रस्ताव राखेको र उक्त प्रस्ताव अस्वीकार गरेपछि आक्रोशमा आएर सल र हातले घाँटी थिची हत्या गरेको खुलेको छ ।

हत्यापछि पक्राउ पर्ने डरले मुखिया लामो समयदेखि भारतका विभिन्न सहरहरूमा लुकीछिपी बस्दै आएका थिए । उनी हालै मात्र आफ्नै घरमा आएर लुकेर बसेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई माघ ३ गते नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मुखियामाथि सिरहा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप