महन्थ ठाकुरले छोरीलाई टिकट दिएपछि पार्टीमा बढ्यो असन्तुष्टि
सारांश
- महोत्तरी-३ मा महन्थ ठाकुरले छोरीलाई उम्मेदवार बनाएपछि जसपा नेपालमा असन्तुष्टि बढेको छ।
- ठाकुर राष्ट्रिय सभामा जाने भएपछि हरिनारायण यादव, रामकुमार शर्मा र कृष्णा शंकर साहको नाम सिफारिस भएको थियो।
- अध्यक्ष ठाकुरले छोरीको नाम पठाएपछि स्थानीय नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका छन्, र परिवारवाद हाबी भएको आरोप छ।
महोत्तरी । जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत महोत्तरी–३ मा आफ्नी छोरी डा. मिनाक्षी झालाई उम्मेदवार बनाएपछि पार्टीमा असन्तुष्टि बढेको छ ।
जसपा नेपालका संरक्षक ठाकुर राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवार बनेका छन् । आफू चुनाव जित्दै आएको महोत्तरी–३ मा उनले छोरी मिनाक्षीलाई टिकट दिएपछि पार्टीमा असन्तुष्टि बढेको एक नेताले बताए ।
संरक्षक ठाकुर राष्ट्रिय सभामा जाने भएपछि महोत्तरी–३ मा उम्मेदवारीका लागि हरिनारायण यादव, रामकुमार शर्मा र कृष्णा शंकर साहको नाम जिल्लाबाट सिफारिस भएको थियो । देशभर उम्मेदवारको टुङ्गो लगाउन बनेको समितिले रामकुमार शर्माको नाममा सहमति गरेको थियो ।
पार्टी स्रोतका अनुसार साविकको लोसपा नेपाल पक्षका नेतालाई महन्थ ठाकुरले र जसपा नेपाल पक्षका नेतालाई उपेन्द्र यादवले टिकट दिने भनेर सादा टिकट दुवै जनालाई बुझाइएको थियो । तर महन्थ ठाकुरले आफ्नो छोरीको नाम भरेर टिकट पठाएपछि सो क्षेत्रका जसपा नेपालका नेता असन्तुष्ट बनेका छन् ।
जसपा नेपाल महोत्तरी–३ का एक नेताले भने, ‘महन्थ ठाकुर राष्ट्रिय सभामा गइसकेपछि महोत्तरी–३ बाट जसपा नेपालकै कुनै नेता चुनाव लड्ने तय थियो । हरिनारायण यादव या रामकुमार शर्मामध्ये एक जनाले टिकट पाउने कुरा निश्चित थियो, तर पार्टीमा कहिल्यै चर्चा नै नभएको मिनाक्षीको नाममा ठाकुरले टिकट पठाएपछि क्षेत्रका नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका छन् ।’
महन्थ ठाकुरमा परिवारवाद हाबी भएको देखिएको भन्दै उनले संरक्षक ठाकुरले सम्पूर्ण पार्टीलाई संरक्षण गर्नुपर्नेमा आफ्नो छोरी र सम्धीलाई मात्र संरक्षण गरेको आरोप लगाए । ठाकुरका सम्धी उमाकान्त झालाई धनुषा–४ बाट उम्मेदवार बनाइएको छ ।
अध्यक्ष ठाकुरले आफ्नो छोरीको नाम टिकट पठाएपछि अन्तिम समयसम्म त्यसलाई रोक्न निकै प्रयास भएको थियो । तर अध्यक्ष ठाकुरले ‘महोत्तरी–३ बाहेक अरु क्षेत्रमा तपाईंहरूलाई जे–जे गर्नुछ, गर्नुस् तर त्यहाँका लागि मलाई निर्णय गर्न दिनुस् । यसमा कसैले हस्तक्षेप नगर्नुस्’ भनेको स्थानीय नेता बताउँछन् ।
सो क्षेत्रका लागि दावेदार रहेका जसपा नेपालका नेता रामकुमार शर्माले महोत्तरी–३ को हकमा पार्टीको निर्णय जति नै अप्रिय भए पनि आफू त्यसको विरुद्धमा नजाने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण