सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

रुग्ण आयोजनाहरुका ठेक्का तोड्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन

बिहीबार, ०८ माघ २०८२, १८ : २३
बिहीबार, ०८ माघ २०८२

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने र आयोजना अलपत्र पार्ने रुग्ण आयोजनाहरूको ठेक्का प्रक्रिया तोड्न भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढालाई निर्देशन दिएका छन् ।

बिहीबार मन्त्रालयको अर्धवार्षिक समीक्षामा कँडेलले जस्तोसुकै पहुँच र शक्ति भए पनि समयमै काम नगर्ने निर्माण व्यवसायीको कानुनसम्मत ठेक्का तोड्न निर्देशन दिएका हुन् ।

आवश्यक बजेट विनियोजन गर्दा पनि आयोजना सम्पन्न नहुँदा नागरिकमा सरकारप्रति अविश्वास पैदा भएको कँडेलको भनाइ छ ।  

उनले भने, ‘पैसा छ, काम भइरहेको छैन र योजनालाई अलपत्र छाड्छ भने त्यस्ता निर्माण व्यवसायीप्रति हामी कुनै पनि हालतमा लचिलो हुनुपर्ने जरूरी छैन ।’’

समयमा काम सम्पन्न नगरेपछि बहालवाला सांसद र मन्त्रीसमेत संलग्न भएको ठेक्का तोडेको उनले स्मरण गरे ।यसअघि पुर्वसांसद दीक्पालकुमार शाही र पुर्वराज्यमन्त्री कान्छाराम तामाङको कम्पनीलाई कारबाही गरिएको थियो ।

साथै उनले काम सम्पन्न गरिसकेपछि भुक्तानीमा ढिलाइ नगर्न पनि मन्त्रालयलाई सचेत गराए । उनले भने, ‘निर्माण व्यवसायीले काम गरेको छ भने बहाना नबनाउनुहोस्, बोलाएर भए पनि तत्काल भुक्तानी दिनुहोस् ।’

उनले बजेट र कार्यक्रम निर्माणमा राजनीतिक नेतृत्वको भूमिका रहे पनि त्यसको कार्यान्वयनको प्रमुख जिम्मेवारी कर्मचारीतन्त्रको हुने भएकोले कर्मचारीले कार्यकारी भूमिकामा रहेर काम गर्नुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप