क्यानडाले चीनसँग व्यापार सम्झौता गरे क्यानडाको उत्पादनमाथि शतप्रतिशत अतिरिक्त करवृद्धि गर्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडाको सीमाबाट आउने सबै सामानमा शतप्रतिशत अतिरिक्त कर लगाउने चेतावनी दिएका छन् ।
रिपब्लिकन नेता ट्रम्प एक वर्षअघि राष्ट्रपतिका रूपमा पुनः ह्वाइट हाउसमा फर्किएपछि संयुक्त राज्य अमेरिका र उसको उत्तरी छिमेकीबीचको सम्बन्ध तनावपूर्ण छ ।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले व्यापारलाई लिएर विवाद र अमेरिकी नेतृत्वको विश्व व्यवस्थामा ‘विखण्डन’ को निन्दा गरेका छन् ।
गत हप्ता बेइजिङ भ्रमणका क्रममा कार्नीले चीनसँगको नयाँ रणनीतिक साझेदारीको प्रशंसा गरेका थिए । यसले गर्दा करवृद्धि घटाउन ‘प्रारम्भिक तर ऐतिहासिक व्यापार सम्झौता’ भएको थियो ।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “यदि कार्नीले क्यानडालाई चीनका लागि अमेरिकामा सामान पठाउनका लागि ‘ड्रप अफ पोर्ट’ बनाउन चाहन्छन् भने उनी सरासर गलत छन् ।
उनले भने, “चीनले क्यानडालाई समस्याग्रस्त बनाउनेछ । यसलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउनेछ र उनीहरूको व्यवसाय, सामाजिक सञ्जाल र सामान्य जीवनशैली प्रभावित हुनेछ ।
राष्ट्रपति ट्रम्पले भने, “यदि क्यानाडाले चीनसँग सम्झौता गर्यो भने, वासिङ्टनले तुरुन्तै संयुक्त राज्य अमेरिका आउने सबै क्यानेडियाली सामान र उत्पादनमा १०० प्रतिशत ट्यारिफ लगाउनेछ ।”
दुई नेताले हालैका दिनहरूमा आफ्ना बयानबाजी एकअर्काविरुद्ध लक्षित गरेको पाइन्छ । यसको सुरुवात मङ्गलबार डाभोसमा विश्व आर्थिक मञ्चमा कार्नीको भाषणबाट भएको थियो । सम्मेलनमा उनले अमेरिकी नेतृत्वको विश्व व्यवस्थामा ‘विखण्डन’ भएको स्पष्ट मूल्याङ्कन गर्दा व्यापक ताली पाएका थिए ।
उनको टिप्पणीलाई अन्तर्राष्ट्रिय मामिलामा ट्रम्पको विघटनकारी प्रभावको सङ्केतका रूपमा हेरिएको थियो, यद्यपि उनले अमेरिकी नेताको नाम प्रत्यक्ष उल्लेख गरेका थिएनन् ।
ट्रम्पले कार्नीलाई एक दिनपछि डाभोसमा भएको आफ्नै सम्बोधनमार्फत जवाफ दिएका थिए । त्यसपछि क्यानाडाका प्रधानमन्त्रीलाई ट्रम्पले विश्वव्यापी द्वन्द्व समाधानका लागि आफ्नो स्वघोषित निकाय शान्ति समिति (बोर्ड अफ पिस) मा सामेल हुन दिएको निमन्त्रणा फिर्ता लिएका थिए ।
सुरुमा युद्धपछिको गाजाको अवस्थाको निरीक्षण गर्न डिजाइन गरिएको यो निकायको दायरा अहिले धेरै फराकिलो बनाउन खोजिएको देखिन्छ । राष्ट्रपति ट्रम्पले समितिलाई संयुक्त राष्ट्रसङ्घको प्रतिद्वन्द्वी निकाय बनाउन चाहेको भन्ने चिन्ता उत्पन्न भएको छ ।
“क्यानाडा संयुक्त राज्य अमेरिकाको कारण बाँच्दैन, बरु क्यानाडा दुई राष्ट्रबीचको उल्लेखनीय साझेदारीमा फस्टाउन सक्छ । हामी क्यानेडियाली हौँ,” कार्नीले बिहीबार राष्ट्रिय सम्बोधनमा भने ।
क्यानाडा संयुक्त राज्य अमेरिकासँगको व्यापारमा धेरै निर्भर छ । क्यानाडाको निर्यातको तीन चौथाईभन्दा बढीको गन्तव्य अमेरिका नै हो ।
कार, एल्युमिनियम र स्टिलजस्ता प्रमुख क्यानेडियाली क्षेत्रहरू ट्रम्पको विश्वव्यापी क्षेत्रीय कर वृद्धिको नीतिबाट कडा रूपमा प्रभावित भएका छन् । तर करको प्रभाव राष्ट्रपतिको विद्यमान उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताको व्यापक पालनाले कम भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण