नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक कोएमानले दिए राजीनामा
सारांश
- रोनाल्ड कोएमानले नेदरल्यान्ड्स फुटबलको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।
- विश्वकपमा मोरक्कोसँग पराजित भएपछि कोएमानले आफ्नो कार्यकालको अन्त्य भएको घोषणा गरेका हुन् ।
- कोएमानले पत्नीको स्वास्थ्य समस्या र जीवनको प्राथमिकतामा आएको परिवर्तनका कारण प्रशिक्षक जीवनबाट विश्राम लिन सक्ने संकेत गरेका छन् ।
एजेन्सी । रोनाल्ड कोएमानले पदबाट राजीनामा दिएका छन् ।
सन् २०२३ को जनवरीदेखि दोस्रो कार्यकालमा नेदरल्यान्ड्स फुटबलको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका उनी मोरक्कोसँग फिफा विश्वकपअन्तर्गत अन्तिम–३२ को चरणमा पेनाल्टी सुटआउटमा पराजित भएपछि पदबाट बाहिरिएका हुन् ।
उनले यसअघि सन् २०१८ देखि २०२० सम्म पनि डच टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
इन्स्टाग्राममार्फत सार्वजनिक गरिएको वक्तव्यमा ६३ वर्षीय कोएमानले विश्वकपमा इतिहास रच्ने साझा सपना अधुरै रहेको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन् ।
'हिजो राति मैले डच राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक पदबाट अलग हुने निर्णय लिएँ । हामी सबैले यस विश्वकपमा इतिहास रच्ने सपना देखेका थियौं, तर त्यसमा सफल हुन सकेनौं । यो नतिजाबाट मभन्दा बढी निराश कोही छैन । मुख्य प्रशिक्षकका रूपमा अन्तिम जिम्मेवारी मेरै हो,' उनले लेखेका रोयटर्सले छापेको छ ।
कोएमानले प्रशिक्षक जीवनबाट पनि विश्राम लिन सक्ने संकेत गरेका हुन् । पछिल्ला केही वर्षले फुटबलभन्दा जीवन र स्वास्थ्य बढी महत्त्वपूर्ण रहेको महसुस गराएको पनि उनको भनाइ छ । 'फुटबल मेरो जीवन रह्यो, तर स्वास्थ्य अमूल्य हुन्छ । आफूले अत्यन्त माया गर्ने व्यक्ति कठिन संघर्ष गरिरहेको बेला जीवनप्रतिको दृष्टिकोण नै बदलिन्छ,' उनले भनेका छन् ।
उनले आफ्नी पत्नी बार्टिनाको स्वास्थ्य समस्याबारे पनि उल्लेख गर्दै कठिन परिस्थितिका बाबजुद आफूलाई राष्ट्रिय टोलीको जिम्मेवारी पूरा गर्न निरन्तर हौसला दिएकोमा आभार व्यक्त गरेका छन् ।
यता, डच फुटबल संघका प्राविधिक निर्देशकले टोलीको विश्वकप अभियान अपेक्षाअनुसार हुन नसकेको स्वीकार गरेका छन् । 'हाम्रो लक्ष्य सेमिफाइनल पुग्ने र महत्त्वाकांक्षा विश्व च्याम्पियन बन्ने थियो । दुर्भाग्यवश हामी त्यसमा सफल भएनौं । वास्तविकता स्वीकार गर्नुपर्छ, हामी अझै धेरै पछाडि छौं,' उनले बताएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण