बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित

बुधबार, १७ असार २०८३, ०४ : ४३
बुधबार, १७ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ मा फ्रान्सले स्वीडेनलाई ३-० गोलले पराजित गरी अन्तिम १६ मा स्थान पक्का गरेको छ ।
  • फ्रान्सको जितमा किलियन एम्बाप्पेले दुई गोल गरे भने ब्राड्ली बारकोलाले एक गोल गरे ।
  • यो जितसँगै फ्रान्सले विश्वकपको अन्तिम १६ मा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को रोमाञ्चक खेलमा फ्रान्सले स्वीडेनलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा स्थान सुरक्षित गरेको छ । 

फ्रान्सको एकतर्फी जितमा स्टार स्ट्राइकर किलियन एम्बाप्पेले दुई गोल गरे भने युवा खेलाडी ब्राड्ली बारकोलाले एक गोल थपे । 

खेलको सुरुवातदेखि नै स्वीडेनमाथि दबाब बनाएको फ्रान्सले पहिलो हाफको अन्तिम समयमा अग्रता लिएको थियो । ४५औं मिनेटमा किलियन एम्बाप्पेले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । दोस्रो हाफ सुरु भएको केही समयमै अर्थात् ५३औं मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । 

त्यस्तै, खेलको ७४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० को सुनिश्चित जित दिलाए । 

फ्रान्सले खेल अवधिभर ६१ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको थियो । फ्रान्सले विपक्षीको पोस्टमा जम्मा २५ पटक प्रहार गरेको थियो, जसमा १३ प्रहार 'अन टार्गेट' थिए । स्वीडेनले मात्र ७ पटक प्रहार गर्न सक्यो, जसमध्ये केवल ३ प्रहार मात्र फ्रेममा थिए । 

रक्षात्मक र आक्रामक दुवै पक्षमा फ्रान्स बलियो देखिएको यो खेलमा स्वीडेनले गोल गर्ने खासै ठुला अवसरहरू सिर्जना गर्न सकेन । 

यो सानदार जितसँगै फ्रान्स अब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ र उसले पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप