बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ

सोमबार, १२ माघ २०८२, २१ : १३
सोमबार, १२ माघ २०८२

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ मा पुगेका छन् ।

थापाले धनकौलस्थित क्षेत्र नम्बर ४ को पार्टी क्षेत्रीय कार्यालयबाट कार्यकर्तालाई सम्बोधन गर्दै आफू सर्लाही क्षेत्र नम्बर ४ का नागरिकको सेवक हुन आएको बताएका छन् । 

थापाले यहाँका नागरिकको दुःख–सुखमा सधैं साथ रहने प्रतिबद्धता जनाउँदै मधेसले कांग्रेसलाई लगाएको गुणबारे आफू राम्रोसँग जानकार रहेको बताए । स्वर्गीय नेता प्रदीप गिरीको स्मरण गर्दै उनले गिरीबाटै मधेसबारे धेरै कुरा बुझ्न पाएको उल्लेख गरे । 

परिवारबाट पहाड र काठमाडौँबारे बुझ्ने अवसर पाए पनि अब मधेसबाट आफू नै प्रतिनिधि भएर बुझ्ने अवसर मिलेकोमा उनले खुसी व्यक्त गरे । थापाले दोस्रो विशेष महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलोपटक मधेस आएको जानकारी दिए । कांग्रेस र प्रजातन्त्रलाई मधेसले लगाएको योगदान कहिल्यै भुल्न नसकिने पनि उनले बताए । 

आफूभित्र मधेस र मधेसभित्र आफूलाई ल्याउने प्रयासस्वरूप सर्लाही आएको थापाको भनाइ थियो । उनले सर्लाही–४ र काठमाडौँमा अस्थायी कार्यालय खोल्दै यहाँका नागरिकको समस्या समाधानमा सक्रिय रूपमा लाग्ने कार्यक्रमसमेत सार्वजनिक गरे । 

करिब १५ मिनेटको सम्बोधनका क्रममा थापाले कुनै राजनीतिक दल वा नेताविरुद्ध आरोप लगाएनन् । आफू कसैविरुद्ध बोल्न नभई नागरिकको सेवक बन्न आएको थापाले स्पष्ट पारे । 

थापाले आज दिउँसो मूर्तियास्थित मुक्तेश्वर बाबाधाम मन्दिरमा दर्शन गरी क्षेत्र नम्बर ४ मा प्रवेश गर्दै औपचारिक रूपमा चुनावी गतिविधि सुरु गरेका हुन् ।

चार दिन सर्लाहीमै रहने र त्यसपछि पार्टी सभापतिका हैसियतमा देशका विभिन्न स्थानमा चुनावी कार्यक्रममा सहभागी भई पुनः घरदैलो अभियानका लागि सर्लाही–४ फर्किने उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप