शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

एपस्टिन फाइलमा राजकुमार एन्ड्र्युका आपत्तिजनक तस्बिर र इमेल सार्वजनिक, बकिंघम दरबारमा 'गोप्य डिनर' को प्रस्ताव

शनिबार, १७ माघ २०८२, १६ : १९
शनिबार, १७ माघ २०८२

वासिङ्टन । अमेरिकी न्याय मन्त्रालयले कुख्यात यौन अपराधी जेफ्री एपस्टिनसम्बन्धी सार्वजनिक गरेको नयाँ फाइलहरूले बेलायती राजकुमार एन्ड्र्यु (एन्ड्र्यु माउन्टब्याटन–विन्डसर) माथि गम्भीर प्रश्न खडा गरेको छ।

 सार्वजनिक गरिएका तस्बिरहरूमध्ये एउटामा एन्ड्र्यु भुइँमा पल्टिएकी एक अपरिचित महिलामाथि घोप्टो परेको अवस्थामा देखिएका छन्। तस्बिरमा उनले ती पूर्ण रूपमा कपडा लगाएकी महिलाको पेटमा छोइरहेको देखिन्छ। यी तस्बिरहरू कहिले र कहाँ खिचिएका हुन् भन्ने स्पष्ट नभए पनि यसले एन्ड्र्युको विगतलाई लिएर नयाँ बहस सिर्जना गरेको बीबीसीको समाचारमा उल्लेख छ । 

तस्बिरबाहेक सन् २०१० का इमेलहरूले पनि एन्ड्र्यु र एपस्टिनबीचको निरन्तर सम्बन्धलाई उजागर गरेका छन्। एपस्टिन बाल यौन दुराचारमा दोषी ठहर भई जेल सजाय काटेको एक महिनापछि मात्रै भएको इमेल आदानप्रदानमा एपस्टिनले एन्ड्र्युलाई २६ वर्षीया रुसी मोडलसँग परिचय गराउन प्रस्ताव गरेका थिए। जवाफमा 'द ड्युक' नामको खाताबाट एन्ड्र्युले ती महिलाको सम्पर्क विवरण माग्दै भेट्न उत्सुकता देखाएको पाइएको छ।
साथै, सन् २०१० को सेप्टेम्बरमा भएको अर्को एक संवादमा एन्ड्र्युले एपस्टिनलाई बकिंघम प्यालेसमा 'गोप्य डिनर' का लागि प्रस्ताव गरेको समेत खुलासा भएको छ। सोही फाइलमा एन्ड्र्युकी पूर्वपत्नी सारा फर्गुसनले पनि एपस्टिनलाई ‘लिजेन्ड’को संज्ञा दिँदै प्रशंसा गरेको इमेलहरू फेला परेका छन्।

अमेरिकी अधिकारीहरूले सन् २०२० मा नै एन्ड्र्युसँग सोधपुछ गर्न अनुरोध गरेको र उनी एपस्टिनले किशोरीहरूलाई यौन कार्यमा लगाउने गरेको विषयमा जानकार हुन सक्ने आशंका व्यक्त गरेको दस्तावेज पनि अहिले सार्वजनिक भएको छ। यद्यपि, राजकुमार एन्ड्र्युले आफूमाथि लागेका सबै आरोपहरू निरन्तर अस्वीकार गर्दै आएका छन्। यसअघि उनले भर्जिनिया जिउफ्रेले लगाएको यौन शोषणको मुद्दालाई सन् २०२२ मा आर्थिक सम्झौतामार्फत टुंग्याएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप