शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

२१ नेतामध्ये अधिकांशले प्रयोग गरेका मोबाइल उपहारका

आइतबार, ०६ साउन २०७५, ११ : ०३
आइतबार, ०६ साउन २०७५

काठमाडौं–मोबाइलको उपयोगिता शब्दमा व्यक्त गर्न त्यति सजिलो छैन । मोबाइलले मानिसलाई काम गर्न सहज बनाइदिएको छ भन्नेको बाहुल्य छ । हो जस्तो लाग्छ । त्यसो नहुँदो हो त अपवादबाहेक हाम्रा नेताले दुई–दुईवटा मोबाइल किन बोक्थे होलान् ?  विभिन्न समयमा रातोपाटीको मेरो जीवन स्तम्भका लागि दीपेन्द्र राईसँग  नेताहरुले मोबाइलबारे यस्ताे बताएका थिए । 
 

भरतमोहन अधिकारी, पूर्वउपप्रधानमन्त्री 
मैले प्रयोग गरेको सामसुङ मोबाइल मेरी छोरीले उपहार दिएकी हुन् । फोन आएको बेला उठाउने र फोन गर्नेबाहेक केही गर्दिनँ ।
 

मोहनविक्रम सिंह, मसाल महामन्त्री 
मैले प्रयोग गर्दै आएको मोबाइल सेट कुन ब्रान्डको हो, मलाई नै थाहा भएन । यो सेटलाई भारु १० हजार परेको थियो । मोबाइलका एप्लिकेसन्स प्रयोग गर्न कन्जुस्याइँ गर्दिनँ ।
 

गिरिराजमणि पोखरेल, शिक्षामन्त्री
मैले बोकेको मोबाइल कति रुपैयाँ प¥यो मलाई थाहा छैन । भाइ सुदेशमणि पोखरेल बेल्जियममा छन् । उनले नेपाल आउँदा ल्याएका मोबाइल छाड्छन् । साथीभाइले पनि उपहार दिन्छन् । धेरैजसो मोबाइल हराइसके । मोबाइल फेरिरहन नपरोस्जस्तो लाग्छ । सिष्टम नजान्दा अहिले प्रयोग गरिरहेको मोबाइल पनि बिग्रिसकेको छ ।
मन्त्री हुँदा दैनिक ७–८ सय कल फोन आउँथ्यो । फोन उठाएन भने मानिस रिसाउने । मोबाइलका ‘एप्लिकेसन’ प्रयोग गर्ने गरेको छु । फेसबुकभन्दा ट्वीटर चलाउँछु । संविधान निर्माणको पछिल्लो चरणमा मात्रै सामाजिक सञ्जालसँग निकट भएको हुँ । 

चक्रपाणि खनाल, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री 
आइफोन र सामसुङ गरी दुई मोबाइल सेट प्रयोग गर्दै आएको छु । सामसुङ ३२ हजार रुपैयाँमा किनेको हुँ । आइफोनचाहिँ साथीले उपहार दिएका हुन् । कामै नलाग्ने भएपछि मोबाइल किन्ने हो । मोबाइलका एप्लिकेसन्स कमै प्रयोग गर्छु । कहिलेकाहीं मोबाइलमा क्यान्डिक्रस खेल्छु ।

शेरधन राई, मुख्यमन्त्री, प्रदेश १
साथीले उपहार दिनुभएको आइफोन प्रयोग गर्दै आएको छु । कामै नलाग्ने भएपछि मात्रै मोबाइल किन्ने गरेको छु । आफूलाई आवश्यक मोबाइलका सबै ‘एप्लिकेसन युज’ गर्छु । मोबाइलमा गेम खेल्ने बानी छैन । 

महेन्द्रबहादुर शाही, मुख्यमन्त्री, प्रदेश ६  
दुई मोबाइल सेट प्रयोग गर्दै आएको छु । आइफोन सेभेन प्लस र अर्को वाईको सेट प्रयोग गर्छु । ऊर्जामन्त्री भइसकेपछि मात्रै दुई मोबाइल प्रयोग गर्न थालेको हुँ । आइफोनको १ लाख १० हजार र वाईको १०–१५ हजार परेको थियो । मोबाइलका एप्लिकेसनमा जीके, वाटस्याप, स्काइप, गुगल म्याप, भाइबर, वी च्याटलगायत प्रयोग गर्दै आएको छु । कहिलेकाहीं मोबाइलमा गेम पनि खेल्छु ।

अग्नि सापकोटा, पूर्वमन्त्री
बोकेकामध्ये एउटा आइफोन फाइभ हो भने अर्को चाइनिज । आइफोन साथीले उपहार दिएका हुन् भने चाइनिजचाहिँ छोराले ल्याइदिएका थिए । मोबाइलमा फेसबुक प्रयोग गर्ने गर्छु । 

सीपी मैनाली, महासचिव, नेकपा माले 
सामसुङको मोबाइल सेट प्रयोग गर्दै आएको छु । त्यतिबेला १२ हजार रुपैयाँमा किनेको थिएँ । काम लागुन्जेल मोबाइल सेट प्रयोग गर्ने बानी छ । अन्य प्रयोग नगरे पनि ट्वीटर प्रयोग गरौं भन्ने लागेको छ । 

दिलनाथ गिरी, पर्वमन्त्री
मैले बोकेको दुवै मोबाइल आइफोन सिक्स एस र आइफोन फाइभ एस हो । दुवै आइफोन छोराहरूले उपहारस्वरूप पठाइदिएका हुन् । मोबाइलले काम गरिन्जेलसम्म परिवर्तन गर्ने बानी छैन । फेसबुक र ट्वीटर चलाउँछु ।

सुनील थापा, पुूर्वमन्त्री
मेरो एउटामात्रै मोबाइल सेट छ । अक्षर ठूलो हुने भएकाले सामसुङ प्रयोग गरेको हुँ । त्यतिबेला ६० हजार रुपैयाँमा किनेको थिएँ । मोबाइलमै समाचार पढ्छु । फेसबुक, ट्वीटर, वाटस्यापलगायत हेर्छु । 

जीवनबहादुर शाही, पूर्वमन्त्री 
सामसुङको मोबाइल सेट बोक्दै आएको छु । यसको ८५ हजार रुपैयाँ परेको थियो । राम्रो वस्तु आएपछि हेर्नमात्रै भए पनि बजार पुगेकै हुन्छु । दुई–तीन वर्षदेखि एउटै मोबाइल सेट बोक्दै आएको छु । फेसबुक, गुगल अर्थलगायत मोबाइल एप्लिकेसन चलाउने गर्छु । 

लीलामणि पोखरेल, नेकपा नेता
मसँग स्काई, नोकिया र नोट फोर गरी तीन मोबाइल सेट छन् । स्काई मैले किनेको हुँ भने नोकिया साथी र नोट फोर भतिजोले उपहार दिएका हुन् । मोबाइलमा फेसबुक, ट्वीटर चलाउँछु ।

विष्णु रिजाल, नेता, नेकपा
आइफोन एट प्लस प्रयोग गर्दै आएको छु । श्रीमतीकी दिदीको छोरा अस्ट्रेलिया बस्छन् । उनले ७ महिनाअघि आइफोन एट प्लस पठाइदिएकाले मूल्य थाहा भएन । मोबाइल परिवर्तन झन्झट लाग्छ । मोबाइलका एप्लिकेसनमध्ये इमेल, इन्टरनेट प्रयोग गर्छु । 
यसैगरी, डिक्सनेरी, संसारका सबैजसो मुलुकका टप–टप डेली पेपर, म्यागेजिन, टीभीका एप्स डाउनलोड गरेको छु । कुनै पनि विषयमा ‘ब्रेकिङ न्युज’ आयो भने मोबाइलमा घन्टी बज्छ । त्यसले अद्यावधिक हुन मद्दत गर्छ । साथै, कूटनीति र अन्तर्राष्ट्रिय विषयमा जिमेल सब्सक्राइब गरेको छु । त्यस मानेमा मोबाइलको भरपूर प्रयोग गर्नेमध्ये पर्छु । 

पुष्पा भुसाल, सांसद 
सामसुङको मोबाइल प्रयोग गर्दै आएकी छु । मोबाइल फेरी–फेरी बोक्ने बानी छैन । मोबाइलका एप्लिकेसनमध्ये फेसबुक, ट्वीटर प्रयोग गर्छु । 

यज्ञराज सुनुवार, सांसद 
सामसुङ नट फोर र सिडिएमएको एम्टियस मोबाइल सेट प्रयोग गर्छु । सामसुङ नट फोर सांसद भएको खुसियालीमा बुवाले बेलायतबाट पठाइदिएकाले मूल्य थाहा भएन, एम्टियसको ११ सय रुपैयाँ परेको थियो । यसको ब्याट्री टिकाउ हुने भएकाले प्रयोग गर्ने गरेको हुँ । मोबाइल फेरी–फेरी बोक्ने गरेको छैन । फेसबुक, ट्वीटर चलाउँछु । बुवाको मोबाइलमा छोरोको हक लाग्ने भएकाले उसले गेम खेल्ने गरेको छ ।
डा. डिला पन्त संग्रौला, सांसद
मैले प्रयोग गरेको सामसुङ मोबाइल मेरी छोरीले उपहार दिएकी हुन् । फोन आएको बेला उठाउने र फोन गर्नेबाहेक केही गर्दिनँ ।

नवीना लामा, सांसद
आइफोन सेभेनसहित मसँग दुई मोबाइल सेट छन् । आइफोन सेभेनलाई पहिले एक लाख रुपैयाँ बढी पथ्र्यो । अहिले कति पर्छ थाहा भएन । कामै नलाग्ने भएपछि मात्रै मोबाइल फेर्न गरेकी छु । मोबाइल एप्लिकेसनमध्ये फेसबुक, ट्वीटर, वाटस्याप, इमेल÷इन्टरनेट चलाउँछु । 

विशाल भट्टराई, सांसद 
दुई मोबाइल सेट प्रयोग गर्दै आएको छु । सामसुङ र एमआईको क्रमशः १७ र ३० हजार रुपैयाँ परेको थियो । एमआईचाहिँ निर्वाचनताका साथीले किनिदिएका हुन् । काम लागुन्जेल मोबाइल प्रयोग गर्छु । आफूलाई चाहिने मोबाइलका ‘एप्लिकेसन युज’ गर्ने बानी छ । कहिलेकाहीं गेमसमेत खेल्छु ।  

सूर्य थापा, केन्द्रीय सदस्य, नेकपा
अहिले सामसुङ सेभेन जे मोबाइल सेट प्रयोग गर्दै आएको छु । यसको २५ हजार रुपैयाँ परेको हो । पाँच वर्षअघि लिएको आइफोन फोर एस बोक्थें । धेरै ह्याङ हुन थालेपछि अहिलेको मोबाइल सेट लिएको हुँ । मोबाइलका एप्लिकेसनमध्ये फेसबुक, मेसेन्जर, ट्वीटरलगायत प्रयोग गर्छु । 

रामहरि खतिवडा, पर्वसांसद 
मसँग दुई मोबाइल सेट छन् । सामसुङ नोट फाइभ र आइफोन सिक्स । सामसुङचाहिँ अमेरिका जाँदा ज्याकेट ल्याइदिनुहुने साथीले उपहार दिनुभएको हो । आइफोन सिक्सचाहिँ मानवअधिकारकर्मी साथीले काठमाडौंको न्युरोडमा ८० कि ८२ हजारमा किनिदिनुभएको हो । मोबाइलमा समाचार हेर्ने गरेको छु । फेसबुक, ट्वीटर पनि हेर्ने गर्छु । मोबाइलमा गेम खेलेर समय बर्बाद गरेको छैन ।  

कल्याण गुरुङ, केन्द्रीय सदस्य, काँग्रेस 
आइफोन सिक्स प्लस प्रयोग गर्दै आएको छु । यो सेट उपहारस्वरूप पाएको हुँ । मोबाइल फेरी–फेरी बोक्ने बानी छैन । मोबाइलका एप्लिकेसनमध्ये सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इमेल–इन्टरनेट र युट्युब पनि हेर्छु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप