दीपेन्द्र र आरिफ चम्किँदा विश्वकप वार्मअप खेलमा युएईमाथि नेपालको सानदार जित
सारांश
- चेन्नईमा भएको अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्यो।
- दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको अविजित अर्धशतकको मद्दतले नेपालले सहज जित हासिल गर्यो।
- युएईले दिएको १४६ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर ३ ओभर अगावै पूरा गर्यो।
चेन्नई । सन् २०२६ को टी–२० विश्वकपअघि भारतको चेन्नईमा भएको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको छ । दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको अविजित अर्धशतकको मद्दतले नेपालले सहज जित निकाल्यो ।
युएईले दिएको १४६ रनको सामान्य लक्ष्य नेपालले ३ ओभर बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र र आरिफबिचको १०३ रनको अविजित साझेदारी निर्णायक बन्यो ।
जवाफी ब्याटिङमा नेपालको सुरुवात भने सुखद रहेन । दोस्रो ओभरमै ओपनर कुशल भुर्तेल क्याच आउट भए भने चौथो ओभरमा आसिफ शेख रनआउट हुन पुगे ।
कप्तान रोहित पौडेल पनि १९ बलमा १६ रन बनाएर सातौं ओभरमा रनआउट भएपछि नेपाल केही दबाबमा देखिएको थियो । तर, त्यसपछि क्रिजमा जमेका दीपेन्द्र र आरिफले युएईलाई खेलमा फर्कने कुनै मौका दिएनन् ।
यी दुईले ८ औँ ओभरदेखि १७ औँ ओभरसम्म निरन्तर रन गति बढाए । १६ औं ओभरको अन्तिम बलमा दीपेन्द्रले छक्का प्रहार गरे । लगत्तै अर्को ओभरमा आरिफले मोहम्मद अरफानको बलमा छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे । दीपेन्द्रले पनि सोही ओभरमा आफ्नो अर्धशतक पूरा गरे भने आरिफले अन्तिम बलमा चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।
यसअघि टस जितेर बलिङ रोजेको नेपालले युएईलाई सुरुवातदेखि नै दबाबमा राखेको थियो । तीव्र गतिका बलर करण केसीले पहिलो ओभरमै युएईका कप्तान मोहम्मद वसिमलाई बोल्ड गरे । पावरप्लेमा युएईले सम्हालिएर ब्याटिङ गरे पनि लगत्तै आएका सन्दीप लामिछानेले आर्यनश शर्मालाई आउट गराए ।
नेपालले १२ औँ ओभरको मध्यसम्ममा युएईका महत्त्वपूर्ण विकेट लिएर खेल नियन्त्रणमा राखेको थियो । दीपेन्द्र र सन्दीपले थप एक–एक विकेट लिए भने उत्कृष्ट फिल्डिङका कारण युएईका ब्याटर रनआउट भए ।
यद्यपि, हर्षित कौशिक र सोहिब खानले छैटौँ विकेटका लागि ६८ रनको साझेदारी गर्दै टोलीको स्कोर १५० को नजिक पुर्याएका थिए । तर, त्यो स्कोर नेपालको जित रोक्न पर्याप्त भएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया निर्यात समस्या समाधान गर्न कार्यदल गठन
-
निर्माण क्षेत्र जोगाउन विशेष परिस्थितिमा आयोजनाको म्याद थप गर्न माग
-
रास्वपाले ठाडै मिच्यो संविधान, हुन सक्छ ८० हजार रुपैयाँ जरिबाना र ३ वर्ष कैद
-
पाल्पामा हराउँदै गिद्ध : संरक्षणका लागि विद्यालयस्तरमा सचेतना
-
श्रीलङ्कामा पूर्वमन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ
-
राष्ट्रिय धान दिवसमा ७५ लाख लिटर दही खपत हुने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण