सरकारको संरक्षणमा तिब्बती गतिविधि हुनु एक चीन नीतिमाथि ठाडो प्रहार हो : झलनाथ खनाल
सारांश
- पूर्व प्रधानमन्त्री झलनाथ खनालले तिब्बती धर्मगुरुको नेपाल आगमनलाई कूटनीतिक रूपमा संवेदनशील भनेका छन्।
- खनालले सरकारको संरक्षणमा भएको गतिविधिले चीन नीतिमाथि प्रहार भएको र नेपाल-चीन सम्बन्ध कमजोर भएको आरोप लगाए।
- उनले यस्ता गतिविधिले राजनीतिक संकट निम्त्याउन सक्ने र चीनसँगको सम्बन्धमा असर पार्ने चेतावनी दिए।
काठमाडौँ । तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिम्पोछेको नेपाल आगमन र काठमाडौँको बौद्धमा भइरहेको प्रवचनप्रति पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् ।
मंगलबार नेपाली कम्युनिस्ट पार्टी, काठमाडौँ क्षेत्र नम्बर ८ अन्तर्गत वडा नम्बर –१५ को निर्वाचन परिचालन समिति सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै खनालले रिम्पोछेको नेपाल आगमन सामान्य धार्मिक गतिविधि मात्र नभई कूटनीतिक रूपमा संवेदनशील विषय भएको बताए ।
उनले सरकारकै संरक्षणमा यस्तो गतिविधि हुनुले नेपालको स्थापित एक चीन नीतिमाथि ठाडो प्रहार भएको टिप्पणी गर्दै यसले नेपाल–चीन सम्बन्धलाई इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुर्याएको आरोप लगाए ।
तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिम्पोछे हाल काठमाडौँमा १० दिने बौद्ध धर्मसम्बन्धी प्रवचनमा सहभागी भइरहेका छन् । यही विषयलाई लिएर छिमेकी मित्रराष्ट्र चीनले कूटनीतिक असन्तुष्टि जनाएको चर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्री झलनाथ खनालको कडा प्रतिक्रिया आएको हो ।
‘यस्तो गैरजिम्मेवार रवैयाले नेपाल–चीन सम्बन्धलाई इतिहासकै तल्लो स्तरमा पुर्याएको छ’ खनालले भने, ‘यसको असर केवल कूटनीतिक सम्बन्धमा मात्र सीमित नरही देशमा थप राजनीतिक संकट निम्त्याउने खतरा छ ।’
खनालले नेपालको भूराजनीतिक संवेदनशीलता र छिमेकी राष्ट्रहरूसँगको सन्तुलित सम्बन्धलाई बेवास्ता गर्दै गरिने कुनै पनि गतिविधि राष्ट्रिय हितविपरीत हुने चेतावनी दिए ।
सरकारलाई उनले एक चीन नीतिप्रति स्पष्ट, दृढ र व्यवहारिक प्रतिबद्धता देखाउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् ०१८ सालमा गेष्टहाउस चौर काण्डमा मारिएका १८ र बेपत्ता पारिएका १५ जना
-
‘मुन्ना भाई एमबीबीएस’ र ‘३ इडियट्स’ को सीक्वलबारे निर्देशक हिरानी के भन्छन् ?
-
२५ लाख रुपैयाँ मुनिका योजना नल्याउने सुदूरपश्चिम सरकारको निर्णय कागजमै सीमित
-
‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ सम्पन्न : व्यापार र लगानी सहकार्य बढाउन जोड
-
काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
-
सुदूरपश्चिम प्रदेश : बजेट नसच्याए सरकार छाड्ने एमालेको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण