शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्याटलग्राउन्ड भक्तपुर–२

भक्तपुर–२ मा कांग्रेस र एमालेलाई टक्कर दिँदै रास्वपा

हरेक निर्वाचनमा मतदाताको रोजाइ बदलिन्छ भक्तपुर–२ मा
बुधबार, २१ माघ २०८२, १२ : ५५
बुधबार, २१ माघ २०८२

सारांश

  • भक्तपुर क्षेत्र नम्बर २ मा आगामी निर्वाचनमा एमाले, रास्वपा र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ।
  • निर्वाचनमा एमालेका महेश बस्नेत र रास्वपाका राजीव खत्रीबीचको प्रतिस्पर्धाले चासो बढाएको छ।
  • उम्मेदवारहरूले विकास, रोजगारी र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन्।
00:00 / NaN:NaN
Audio By AI

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा भक्तपुर क्षेत्र नम्बर २ मा पनि धेरैको चासो बढेको छ । यस क्षेत्रमा नेकपा एमालेका सचिव महेश बस्नेत बलिया उम्मेदवारका रूपमा छन् ।

जेनजी विद्रोहपछि अन्य राजनीतिक दलका नेता सार्वजनिक हुन डराइरहेका बेला एमालेका बस्नेत दलबल सहित सडकमा ओर्लिए । कार्यकर्ताहरूको मनोबल उच्च पार्दै एमाले मुख्यालय च्यासलमा कार्यक्रम आयोजना गरे । जेनजी आन्दोलनपछि अकस्मात् प्रधानमन्त्री पदबाट राजीनामा दिएका एमाले अध्यक्ष ओलीबारे आम नागरिकलाई अत्तोपत्तो नभएका बेला उनले गुन्डुमा स्वागत गरे ।

जेनजी आन्दोलनको हिंसात्मक पाटोबारे सामाजिक सञ्जालमा खरो टिप्पणी गर्न उत्रिन्छन् बस्नेत । उनलाई कसैको नकारात्मक आलोचनाले खासै छुँदैन ।

तिनै महेश बस्नेतविरुद्ध सामाजिक सञ्जालमा कडा आलोचकको पहिचान बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री पनि भक्तपुर–२ बाटै चुनाव लड्दैछन् । सामाजिक सञ्जालमा एक अर्काको खरो आलोचक बस्नेत र खत्री एउटै क्षेत्रबाट चुनावमा होमिएका कारण पनि यहाँको नतिजाप्रति चासो बढेको छ । वडा अध्यक्ष हुँदै राष्ट्रिय राजनीतिमा होमिएका बस्नेतको भक्तपुरमा आफ्नो छुट्टै छवि छ । पत्रकारिताको पृष्ठभूमिबाट उदाएका ३० वर्षीय राजीव खत्री राजनीतिक मैदानमा नयाँ हुन् ।

भक्तपुर–२ मा नेपाली कांग्रेसका कविर राणा र नेपाली कम्युनिस्ट पार्टीका रामप्रसाद सापकोटा ‘दीपशिखा’ पनि उम्मेदवार छन् । उनीहरूको व्यक्तिगत प्रभावभन्दा पनि पार्टीगत संगठन सबल पक्ष हो ।

उज्यालो नेपाल पार्टीले जितराम लामालाई, श्रम संस्कृति पार्टीले अर्जुन बासु, प्रगतिशील लोकतान्त्रिक पार्टीले जन्मदेव जैसीलाई यस क्षेत्रमा उम्मेदवार बनाएको छ ।

क्षेत्र नं २ मा कुल ९८ हजार ३५६ जना मतदाता छन् । त्यसमध्ये ४८ हजार ७४ पुरुष, ५० हजार २७७ महिला तथा ५ जना अन्य मतदाता छन् ।

भक्तपुर–२ मा मुख्यगरी कांग्रेस, एमाले र रास्वपाबिच प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस, एमाले लगायत पुराना पार्टीहरूसँग असन्तुष्ट मतदातालाई रास्वपाले आफ्नो बलियो पक्ष मानेको छ । नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिबारे मतदाताहरूले मिश्रित धारणा राखेको पाइन्छ । कसैले नयाँलाई रोज्नुपर्ने बताइरहँदा कतिपयले काम गर्न सक्ने उम्मेदवार रोज्ने बताए ।

भक्तपुर–२ संसदीय निर्वाचन क्षेत्रमा सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका समावेश छन् । यी दुई नगरपालिकाभित्र १९ वटा वडा पर्छन् ।

बालकोटका बासिन्दा जगतकृष्ण सामा भक्तपुर–२ मा एमाले र कांग्रेसकै बिच प्रतिस्पर्धा हुने बताउँछन् । ‘कांग्रेसभित्र आन्तरिक विद्रोह भएन भने कांग्रेसले नै जित्न सक्छ,’ उनले भने, ‘कांग्रेस पहिलाभन्दा केही सच्चिएको छ । युवा पुस्ता गगन थापा, विश्वप्रकाश सहित नेतृत्वमा आउनु राम्रो सङ्केत हो ।’

सोही क्षेत्रका जयराम श्रेष्ठचाहिँ विकल्प रोज्ने पक्षमा छन् । ‘पुरानाजति जम्मैलाई भोट दिइसक्या छु, कसैले केही काम गरेन,’ उनले भने, ‘त्यही भएर म अब विकल्प रोज्ने पक्षमा छु ।’

गुन्डुका मिलन नगरकोटीचाहिँ एमाले र कांग्रेसबिच नै प्रतिस्पर्धा हुने देख्छन् । उनी अहिले नै विकल्प रोज्ने समय नभएको बताउँछन् ।

election update bktBANNER.jpg

  • गुन्डु क्षेत्रमा चुनाव चहलपहल बढ्दो

भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुन्डुमा चुनावी सरगर्मी बढेको छ । स्थानीय बासिन्दाहरूले विगतका सरकार तथा जनप्रतिनिधिहरूले गरेका कामका बारेमा मिश्रित प्रतिक्रिया दिए । केहीले बाटोघाटो, पुलपुलेसा तथा शैक्षिक क्षेत्रमा भएको सुधारको प्रशंसा गरे । अधिकांशले आफूहरूले चाहेजस्तो काम नभएको र चर्को महँगीले समस्या थपिएको गुनासो गरे ।

विकास गर्छु भन्दै चुनावको समयमा उम्मेदवारले दिएका आश्वासन पूरा नहुँदा कतिपयले निराशा व्यक्त गरेका छन् । युवाहरू रोजगारीको अभावमा बिदेसिनुपरेको र शिक्षाको महँगीले पिरोलेको गुनासो गर्छन् । उनीहरूले नयाँ जनप्रतिनिधिले युवाहरूका लागि रोजगारी सिर्जना गर्ने खालको वातावरण बनाउनुपर्नेमा जोड दिए । गुन्डु क्षेत्रका मतदाताहरू विकासको निरन्तरता दिने नेतृत्वको खोजीमा छन् ।

गुन्डुकी स्थानीय बासिन्दा ६६ वर्षिया मना बस्नेतले गुण्डुमा पहिलाभन्दा धेरै विकास भएको बताइन् । ‘हामी त भारी बोकेर लामो हिँड्नुपर्थ्यो । बाटो–घाटो, पानीको सुविधा छ ।’

  • हरेक निर्वाचनमा मतदाताको रोजाइ बदलिन्छ भक्तपुर–२ मा

भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा मतदाताले हरेक निर्वाचनमा आफ्नो रोजाइ बदल्ने गरेका छन् । २०४८ सालमा नेपाली कांग्रेसका जगन्नाथ आचार्य निर्वाचित हुँदा २०५१ सालमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका आशाकाजी बासुकला, २०५६ सालमा नेपाली कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ सालमा नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति, २०७० सालमा नेपाली कांग्रेसका रामेश्वर ढुुङ्गेल, २०७४ सालमा नेकपा एमालेका महेश बस्नेत र २०७९ सालमा नेपाली कांग्रेसका दुर्लभ थापा यस क्षेत्रबाट निर्वाचित भए ।

२०७९ मा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले २४ हजार २३९ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी एमालेका महेश बस्नेतले २३ हजार २८२ मत प्राप्त गरे । यस्तै, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार अनुराधा थापामगरले सात हजार १२७, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले चार हजार ९८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मोसन केसीले दुई हजार ५६९ मत प्राप्त गरेका थिए ।

  • यस्ता छन् उम्मेदवारका एजेन्डा

एमालेका उम्मेदवार महेश बस्नेत आफूलाई सङ्कटका सारथिका रूपमा चिनाउ“छन् । भाषण र नीति बनाउने नेतामात्र नभई काम गरेर देखाउने नेता भएको उनको दाबी छ । ‘भक्तपुरलाई अवसर र समृद्धिको केन्द्रका रूपमा विकास गर्छु । मेरो कार्यकालमा पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य सेवा विस्तार, पर्यटन प्रवर्द्धनका कामहरू भए,’ उनले भने, ‘२०७२ सालको भूकम्पपछि भक्तपुरका विद्यालय, ऐतिहासिक सम्पदा र धार्मिक संरचनाहरूको पुनर्निर्माणमा उल्लेखनीय भूमिका खेलेको छु ।’

भक्तपुरको पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रमा भएको तीव्र प्रगति योजनाले मात्र होइन, दृढ इच्छाशक्ति र निरन्तर मेहनतले सम्भव भएको उनले बताए । ‘विकासको गति अझ तीव्र बनाउन बाँकी छ,’ उनले भने, ‘भक्तपुरलाई अवसर, रोजगारी र समृद्धिको केन्द्र बनाउन बाँकी छ ।’

रास्वपाका उम्मेदवार राजीव खत्री जनतालाई बोल्ने नेता होइन, सुन्ने साथी चाहिएको बताउँछन् । ‘हामी पहिला साथी, अनिमात्र जनप्रतिनिधि बन्नेछौँ,’ उनले भने । केवल व्यक्ति र दल परिवर्तन गर्नेमात्र नभई कुशासनलाई सुशासनमा परिवर्तन गर्ने, जनताको शासन ल्याउने, भ्रष्टाचार र कमिसनखोरी अन्त्य गर्ने, जनताको चुलोमा महसुस हुने विकासको सुनिश्चितता गर्ने आफ्नो प्राथमिकता रहेको उनले बताए ।

श्रमजीवी पत्रकारका पक्षमा निरन्तर खटिने व्यक्ति हुन् जन्मदेव जैसी । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका जन्मदेवले भक्तपुरलाई केवल ऐतिहासिक सहरका रूपमा होइन, उत्पादन, रोजगारी र सुशासनको नमुना क्षेत्र बनाउने दृष्टिकोण अघि सारेका छन् । यसपालीको चुनाव पुरानै अनुहार जिताउन होइन, नयाँ सोच बोकेका युवाका लागि अवसर भएको उनले बताए ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामप्रसाद ‘सापकोटा’ दीपशिखाले मूर्त–अमूर्त सम्पदाहरूको संरक्षण, गुठीको नियम व्यावहारिक र संस्कृति मैत्री बनाउने, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जनाजस्ता आफ्ना मुख्य एजेन्डा रहेको बताए । सबै नगरमा स्तरीय अस्पताल निर्माण, अस्पतालको स्तरोन्नति, निःशुल्क शिक्षा अभियान, सामुदायिक विद्यालय र कलेजको स्तरिकरणमा जोड दिइने उनको भनाइ छ ।

‘स्थानीय हस्तकला, कृषि, स्थानीय उत्पादनको बजारीकरण, आईटीमार्फत रोजगारी सिर्जना, आफ्नो नगर आफ्नो उत्पादन, स्वरोजगारको अभियान सञ्चालन गरिनेछ,’ दीपशिखाले भने ।

नेपाली कांग्रेसका कविर राणाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र स्वच्छ खानेपानीमा सहज पहुँच नै आफ्नो एजेण्डा रहेको बताए । जनताको आवश्यकता, विकास र सुशासनलाई प्रमुख एजेन्डा बनाएर ऐन–नियम निर्माण गर्ने उनको योजना छ ।

‘भक्तपुरमा अझै धेरै विकास निर्माणका काम बाँकी छन्,’ उनले भने, ‘भक्तपुरमा खानेपानी र सिँचाइको समस्या छ । त्यो समस्या समाधानका लागि पहल गर्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप