बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

'अहिले पार्टीभित्रको असहमति र चित्त नबुझेका कुराभन्दा प्राथमिकतामा निर्वाचन छ’

बिहीबार, २२ माघ २०८२, २० : ३०
बिहीबार, २२ माघ २०८२

सारांश

  • नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कार्यसमिति चयन भयो, तर देउवा र कोइराला समूहले यसको विरोध गरे।
  • फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले तयारी गरिरहेको छ, जसमा घरदैलो र प्रचारप्रसारलाई जोड दिइएको छ।
  • पार्टीले अन्तर्घात रोक्न र बहुमतको सरकार बनाउन विभिन्न रणनीति बनाएको छ, जसमा नयाँ नेतृत्व र घोषणापत्रलाई जोड दिइएको छ।

काठमाडौँ । नेपाली कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा पदाधिकारी र केन्द्रीय कार्यसमिति सर्वसम्मतरूपमा चुनियो ।

थापा नेतृत्वको कार्यसमिति चयन गर्ने विशेष महाधिवेशनविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूह सर्वोच्च अदालतमा पुगेको छ । तर तिनै थापाको हस्ताक्षर भएको टिकट लिएर देउवा र कोइराला समूहका नेताहरू प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन् । 

यो विवाद समाधानका लागि भइरहेको प्रयास, फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीको तयारीबारे हामीले उपसभापति पुष्पा भुसालसँग कुराकानी गरेका छौँ । उनीसँग रातोपाटीले गरेको कुराकानीको सारसंक्षेपः 

प्रतिनिधिसभा निर्वाचनको तयारीका सन्दर्भमा के–के काम सम्पन्न भए, के के काम बाँकी छन् ?

पार्टीले तय गरेका उम्मेदवार अहिले घरदैलोमा छन् । केन्द्रीय कार्यसमितिले सबै प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडास्तरसम्म प्रचार प्रसार गर्न अवश्यक समिति निर्माण गर्न परिपत्र गरिसकेको छ । जिल्लाले केन्द्रसँग कसरी समन्वय गर्ने भन्नेबारे पनि परिपत्र भएको छ । परिपत्र गरेपछि भने बमोजिमका काम कति अगाडि बढे भनेर ७७ जिल्लामै केन्द्रबाट प्रतिनिधि खटाएका छौँ । जिम्मेवारी अनुसार नेताहरूले सबै जिल्लाहरूमा सूचनाको माध्यमबाट, कोही स्थलगत गएर भइरहेको कामबारे सूचना संकलन गरिराख्नुभएको छ ।

कतिपय जिल्लामा उम्मेदवारहरूलाई देखापरेका समस्याबारे केन्द्रबाट पनि बुझ्ने काम भइराखेको छ । अहिले सभापति, उपसभापतिलगायतले विभिन्न जिल्लाका पार्टीका साथीहरूलाई बोलाएर निर्वाचन सफल गराउन के गर्नुपर्छ भनेर छलफल गर्ने र आवश्यक निर्देशन दिने काम पनि भइरहेको छ । अहिले निर्वाचनको पूर्वतयारीका कामहरू भइरहेका छन् । फागुन ४ गतेदेखि हुने चुनावी औपचारिक सभा सम्मेलन र घोषणापत्र लेखन कार्य सँगसँगै अगाडि बढिरहेको छ । घोषणापत्रमा राख्ने विभिन्न विषयबारे पार्टी कार्यालयमा धेरै संघसंस्था, व्यक्तिगत विज्ञहरूसँग सुझाव लिइरहेका छौँ । ती सुझावहरूलाई घोषणापत्र लेख्ने समूहसम्म पुर्‍याउने काम पनि भइरहेको छ । 

अहिले मुख्यगरी चुनावी घरदैलो कार्यक्रम गर्ने र सूचना संकलन गर्ने काम भइरहेको छ । केन्द्रबाट उम्मेदवारहरू, पार्टीका जिल्ला सभापतिलगायत जिल्लामा खटिइरहेका नेता कार्यकर्तासँग सम्पर्क गरेर सूचना आदानप्रदान गर्ने काम भइरहेको छ । सभापतिज्यूले केही दिनअघि मधेस प्रदेशमा आठ वटै जिल्लाका नेतृत्व र उम्मेदवारहरूसँग बसेर निर्वाचनको तयारीबारे संवाद गर्नुभयो । गण्डकी प्रदेशमा पार्टीको अवस्थाबारे छलफल गर्न सभापतिज्यू भोलि पोखरा जाँदै हुनुहुन्छ । त्यहाँ पनि पार्टी उम्मेदवार, जिल्ला सभापति तथा नेताकार्यकर्तासँग सम्वाद गर्नुहुनेछ । त्यसपछि प्रदेशमा पनि जाने कार्यक्रम छ । फागुन ४ गतेअघि सात वटै प्रदेशमा सभापति उपसभापतिसहित पुगेर संवाद कार्यक्रम गर्ने र सूचना आदानप्रदान गर्ने काम हुनेछ । त्यो कार्य मधेस प्रदेशबाट सुरु भइसकेको छ । अर्कोतिर घोषणापत्र लेख्ने काम पनि तिव्ररूपमा अगाडि बढिरहेको छ । 

निर्वाचन परिचालन समिति र प्रचार प्रसार समिति बने पनि पूर्णता पाएका छैनन् । कहिलेसम्म पूर्णता पाउँछन् ? 

उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएर काम सुरु भइसकेको छ । त्यो समितिबाट औपचारिक अनौपचारिक ढंगबाट केन्द्रीय नेतृत्व, पार्टीसँग नजिक रहेका प्रबुद्ध व्यक्तित्वहरूसँग हामीले हरेक निर्वाचन क्षेत्रमा उम्मेदवार र पार्टीसँग समन्वय गर्ने काम भइरहेको छ । निर्वाचन परिचालन समितिमार्फत विभिन्न जिल्लाहरूमा रहेका पार्टी, भ्रातृसंस्था र सुभेच्छुक संस्थामार्फत प्रचारप्रसार अभियान सातै प्रदेशमा तीव्र रूपमा अगाडि बढिरहेको छ । प्रदेशले आफैँ पनि आफ्नो प्रदेशभित्रका जिल्लाहरूसँग निर्वाचन परिचालनको लागि प्रचार समिति गठन गरिरहेका छन् ।

केन्द्रको उपसभापति शर्मा नेतृत्वको निर्वाचन परिचालन समिति ७७ जिल्लासँग मिलेर आफ्नो काम गरिरहेको छ । पार्टी प्रवक्ता देवराज चालिसेको नेतृत्वमा गठन भएको प्रचार प्रसार समितिले विभिन्न सञ्चारका माध्यमबाट पार्टीले गरेका काम, पार्टीका दृष्टिकोण आम नागरिकसामु पुर्‍याउने काम गरिरहेको छ । प्रचार प्रसार समितिले औपचारिक अनौपचारिक टिम बनाएर प्रचार प्रसार गरिरहेको छ । 

कांग्रेसमा निर्वाचनमा देखिने मुख्य समस्या अन्तर्घा‍त हो । अहिले बदलिएको कांग्रेसले अन्तरघातको समस्या रोक्ने प्रयास के गरिरहेको छ ?

पहिलो कुरा अहिले हामीले १६५ निर्वाचन क्षेत्रमा रूख चिह्न नै लिएर गएका छौँ । निर्वाचनको पूर्वसन्ध्यामा तालमेल नगर्ने निर्णय गरेर सबै निर्वाचनक्षेत्रमा पार्टीका उम्मेदवार उठाउने काम गरिएको छ । यसले आफ्नो पार्टीका सबै क्षेत्रमा उम्मेदवार भएपछि अन्तर्घात कम हुने विश्वास हाम्रो छ । 

केन्द्रको उपसभापति शर्मा नेतृत्वको निर्वाचन परिचालन समिति ७७ जिल्लासँग मिलेर आफ्नो काम गरिरहेको छ । पार्टी प्रवक्ता देवराज चालिसेको नेतृत्वमा गठन भएको प्रचार प्रसार समितिले विभिन्न सञ्चारका माध्यमबाट पार्टीले गरेका काम, पार्टीका दृष्टिकोण आम नागरिकसामु पुर्‍याउने काम गरिरहेको छ । प्रचार प्रसार समितिले औपचारिक अनौपचारिक टिम बनाएर प्रचार प्रसार गरिरहेको छ । 

दोस्रो कुरा, हामीले केन्द्रीय कार्यसमितिले सर्वसम्मत ढंगबाट अबको निर्वाचनपश्चात् नेपाली कांग्रेसले बनाउने प्रधानमन्त्रीको उम्मेदवार पार्टीको सभापति गगनकुमार थापा हुनुहुन्छ भनेर घोषणा गरिसकेका छौँ । घोषणापत्रको माध्यमबाट देशभर रहनुभएका लोकतन्त्रमा विश्वास गर्ने मतदाताहरू, नागरिक समाज, सञ्चारमाध्यम, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतलाई नेपाली कांग्रेस भरोसाको एउटा आधार स्तम्भ हो भन्ने आशा र भरोसा जगाउने प्रयास गरिरहेका छौँ ।

2-pushpa_bhusal_6_Jb6cHyamjg

घोषणापत्रको माध्यमबाट हामीले ल्याउने कार्ययोजनामा मुलुकको लोकतन्त्रलाई बलियो बनाउन, सुशासन, भ्रष्टाचारमुक्त समाज, समृद्धि, विकास, जेनजी पुस्ताका एजेन्डा, महिलाका एजेन्डा, प्रविधिसँग विकासलाई जोड्ने, लगानीसँग जोड्ने विषय समेट्ने प्रयास भइरहेको छ । मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन, समाजलाई रूपान्तरण गर्ने स्पष्ट एजेण्डा बोकेको घोषणापत्र लिएर मतदाताको छेउमा पुग्ने प्रयास हामीले गरिरहेका छौँ । 

सबैले भनेजस्तै अहिले फरक ढङ्गबाट निर्वाचन अगाडि बढेको हामीले महसुस पनि गरेका छौँ । हामी उम्मेदवारी वितरण गर्दाखेरि पनि सबैसँग संवाद गरेर बढीभन्दा बढी सहमतिको आधारमा उम्मेदवार तय गर्ने विषयमा हामी सचेत पनि थियौँ ।  त्योअनुसार हामीले १०६ जना नयाँ उम्मेदवार पठाएका छौँ । उम्मेदवार बनाउँदा हामीले विभिन्न समूहहरूसँग संवाद गर्‍यौँ । तथापि कतिपय उम्मेदवार बन्नुपर्ने नेताहरू उम्मेदवार बन्न नपाएको अवस्था पनि छ । तर मलाई लाग्छ, त्यो प्राथमिकताको विषय बन्दैन । अब नेपाली कांग्रेसको संरचनामा रूपान्तरण भइसकेको छ । पार्टीको नेतृत्व हामी युवाहरूले लिएर एउटा नयाँ दृष्टिकोण र प्रतिबद्धताको साथ हामी निर्वाचनमा होमिएका छौँ । 

कांग्रेसले २०६४ सालपछि एकल सरकार बनाउन सकेको छैन । एकल सरकार नबनेपछि त्यसबाट परेको असरबारे जवाफ कांग्रेसले दिनुपरेको छ । त्यही भएर यो पटक कांग्रेसले बहुमतको सरकार घोषणापत्रको साथ, नयाँ नेतृत्वको साथ, नयाँ दृष्टिकोणको साथ निर्वाचनमा मतबाट अनुमोदन गर्नुपर्ने आवश्यकता रहेको छ । अहिलेको चुनावी रणनीति कांग्रेसको दृष्टिकोणसँग र मुलुकको समृद्धिसँग जोडिएको छ । कांग्रेसको विचारसँग मुलुकको परिवर्तन जोडिएको छ । कांग्रेसले लिने कार्ययोजनासँग मुलुकको एउटा रूपान्तरण जोडिएको छ । निर्वाचनमा मतबाट हामीले त्यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ ।

हामी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अगाडि बढेकाले प्रतिनिधिसभामा प्रधानमन्त्री बनाउन अवश्यक मत जुटाउनुपर्ने छ । अहिले देशभर कांग्रेसको एकल सरकार बनाउने लहर चलेको छ । कांग्रेसले विशेष मकहाधिवेशनबाट नयाँ दृष्टिकोणसहितको नयाँ नेतृत्व प्राप्त गरेको छ । अब पार्टी मात्रै बदलिने होइन, मुलुक पनि बदलिने अठोटको साथ हामी अगाडि बढिरहेका छौँ, त्यसलाई अनुमोदन मतको माध्यमबाट गर्नुपर्छ भनेर जुन सन्देश प्रवाह भएको छ, त्यसबाट हामी उत्साहित भएका छौँ । 

कांग्रेसमा आबद्ध मात्रै होइन, लोकतन्त्रमा विश्वास गर्ने मतदाताहरूबाट कांग्रेसलाई यसपटक बहुमतको सरकार बनाउन सक्ने किसिमबाट अगाडि बढाउनु पर्ने जुन सन्देश प्रवाह भइरहेको छ, यसले पार्टीभित्र हुने घात अन्तर्घातलाई गौण बनाएको मलाई लागेको छ । मुलुक बदल्न जुन नयाँ दृष्टिकोणको साथ नयाँ नेतृत्वले अहिले निर्वाचनको बागडोर सम्हालिराखेको छ, त्यसलाई सहयोग गर्नु प्रत्येक पार्टीका नेता, कार्यकर्ता, सक्रिय सदस्यको अहम् जिम्मेवारी हो । त्यहाँ घात अन्तर्घातको कुनै ठाउँ पनि छैन ।

puspa_bhusal_5_kIpi8bnTg0

यसकारण पार्टी एकजुट भएर बढिराखेको छ । केही असहमति, कुनै क्षेत्रमा होलान्, केही चित्त नबुझेका कुराहरू पार्टीभित्र अवश्य होलान्, तर त्योभन्दा बढी प्राथमिकता त निर्वाचन हो । कांग्रेसले पाउने मत हो । भोलि बनाउने सरकार हो । सरकारले गर्ने काम हो । किनभने भोलिको सरकार, सरकारले गर्ने काम भनेको त भोलिको पुस्तालाई नेपाली कांग्रेसभित्र स्थापित गर्ने बाटो हो । 

अहिले पार्टीभित्र देखिएका जुन किसिमका केही असहमति, केही असन्तुष्टि छन्, त्यसलाई कसरी अब व्यवस्थापन गर्ने भन्नेतिर पार्टी केन्द्रीय नेता मात्रै हैन, सबैजना लागिराखेका छौँ । र हामीलाई के लाग्छ भने अब पार्टीभन्दा पनि पार्टीले आउने चुनावमा बहुमत प्राप्त गरेर गर्ने कामबाट भोलि पार्टीमा लागेका वा लाग्ने साथीहरूको लागि कांग्रेस पार्टीमाथि विश्वसनीयता जगाउन पनि काम गरेर हामीले देखाउन जरुरी छ ।

कांग्रेसमा भोलिको पुस्तालाई आकर्षण पैदा गर्न, विश्वास दिलाउन, भरोसा बढाउन हामीले जुन किसिमबाट निर्वाचनको रणनीति अगाडि बढाएका छौँ त्यसले पार्टीको आन्तरिक मात्रै होइन, पार्टी बाहिरबाट हेरिरहनुभएका सम्पूर्ण मतदाताहरूले नै सबैले यो पटक नम्बर वान पार्टी, बहुमतको पार्टी बनाऊ र यसपटक पाँच वर्ष काम हेरौँ भनेर आकर्षण बढेको छ ।

किनभने कांग्रेस एउटा वैचारिक धरातलबाट जन्मेको पार्टी, संगठन मजबुद भएर बनेको पार्टी, हरेक आन्दोलनको नेतृत्व लिएको पार्टी र प्रजातन्त्रबाट लोकतन्त्रसम्म आउनको लागि धेरै कठिन यात्रा झेलेको पार्टी हो । आज त्यही लोकतन्त्रमा अरु दलहरूका नेताहरू निर्वाचन लड्नलाई हौसिनुभएको छ, अगाडि बढ्नुभएको छ । यो लोकतन्त्रमा उहाँहरूले इन्जोय गर्ने अवस्गा एकैचोटि आएको होइन । यो आरोह अवरोह तय गरेर, राजनीतिक कठिन यात्रा तय गरेर, नेताहरूको ठुलो त्याग, तपस्या, बलिदानबाट आएको हो । अब यो व्यवस्थालाई विभिन्न किसिमका योजना दिएर पूरा गर्ने समय आएको छ । अब कुनै छुट छैन कांग्रेसलाई भनेरै हामीले हामी बदलिउँ र अब देश बदल्छौँ भन्ने मूल नाराका साथ निर्वाचनमा जाँदै छौँ । 

कांग्रेसमा आबद्ध मात्रै होइन, लोकतन्त्रमा विश्वास गर्ने मतदाताहरूबाट कांग्रेसलाई यसपटक बहुमतको सरकार बनाउन सक्ने किसिमबाट अगाडि बढाउनु पर्ने जुन सन्देश प्रवाह भइरहेको छ, यसले पार्टीभित्र हुने घात अन्तर्घातलाई गौण बनाएको मलाई लागेको छ ।

यहाँले यति भनिरहँदा विशेष महाधिवेशनबाट कांग्रेसमा नयाँ नेतृत्व आएको छ । नयाँ नेतृत्व आउँदा पार्टीभित्रका अनुभवी नेताहरू जिम्मेवारीविहीन छन् । उनीहरूलाई समेट्न के प्रयास भइरहेको छ ?

विशेष अधिवेशन पार्टीको विधानको निरन्तरता हो । उसले खोजेको प्रक्रिया पनि हो । त्यसले विधानको प्रक्रियालाई पूर्णता दिँदै विशेष अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । 

अहिले निर्वाचनको पूर्वसन्ध्यामा हाम्रा धेरै शीर्षस्थ नेताहरू, जसले पार्टीमा विचार दिनुभयो, पार्टीलाई यहाँसम्म पुर्‍याउन धेरै ठुलो भूमिका खेल्नुभयो । उहाँहरूसँग सभापति, उपसभापतिलगायत सबै पार्टीका नेताहरूले संवाद गरेर एकताको सन्देश दिन सक्नेगरी संवाद अगाडि बढेको छ । त्यही भएर मलाई लाग्छ पार्टीका उम्मेदवारलाई जिताउन समग्र पार्टीको जिम्मेवारी छ । निर्वाचन भनेको नियमित प्रक्रियाबाट अगाडि बढेको हो ।

निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउन सम्पूर्ण शीर्षस्थ नेताहरूको जिम्मेवारी उत्तिकै छ । पार्टीभित्रबाट सबै शीर्षस्थ नेताहरूले एकजुट भएर कांग्रेस पार्टीका उम्मेदवारलाई जिताउने भन्ने सन्देश अगाडि लिएर जान विभिन्न किसिमका हाम्रा छलफल, संवाद,  भेटघाट अगाडि बढिराखेको छ, यसमा मलाई लाग्छ यसबाट बाहिर कुनै पनि नेतृत्व हुनुहुन्न । 

विषेश महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समितिमा बाहिर रहेका नेताहरूलाई समेट्नेगरी केही छलफल भएको छ कि छैन ?

निर्वाचन अगाडि हामीले अहिले जति पदाधिकारी हुनुहुन्छ, उहाँहरूलाई कार्यसम्पादन समितिमा राखेर काम गछौँ । अहिले पदेन सदस्य मात्रै हुनुहुन्छ, त्योबाहेक कार्यसम्पादन समितिले पूर्णता पाएको छैन । केन्द्रीय समितिले पनि पूर्णता पाएको छैन । निश्चय नै निर्वाचनपश्चात् पनि नेपाली कांग्रेसको काँधमा ठुलो जिम्मेवारी हुन्छ । हामी बहुमतको सरकार बनाउने भनेका छौँ । सरकार बन्दै गर्दाखेरि पार्टीको भूमिका त्यही समाप्त हुँदैन । सरकार राम्रो ढंगबाट चलाउने, संगठन मजबुत बनाउने जिम्मेवारी पार्टीको काँधमा रहन्छ ।

१५औँ महाधिवेशनको तयारीको फेरि अर्को काम प्रारम्भ हुन्छ । एकातिर सरकारलाई हेर्ने काम अर्कोतिर १५ औँ महाधिवेशनको तयारीको काम गर्नुपर्ने हुन्छ । फागुन २१ गते हुने प्रतिनिधिसमा निर्वाचनपछि कार्यसमितिलाई पूर्णता दिने, कार्यसम्पादनमा अनुभवी, पार्टीमा योगदान गर्नुभएका नेतृत्वहरूलाई अवसर दिने काम गछौँ । त्यो उहाँहरूको अधिकार र हक पनि हो । यो कुनै दिने लिने विषय होइन । सबैलाई समेटेर कांग्रेस अगाडि बढिरहेकोृ छ भन्ने सन्देश प्रवाह गर्ने पक्षमा हामी छौँ । पार्टी निर्वाचनपश्चात् त्यो किसिमबाट अगाडि बढ्छ ।

puspa-bhusal_gjSnXkugo1

विशेष महाधिवेशनबाट बाहिरिएका नेताहरूले सभापति र पदाधिकारीहरूले हामीसँग सल्लाह गर्नुभएन ? सुझाव माग्नुभएन ? भेटघाटका लागि चासोसमेत राख्नुभएन भन्ने आरोप लगाइरहनुभएको छ अहिलेसम्म भेटघाट छलफल केही नभएको हो ? 

निर्वाचनमा उम्मेदवारी चयन गर्दाखेरि संवादबाटै उम्मेदवारी चयन भएको हो । उम्मेदवार बनाउने विषयमा बाहिर रहेका सबै छुट्नुहुन्न भनेर समेट्न संवाद र छलफल भएको हो । त्यो तपाइहरूले उम्मेदवारहरूमा देखिहाल्नुभएको छ । केही उम्मेदवारहरू छुट्ने कुरामा निर्वाचनको समयमा नयाँलाई उम्मेदवार बनाउनुपर्छ भन्ने सन्दर्भ, संवादबाट आउनुभएका उम्मेदवारहरूलाई पनि दिनुपर्छ भन्ने कुराहरू भयो । त्यो उहाँहरूको अधिकार पनि हो । त्यही भएर एउटा नयाँ किसिमबाट नयाँ उम्मेदवारले १६५ मा रूख चिह्नमै लिएर गएर मत माग्नुपर्ने स्थिति थियो । त्यसपछि पनि विभिन्न किसिमबाट उहाँहरूसँग प्रत्यक्ष अप्रत्यक्ष संवाद अगाडि बढिराखेको छ । निर्वाचन अगाडि त्यहाँ कुनै पनि दुविधा छ भन्ने संकेत र सन्देश जाँदैन । 

सभापति गगन थापाले धनुषाको कार्यक्रममा निवर्तमान सभापतिसँग मेरो भेटघाट भएको छ, छलफल भएको छ भनेर बोल्नुभएको थियो । त्यसपछि रातोपाटीले नै सोधेको प्रश्नमा निवर्तमान सभापतिको सचिवालयले हामीसँग छलफल भेटघाट केही पनि भएको छैन भन्ने जवाफ दिएको थियो । सत्यता के हो ? 

संवाद छलफल प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट अगाडि बढेको छ, तर सबैभन्दा मुल कुरा के हो भने अब निर्वाचनको पूर्वसन्ध्यामा एकताको सन्देश जान जरुरी पनि छ । त्योअनुसार चाहिँ सभापतिज्यू अहिले भेटघाटमा अगाडि बढ्ने र त्यो सन्देश दिनुपर्छ भन्ने कुरामा लागिरहनुभएको छ । त्यही भएर मलाई के लाग्छ भने एकताको सन्देश त पार्टीकै सन्देश हो । कांग्रेस जिताउन जुन सन्देशको आवश्यकता उम्मेदवार या आम मतदाताले चाइराखेका छन्, त्यो सन्देश जानेगरी हामीले काम गछौँ । 

विशेष महाधिवेशनपछि कांग्रेसमा स्पष्ट रुपमा दुई वटा धार देखिएको छ । धारलाई अन्त्य गरेर पार्टीलाई एकजुट बनाउनलाई यहाँहरूले के गरिरहनुभएको छ ? 

त्यसमा त स्पष्ट छ नि यो विशेष अधिवेशन त पार्टीको विधानको निरन्तरता हो । पार्टीको निरन्तरता, पार्टीको विधानको निरन्तरतामा धेरै बहस त्यति जरुरी भएन । दोस्रो कुरा हामी चुनावपछि र १५औँ महाधिवेशनको तयारीतिर अगाडि बढिहाल्छौँ । १५औँ महाधिवेशनको तयारीमा अगाडि बढ्दाखेरि निश्चय नै सबै एक ठाउँमै बसेर अधिवेशनको तयारी गर्नुपर्ने हुन्छ । विभिन्न किसिमका समितिहरू बनाउनुपर्ला । सक्रिय सदस्यहरूको छानबिन समिति बनाउनुपर्ला । विभिन्न किसिमका अधिवेशनका तयारी समिति बनाउनुपर्ला, त्यसका लागि त हामी एउटै ठाउँमा बसेर कामहरू प्रारम्भ गरिहाल्छौँ । 

अहिलेको प्राथमिकता निर्वाचन हो । निर्वाचनमा कुनै पनि किसिमका मतभेद, कुनै पनि किसिमका असहमति छन् भन्ने सन्देश कहीँ पनि पुग्नुभएन । त्यसले फेरि पार्टीलाई, पार्टीको उम्मेदवारलाई, पार्टीको संगठनलाई नकारात्मक प्रभाव पर्छ । त्यसमा हामी सचेत छौँ । अहिले हाम्रो प्राथमिकता भनेको निर्वाचनमा उम्मेदवारलाई कसरी जिताउने र पार्टीभित्र मतभेद छ भने त्यसलाई कसरी हटाउने भन्नेमा हामीले ध्यान केन्द्रित गरेका छौँ ।  

तेस्रो पार्टी एकजुट भएर अगाडि बढ्यो भन्ने कुराको सन्देश दिने विषय हाम्रो प्राथमिकतामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप