बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

बेन स्टोक्सको अनुहारमा गहिरो चोट, सामाजिक सञ्जालमा सेयर गरे तस्बिर

शुक्रबार, २३ माघ २०८२, ०७ : २१
शुक्रबार, २३ माघ २०८२

सारांश

  • इंग्ल्याण्डका टेस्ट कप्तान बेन स्टोक्स नेट अभ्यासका क्रममा दुर्घटनामा परे, उनको गालामा चोट लागेको छ।
  • स्टोक्सले इन्स्टाग्राममा चोटबारे जानकारी दिँदै ठट्टा गरे, उनी पुनस्र्थापनाका लागि अबु धाबी जानेछन्।
  • सन् २०२३ को एकदिवसीय विश्वकपपछि सेतो बलको क्रिकेटबाट टाढा रहेका स्टोक्स टी-२० विश्वकप टोलीमा छैनन्।

लण्डन । इंग्ल्याण्ड टेस्ट टोलीका कप्तान बेन स्टोक्स नेट अभ्यासका क्रममा दुर्घटनामा परेका छन्। अभ्यास सत्रको छेउमा बसिरहेका बेला अचानक बलले गालामा लागेपछि उनको अनुहारमा गहिरो निलडाम र चोट लागेको हो।

स्टोक्सले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत चोटपटकबारे जानकारी दिँदै ठट्टाको शैलीमा लेखेका छन्, ‘तपाईँले बलको अवस्था पनि हेर्नुपर्छ।’ दुर्घटनाको समयमा स्टोक्स ब्याटिङ वा बलिङ गरिरहेका थिएनन्, उनी नेटको छेउमा उभिएर अभ्यास अवलोकन गरिरहेका थिए।

गत महिना सिड्नीमा भएको पाँचौँ एसेज टेस्टका क्रममा मांसपेशीको समस्याका कारण मैदान छाडेका उनी हाल पुनस्र्थापना प्रक्रियामा छन्। आफ्नो स्वास्थ्य सुधारका लागि उनी यसै महिनाको अन्त्यतिर अबु धाबी जाने कार्यक्रम छ। त्यहाँ उनले एन्ड्रयु फ्लिनटफको इंग्ल्याण्ड लायन्स टोलीसँग अनौपचारिक प्रशिक्षकको भूमिकामा पनि काम गर्नेछन्।

सन् २०२३ को एकदिवसीय विश्वकपपछि सेतो बलको क्रिकेटबाट टाढा रहेका स्टोक्स यसै सातादेखि सुरु हुने टी-२० विश्वकप टोलीमा पनि सहभागी छैनन्। उनको अर्को अन्तर्राष्ट्रिय उपस्थिति आगामी जुन महिनामा न्युजिल्याण्ड विरुद्धको घरेलु टेस्ट सिरिजमा हुने सम्भावना छ। त्यसअघि उनले डरहमका लागि काउन्टी च्याम्पियनसिप खेल्न सक्ने अनुमान गरिएको छ।

अस्ट्रेलियासँगको एसेज सिरिजमा ४-१ को हार व्यहोरे पनि स्टोक्सले टेस्ट कप्तानको रूपमा काम जारी राख्न आफू निकै उत्सुक रहेको बताएका छन्। उनले प्रशिक्षक ब्रेन्डन म्याकुलमको पनि खुलेर समर्थन गरेका छन्। म्याकुलम एक उत्कृष्ट प्रशिक्षक र व्यक्तित्व भएको भन्दै उनले आफ्नो पूर्ण साथ रहने स्पष्ट पारेका छन्।

412948.3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप