शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिल्म ‘प्रवासी जीवन’ ले प्रवासको पीडा भन्छ : राजेश हमाल

बिहीबार, २९ माघ २०८२, १२ : २५
बिहीबार, २९ माघ २०८२

सारांश

  • अभिनेता राजेश हमालले 'प्रवासी जीवन' ले प्रवासमा पुग्ने नेपालीको कथा भन्ने बताए।
  • फिल्ममा निर्देशक श्याम क्षेत्रीले प्रवासमा पुग्ने जो कोहीले कथामा आफूलाई पाउने बताए।
  • फिल्मले अमेरिकामा नेपालीले गर्ने सङ्घर्ष र मानसिक स्वास्थ्यको पाटोलाई उजागर गर्नेछ।

काठमाडौँ । अभिनेता राजेश हमालले फिल्म ‘प्रवासी जीवन’ ले उज्ज्वल भविष्यको सपना बोकेर प्रवास पुग्ने नेपालीको कथा भनेकाे बताएका छन् । फिल्मले साे सन्देश दिने भएकोले आफू जोडिएको उनको भनाइ छ ।

‘म अमेरिका गएको समयमा यसका निर्देशक तथा अभिनेता श्यामजी सँग भेट भयो । उहाँको अभिनय प्रतिको लगावले गर्दा म फिल्म गर्न तयार भएँ’, उनले भने– ‘यसमा देखिएको विषयले कहीँ कतै प्रवासमा रहेका नेपालीको कथा सम्बोधन गर्छ।’  फिल्मबाट प्रवासीको पीडा सजिलै बुझ्न सकिने उनले बताए । 

राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मका निर्देशक श्याम क्षेत्री प्रवासमा पुग्ने जो कोहीले फिल्मको कथामा आफू पाउने बताए । ‘हामीले भौतिक रूपमा देखिने दुःखका धेरै चर्चा गर्छौँ तर मानसिक रूपमा भोगिरहेको यातनालाई बेवास्ता गर्ने गरेका छौँ’, निर्देशक क्षेत्रीले भने– ‘हामीले त्यो समय र त्यहाँबाट निस्किए पछिको सुन्दर भविष्यलाई फिल्ममा देखाएका छौँ ।’

आगामी फागुन १५ गतेदेखि नेपालभर प्रदर्शनमा आउने फिल्म श्याम क्षेत्रीसँगै राम अधिकारीले संयुक्त रूपमा निर्देशन गरेका हुन् । नेपालबाट आफ्नो उज्ज्वल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा फिल्मले बोकेको छ ।

फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीको पनि महत्त्वपूर्ण भूमिकामा छन् ।

‘सिजल एन्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्यसमेत रहेको उक्त श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रूपमा निर्माण गरेको हो । ‘डाइङ क्यान्डल’, ‘चक्कर’, ‘जयश्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’ फिल्म निर्माण गरेका छायाकार रविन आचार्यले यस फिल्मलाई निर्माण गरेका हुन् ।

‘यसको विषयले एउटा सचेतना पनि दिन्छ, यो प्रवासी जीवनको उज्यालो र अध्यारोसँग जोडिएको कथा हो । हामीले निकै कम चर्चा गर्ने मानसिक स्वास्थ्यको समस्या र त्यसपछिको सुन्दर जीवनले प्रेरणा दिन्छ’, निर्माता आचार्यले भने ।

फिल्मको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् । यसमा अमृत बिसुवाको छायाङ्कन, राम अधिकारीले सम्पादन छ । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप